रौतहटका कवि मनोज लोहार समसामयिक विषयवस्तुमा गहिरो चासो र दख्खल राख्ने कवि हुन् । उनको 'अनुहारको भिड' कविता संग्रह र 'छकालै' कथा संग्रह प्रकाशित छन् ।

शुभ्र बिहानमा

इनबक्समा चिरबिराउन आउने शब्द हुन सक्छ,

छोएर तिम्रा घुँडा

बाइकमा हुइँकिरहेको यात्रा हुन सक्छ,

गोधुलि साँझ नदी किनारमा

छोएर हाम्रा गोडा बगेका छाल हुन सक्छ,

सम्झिएर सुदूर सपनालाई

एक्लै गुडुल्किएको पाखुरा हुन सक्छ,

धूमिल हुँदैछ केही...

हत्केलाबाट छुटेर आकाशमा उडेका राता ब्यालुन झैँ !

 

हिँड्छु भनेर तिमीसम्म;

_________छाडेका बाटाहरू

पुग्छु भनेर तिमीसम्म;

______________छिचोलेका मोडहरू

धूमिल धूमिल हुँदैछ...

हत्केलाबाट छुटेर आकाशमा उडेका राता ब्यालुन झैँ !

 

तिमीलाई सम्झिरहने रहरहरूको क्याराभान

तिमीलाई पोत्न प्रतीक्षारत अधुरो क्यानभास

सम्झना भएर पछ्याईरह्यो

धर्सा झैँ तन्किएको राजमार्गको यात्रामा !

अन्तिम होला भन्ने नजानेरै

घुमेको सम्झनाको रिल र खिलखिलाएको मुस्कान

सपनै सपनाको जूनमध्ये टिपेको एउटा जून

खसिरह्यो आफैँबाट छुटेको छाया झैं

धर्सा झैँ तन्किएको राजमार्गको यात्रामा !

बेलुन बोकेको बालक आँखामा

अचानक फैलिएको आतंक

र उसको हत्केलाबाट छुटेर आकाशमा उडेको ब्यालुन...

धूमिल धूमिल हुँदैछ....

हत्केलाबाट छुटेर आकाशमा उडेका राता ब्यालुन झैँ..... ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...