मौसम बराल

ऊ चाहन्छ ठड्याइदिउँ चुनौती र यो हैरान बनोस्
चेतना फुस्फुसाउँछ झनै अग्लो उडान बनोस्

चामलकै अक्षता लगाइदिएर कुनै बाआमाले
कहिल्यै भनेनन् मेरो बच्चा किसान बनोस् 

छड्किरहेका सोचहरू भर्सिउन मन्द गतिमा
जीवनको रापिलो अँगेनामा चेतना ओदान बनोस्

थाकेर नहोस् मेरो अन्त्य कतै बिसाएर नहोस्
म चाहन्छु मुलाबाटोमा मेरो चिहान बनोस्

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।