पाब्लो नेरुदा

आज राति म घोर पीडाका हरफहरू लेख्छु
जस्तै म लेख्छु,
‘झलमल ताराहरु लागेको रात टाढा चम्किरहेका
नीला अनि सेताम्य ताराहरू ।’

रातको बतास आकाशमा
रुमल्लिरहेको र गीत गुन्गुनाइरहेको ।

आज राति म घोर पीडाका हरफहरू लेख्छु 
म उनलाई प्रेम गर्थे,
अनि कहिलेकाहीँ
उनी पनि मलाई प्रेम गर्थिन् । 

यस्तै रातहरूमा
म उनलाई अँगालोमा बेर्थे,
अनन्त आकाशमूनि उनलाई म पटक–पटक चुम्थे ।

म उनलाई प्रेम गर्थे,
अनि कहिलेकाहीँ उनी पनि मलाई प्रेम गर्थिन् ।
उनका विशाल र शान्त आँखाहरूलाई
कसले पो प्रेम नगरिरहन सक्छ र १

आज राति म घोर पीडाका हरफहरू लेख्छु, 
म उनलाई प्रेम गर्दिन भन्ने सम्झनको लागि
लेख्छु मैले उनलाई गुमाएको आभाष गर्नको लागि लेख्छु ।

उनी विनाको यो रात
झन् अनन्त छ, यो अनन्त रातलाई सुन्नको लागि लेख्छु, 
त्यसैले त खस्छन् हरफहरु चौरमा सीतका थोपा खसे झै ।

के फरक पर्छ र,
मेरो प्रेमले उनलाई अड्याउन सकेन,
आकाशमा आजपनि त्यस्तै ताराहरू छन्,
अनि उनी मसँग छैनन् ।

यो नै सबथोक हो,
पर कोही गाइरहेको छ,
केही पर,
मेरो मन तृप्त छैन,
किनकी यसले उनलाई गुमाएको छ ।

उनलाई नजिक ल्याउन मेरो दृष्टिले उनकै खोजी गर्छ 
मेरो मनले उनलाई खोज्छ,
तर उनी मसँग छैनन् 

त्यही रात उस्तै छ,
अनि यही रुख साक्षी छ दुरुस्त
तर, मात्र त्यतिबेलाका हामी दुई उस्तै–दुरुस्तै छैनौँ

हो, निश्चित,
म अहिले उनलाई प्रेम गर्दिन,
तर मैले कसरी प्रेम गरेँ
मेरा स्वरहरू बतासलाई खोज्दैछन् 
ता कि आवाज उनको कानमा पुगोस् 

अर्कैको, उनी अर्कैको हुनेछिन् । 
मैले चुम्बन गर्नु अघिकी झैँ । 
उनको स्वर, उनको उज्यालो शरीर, 
उनका अनन्त गहिराइ सहितका आँखा । 

म उनलाई अब प्रेम गरिरहन्न, 
यो निश्चित छ । 
तर, सायद म उनलाई प्रेम गर्छु ।
प्रेम त क्षणिक हुन्छ, 
यसको बिर्साइ धेरै लामो हुन्छ ।

किनकि यस्तै रातहरूमा
मैले उनलाई अंगालोमा बेरेको छु 
मेरो मन तृप्त छैन, 
यसले उनलाई गुमाएको छ । 

हुनसक्छ, यो उनले मलाई दिएको अन्तिम पीडा हो 
अनि यी, मैले उनका लागि लेखेका अन्तिम हरफहरू ।

ट्वान्टी लभ पोइम्स एण्ड द सङ्ग अफ डेस्पियरमा संग्रहित प्रस्तुत कविता युवराज भट्टराईले अनुवाद गरेका हुन् । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।