बदनाम रहरहरू

ध्यान लगाएर सुनिसकेपछि
मेरा एक एक कुराहरू
कङ्गन खित्का छाड्दै
बडो शौखिन अन्दाजमा भन्यौ
यो उमेरमा 
कोही यसरी दिवाना हुन्छन् र ?

वयको चालीस खुटकिला टेकिसकेको मैले
तिम्रो सन्देहलाई कसरी झुटो सावित गराउन सक्नु ?
खेैः कसरी यति चञ्चल भएछु म 
कहाँ लुकाऊँ अब यो सरम ?
कसरी दबाऊँ यो उन्माद ?

मीठो शैलीमा प्रशंसा गरेर
सज्जनताको खादा ओढाइदिने गर्छौ सधैँ नै
मेरा बदनाम रहरहरुमाथि
अनि यसरी नै पटक-पटक 
सेरिएर मर्ने गर्छु म
तिम्रो शिष्टचारको धारिलो खुँडामा ।




जोखाना
                              

जस्तो कि,
हजुरको अनुभुती यात्रामा 
म सँगसँगै हिँडिराछु
कण कणमा सम्वेदनाको झरीले 
लछप्रै भिजिरहेछु

स्वेटरको धागो उधारेजस्तो
हजुरको पत्र पत्र ध्वार ध्वार उघारी रहेछु
र छ्याङ्ग देखिरहेछु पारदर्शी हजुरलाई

जस्तोकि,
बुढासुब्बा मन्दिरमा पुजारीले
भाकल गरेर चढाएको कुखुराको
मुटू कलेजो निकालेर अघिल्तिर राख्छन्
र हेर्न थाल्छन जोखाना
त्यसरी नै राखिदिनुभा छ हजुरले
आफ्नो मुटू मेरो अघिल्तिर
म हेर्दैछु जोखाना
र देखिरहेछु ठडिएको शिर 
मेरो प्रेमको ।




असुन्दर फुल            


चुँडालेर तिम्रो आँखाको शोकेसमा 
सजाईएका मोतीमालाहरू
निभाएर तिम्रो समर्पणको बल्दा बल्दैको आगो
आईपुगेको छु, म अफगानको यो क्यान्टोनमेन्टमा
सृष्टिकै सबैभन्दा असुन्दर फुलको चित्र कोर्न
सभ्यताको क्यानभासमा

फुट्न लागेको कोपिलाझैँ छोरीको तोतेबोली
देउताको दर्शन दिने बालक छोराको मुस्कान
भञ्ज्याङको चौतारीजस्तो चिन्ता बिसाउने आमाको काख
र आँगनमा फुलेको घामफुलजस्तो तिम्रो मुहार
उमंगका सुखद रंगहरू लिई जिन्दगी फुलिरहेका
यी स्वप्नबागबाट उखेलिएर अनायसै
आईपुगेको छु म
मृत्यू फुल्ने बगैँचाबाट एउटा फुल टिप्न
अफगानको यो क्यान्टोनमेन्टमा

हे ईश्वर !
मेरी प्रियसीलाई पटक्कै मन नपर्ने
यो असुन्दर फुल
आफ्नो कोटमा वा कपालको जुरोमा सिउरिन
किन मनपराउछन् मान्छेहरू ?




कवि सञ्जीव राई एक सक्रिय कवि हुन् । विराटनगरमा जन्मिएका कवि राईकाे याे भन्दा अघि "समय र कवि", "जिन्दगी अहम र स्वप्नफूलहरु" र  "सपना"गीति एल्बम प्रकाशित तथा सार्वजनिक भएका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...