युग सर्वनाम

न कल्पनाहरूमा
तिमी कहिल्यै मुठभेड गर्न आयौ

न विपनाहरूमा कहिल्यै पाइला ठोकिएर
हल्लिएको थियो मुटुको ब्रह्माण्ड

न सम्झनाको कठोर पन्जाबाट फुत्किएर
ठेस लाग्न आइपुगेको थियो बाडुल्की

न सम्बन्धको कुनै अग्लो पहाड
उक्लौँला भन्ने सोचले, मनमा बास गरेको थियो

न कहिल्यै भ्रमको सामर्थ्य कोचेर
बसेको थियो मस्तिष्क

न थियो गौंथलीहरूको जस्तो घनिष्ठता
न थियो भौतिक आत्मालाप

केवल सपनाको कुरा हो ।

तिमी कुन अलौकिक स्वर्गबाट झर्‍यौ ?
र, ठोक्कियौ मेरै सपनाको कुइनेटोनेर
अल्झियौ मेरै ढुकढुकीको अन्तिम बिन्दुमा

खोलेर समर्पणको ढोका
निसङ्कोच खन्यायौ मलाई सिन्दुरमा
र, पोत्न थाल्यौ आफ्नो सिउँदोभरि

म भने
सपनामै पनि सन्देहको चुकुल लाएर
आश्चर्यको तर्क पोखिरहेथे

के यो सम्भव थियो ?

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।