केशव सिलवाल

समकालीन नेपाली कवितामा एउटा सशक्त हस्तक्षेप हुन् कवि केशव सिलवाल । राजनीतिक तथा सामाजिक न्यायको वकालत गर्ने सिलवालका कविता ‘कला कलाकै लागि’ भन्ने परम्परागत काव्यिक विलासबाट धेरै माथि उठ्दै संथापन शक्तिका विरुद्ध विद्रोही चेत बोकेर छुट्टै उभिन्छन् । प्रस्तुत छ, उनले भाद्र ८ गते टीकापुर घटनाको न्यायको लागि थारूहरूले बसन्तपुरमा गरेको विरोध सभामा बाचन गरेको कविताः 

तिम्रो डाइले जन्माएकी हुन्
तातो भुइँमा
औलो पचाउने सन्तानहरू
र, तिमीले नै बनाएकी हौ देहातलाई बस्न योग्य 
तिमीले ने तान्यौ
गाडामा राखेर पृथ्वीलाई यहाँसम्म
तिमी नै हौ असली भूमिको हकदार

तर, खै तिम्रो त्यो हराभरा भूमि
कसले खोस्यो तिम्री आँगन र खेत ?
खै, तिम्रो गलाको सुटिया र पैसाको माला ?
कसले बनायो तिमीलाई कमलरी ?
कसले मार्‍याे भोकभोकै तिम्रा भाइबहिनीलाई
कसले गाड्यो दाँत र नङ्ग्रा
तिम्रो यौवनको तेजमाथि ?

ए, थरूहट !
म तिमीलाई औधी प्रेम गर्छु

तिम्रो जीउबाट आउने भाटोको गन्ध
र घर रङ्गाउँदै गरेको 
तिम्रो हातको कला मन पराउँछु
तिमीले भित्तामा मयुरको चित्र कोर्दा 
हृदय नै भइदियो प्रेमको तस्वीर 
म तिमीलाई घुङ्गी पिउँदै
माघी मनाउँदै गरेको मन पराउँछु
ए, बुद्धभूमि ! 
तिमीले बुनेको ढक्कीभरि
पठाइदेऊ न मलाई तिम्रा मुस्कानका गुच्छाहरू

आफू भोकभोकै बसेर 
तिमीले पठाएको अन्नदानाले 
जुका मोटाएको छ सत्ता 
तर, हेलिकप्टरमा भरेर यहीँबाट
पठाएका हुन् शीतलहर 
यहीँबाट झरेको हो बाढी
तिम्रो देहातमा

यहीँबाट ओर्लिएको हो
मत्ता जङ्गली हात्ती तिम्रो बस्तीमा 
तिम्रा बाबाले कति कज्याए यस्ता हात्तीहरू 
तर, यसपाली हात्तीले कुल्चेर मार्‍याे
तिम्रो बुदीलाई

पीडैपीडाको उच्चतम् डिग्री प्राप्त गरेकी
ए, प्रिय थरूनी !
तिम्रो राज्यमा म एक बज्जिया
मसँग तिमीलाई नचाउने
झुमरी मादल छैन 
म तिम्रो अगाडि लज्जित उभिएको छु 
मुङ्ग्रवा नाच्दा बोक्ने मुङ्ग्रो खै ? 
हानिदेऊ त्यसैले एक भट्टी

ए, थरूहटकी छाई !
तिमी यही देशकी प्रिय छोरी हौ
तिमीले सिंगारिरहेकी छौ यही देशलाई
तिमीलाई छुट छ ।
मलाई तिमी मन नपराउन पनि सक्छौ
म तिमीलाई सधै मन पराइरहनेछु ।

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।