रुबाइयात

                         
हाम्रो प्रेमको हिष्ट्री,अलि अचम्मकै छ।
आगो पानीको केमेष्ट्री, अलि अचम्मकै छ।
फरक ध्रुवबिच आकर्षण गराइदिन्छ।
उपरवालाको सृष्टि, अलि अचम्मकै छ।


र्पलाइ नाघेर किन हिँड्दैछु ?
आफ्नै मन बाधेर किन हिँड्दैछु ?
एकदिन यी रहस्य समयले खोल्नेछ
कुन सपना साँचेर किन हिँड्दैछु ?
                           


छातिमा उनकै एक तस्वीर होस् ।
उनको काखमा मेरो नै शिर होस् ।
यस्तो होस् मृत्युवरण र कारण
उनकै ती नजरको तिर होस्


स्पष्ट आकृति कोरिएको छ।
लगभग दुई भई फोरिएको छ।
कसैले देखे खबर दिनु होला
केही दिन भो मेरो मन चोरिएको छ।



दार्शनिक झैँ विलक्षण रहेछ।
सत्यमा समेत निरिक्षण रहेछ।
हैन रहेछ आत्महत्याको प्रयास
विषको शुद्दता परिक्षण रहेछ। 
                        



छालले सगर चुमेछ, बुझ्नु।
पृथ्वी नै उल्टो घुमेछ, बुझ्नु।
जुन दिन किशोर तिमीलाई भुल्छ
स्मरणशक्ति गुमेछ, बुझ्नु। 
                          



पाइलैपिच्छे याद ठोकिन्छन् ,न तर्किन सक्छ।
सपनीमा आउँछे,बोलाउँछे, न झर्किन सक्छ।
कस्तो मोडमा ल्याएर छोडिदियौ,तिमीले उसलाई
न त अगाडी बढ्न सक्छ,न फर्किन सक्छ।
                             



न हल्का हुन्छ या भारी, आँँसु बगाउनेलाई थाहा हुन्छ।
आफ्ना त्यागेर रोजेको प्रेम, गुमाउनेलाई थाहा हुन्छ।
मेरा दुखहरुको अनुमान होला, अनुभुत हुन्न।
जुत्ताले कहाँ दुखाउछ, मात्र लगाउनेलाई थाहा हुन्छ।

स्थायी ठेगाना झापा ,हाल भक्तपुर रहँदै आएका किशोर अविदित एक सक्रिय स्रष्टा हुन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...