आज जन्मेको शिशुले
उसले बुझ्थ्यो भने
थाहा पाउँथ्यो भने
के ऊ जन्मदो हो ?
अनगिन्ती प्रश्नहरूको चाङ लगाउँदै
पहिले सोध्थ्यो होला
आफ्नो बुबाको परिचय
को हो मेरो बुबा ?
कुन जातको हो मेरो बुबा ?
फेरि सोध्थ्यो होला
छोरी भएर निर्धक्क बाँच्न पाउँछु ?
उसैगरी बुझ्न खोज्थ्यो होला
अधिकारका कुरा
राजनैतिक अस्थिरता कुरा
के न्यायपूर्ण छ कानून ? मेरो जिम्मा लिनसक्छ सरकारले ?
उसलाई थाहा छैन
लासहरूको पहाडमा उक्लेर
राजनीतिको कबड्डी खेल्नेहरूले
उसको चित्कार सुन्दैन भनेर ।
उसले बुझ्दैन यहाँको
कथा, व्यथा, व्यवस्था, अवस्था
रीति, थीति, नीति, स्थिति ।
र पनि अझै सोध्थ्यो होला
– मैले कुनै पार्टीको झण्डा त बोक्नु पर्दैन ?
– कुनै धर्मग्रन्थ त उठाउनु पर्दैन ?
– बन्दुक चलाउनु त पर्दैन ?
– के म निस्फिक्रि सास फेर्न सक्छु ?
– मानवता भेट्टाउन सक्छु ?
– निस्वार्थ प्रेम पाउन सक्छु ?
– जातीय विभेद त भोग्नु पर्दैन ?
– बलत्कारको शिकार त हुनु पर्दैन ?
– म मात्र ‘म’ भएर मर्न सक्छु ?
सोध्दासोध्दै आफ्नै प्रश्नमा अल्झिएर
यस्तो पनि त सोध्थ्यो होला
– म नजन्मिँदा हुँदैन ?
तर अघि भर्खरै ऊ
यो सबै नबुझेर, नथाहा पाएर
केहि नसोधी
जिन्दगीभरि रुन
रुँदैरुँदै आइपुगेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...