'हामीलाई यो अन्नले कति समय पुग्छ छिरिङ ?' जीवनपद्धति बुझ्दै गरेको, गाउँमै हुर्किएको नावालक छिरिङको प्रतिउत्तर हुन्छ 'धेरै पुग्छ, आजीवन पुग्छ ।'
हिमाली जिल्ला डोल्पा अन्तर्गत, उच्च डोल्पा क्षेत्रको कुनै गाउँ । अन्न पाक्ने याम छ गाउँमा । पाकेको अन्नले भ्याइनभ्याइ तीन महिना धान्छ । बारीमा पहेंलपुर पाकिरहेको अन्न चहारिरहेका छन्, सिनेमाका केन्द्रीय पात्र, थिन्ले । त्यहीबेला उनको नाति उनीसामु आइपुग्छन् । साथमा बालासहितको अन्नको मुठो लिएर । त्यहीबेला थिन्ले र उनको नातिसँग भएको संवाद हो यो ।
संवाद बीचमै नेपथ्यमा मन्द हल्ला सुनिन्छ । हल्लाको जनाउ थाहा पाएर गाउँलेहरू भेला हुन्छन् । हो-हल्ला गर्दै । नेपथ्यमा चौँरीको लस्कर देखिन्छ, अर्थात् हिमालयन क्याराभान ।
भारीसहितको चौँरीको लस्कर गाउँलेको लागि खुसीको लस्कर हो । तर, त्यो खुसीको लस्कर खासै टिक्दैन गाउँलेको लागि । नुनको भारीसहितको चौरीहरूको लस्करमा हुन्छ, लाक्पाको मृत शरीरको भारी । त्यसपछि चलचित्रको कथाले लिन्छ नयाँ मोड ।
उबेला देखि नै त्यस गाउँको नेतृत्वकर्ता हुन्छन् थिन्ले । कुनैपनि गाउँमा या समूहमा कोही नेतृत्वकर्ता हुनु आदिवासी समाजमा प्रथाजनित कानुन अन्तर्गतको उपभोग पनि हो । मानव समूह देखि लिएर प्रायसमा यो नियम लागू भएको देखिन्छ। आफू पाको भएपछि आफ्नो नेतृत्व, आफ्नो छोरा लाक्पालाई सुम्पिएका हुन्छन् थिन्लेले । त्यही दिन लाक्पाको मृत शरीर आइपुगेको हुन्छ गाउँमा । गहिरो शोकमा छन् थिन्ले र उनको परिवार ।
वर्षमा एकपल्ट नुन र अन्नको कारोबार गर्नु जीवनपद्धति नै बनिसकेको हुन्छ गाउँको । उत्पादनले गाउँलाई धान्न नसकेपछि विकल्पमा चौँरी र व्यापार छ । भर्खरै आफ्नो सन्तानको मृत्यु संस्कार सकेका थिन्ले यसै गलेका हुन्छन् । त्यही बेला उनमा थप पीडा थपिन्छ । थिन्लेको वंशजले गाउँमा उबेला देखि नै गर्दै आइरहेको नेतृत्वमा संकट आइपर्छ ।
आफ्नो नेतृत्व बचाउन थिन्लेले अनेक कसरत गर्छन् । गुम्बामा आठ वर्षकै उमेरमा बौद्ध शिक्षा आर्जन गर्न गएका छिरिङसामु पनि पुग्छन् । यसरी परिवारको एक सदस्य गुम्बामा जानु बौद्ध परम्पराको पारिवारिक संस्कृति पनि हो। गाउँलेहरूलाई आफ्नो नेतृत्वमा कन्भिन्स गर्छन् । अन्ततः उनी आफैँले समूहको नेतृत्व लिन्छन् । त्यसबेलासम्म व्यापारको लागि चौरीको अर्को लस्कर गाउँबाट छुटिसकेको हुन्छ । त्यसको नेतृत्वकर्ता हुन्छन् कर्मा । जो लाक्पाको नजिकको मित्र हुन्छन् । शुरूमै कर्माले भनेअनुरूप लाक्पाको मृत्यु नस्वीकारीरहेका थिन्लेमा चौरीको एक जथ्था छुटेपछि शंका झनै बड्छ ।
त्यसपछि चलचित्रमा यात्रा वृतान्त देखाइन्छ । बीचमा अनेकन घटना, उपघट्नाहरू घट्छन्। यात्राको क्रममा बीच बाटोमै थिन्ले नेतृत्वको समूह कर्माले नेतृत्व गरेको अर्को समूहसँग भेट हुन्छ । कर्मा जवान हुन्छ । बल र ताकतमा उनको विश्वास हुन्छ । थिन्ले पाको छन् तर विगतको जब्बर अनुभव उनमा छ । अन्ततः हिमालसँगको लामो अनुभवी थिन्लेको सबै निर्णयहरू सही सावित हुन्छ । तर, वृद्ध शरीरले हिमालको हिमपात छल्न सक्दैन । चौरीहरूको लस्कर छ, बाक्लो हिमपातले यात्रारत अन्य सदस्यहरू पनि गलिसकेका छन् । थिन्लेको पाको शरीरलाई हिमपातले गलाउँछ सायद, यात्रारत उनी ढल्छन् । नेतृत्वकर्ताको लामो अनुभव बोकेका उनले चौरीको लस्कर र सहयात्रीहरूलाई यात्रा जारी राख्न अनुरोध गर्छन् । अन्ततः कम उचाइमा झर्दाझर्दै बाक्लो हिमपातको नेपथ्यमा कतै ओझेल पर्छन् उनी ।
थिन्लेको अनुभव जन्य कुराहरू सही सावित हुँदै आएपछि कर्माले थिन्लेको बाटो पछ्याउन बाध्य हुन्छन् । बाटो पछ्याउँदै आउँदा उनले हिउँमा लडिरहेको थिन्लेलाई भेट्छन् । त्यहाँ उनमा अग्रज अनुभवप्रतिको सम्मान देखिन्छ । उनले थिन्लेलाई बोक्छन् र बाँकी हिउँको बाटो पछ्याउँछन् ।
बीचमा भञ्ज्याङ देखाइन्छ । लुङ्दर गाडिएको छ । तोरणको लस्करलाई हिमाली चिसो हावाले फहराइरहेको छ । आस्थाको लागि मानिसहरूले थाक गरेको ढुङ्गाको थुप्रो छ । थिन्ले त्यो भञ्ज्याङ (पास) उछिन्न मानिरहेका छैनन् । त्यहाँ थिन्ले र कर्मा बीचको कोल्ड वारको अन्त्य भएको देखिन्छ । थिन्लेप्रति कर्मामा गहिरो सम्माननुभाव देखिन्छ भने कर्माप्रति थिन्लेको विश्वास नाति नोर्बुलाई नेतृत्वकर्ता बनाउन सक्ने क्षमता । नेतृत्वको असल शिक्षा व्यवहारिकतामा आइसकेको हुन्छ । अन्ततः कर्माले नेतृत्व हस्तान्तरणको लुङदर (झण्डा) देउरालीमा फहराउँदाफहराउँदै थिन्लेको मृत्यु हुन्छ । मन्त्रको मधुर उच्चारण सँगसँगै सिनेमाको पर्दा बन्द हुन्छ।
चलचित्रमा समेटिएको अन्य पक्षहरू
चलचित्रमा सबै पात्रहरूको उपस्थिति जब्बर छ । खास, डोल्पामा प्रचलित जनसंस्कृतिको व्यावहारिक पक्षको सौन्दर्यलाई चलचित्रमा सुन्दर तरिकाले देखाइएको छ । डोल्मा मार्फत शेर्पा जातिमा विद्यमान महिलाको उदार उपस्थितिलाई देखाइएको छ । नोर्बु बालक छ, तर उपस्थिति त्यतिकै जब्बर छ।
१. मृत्यु संस्कार
चलचित्रमा लाक्पाको शरीरलाई जलाइन्न, जमिनमा गाडिन्न पनि । बरू टुक्राटुक्रा पारेर गिद्धलाई खुवाइन्छ। तिब्बतीयन बौद्ध परम्परामा मृत्यु संस्कारको अनेक विधिमध्ये यो एक विधि हो । जसअनुसार मृत शरीरलाई कुनै उच्च भागको समथर भूमिमा लगी अनेक टुक्रा पारी गिद्धलाई खुवाइन्छ ।
तिब्बतीयन बौद्ध परम्पराको विश्वास यो छ कि, मृत्यु अन्त्य हैन बरू अर्को शुरूवातको प्रस्थान बिन्दु हो । यो परम्पराको शुरूवाती प्रारम्भिक कमोनर्सहरूले गरेका थिए । शास्त्रअनुसार, मानव शरीर आत्मा बस्ने ठाउँ हो र भौतिक शरीरको अन्त्य निश्चित छ । तिब्बतीयन बौद्ध परम्परामा यो जनविश्वास पनि छ कि जमिनमा गाडिएको, आगोमा जलाइएको या पानीमा बगाइएको भन्दा यसरी उच्च भागमा लगेर मृत शरीरलाई टुक्राटुक्रा पारी गिद्धलाई खुवाउँदा आत्माको स्वार्गस्थानतरण बिना अवरोध चाँडै हुन्छ ।
मृत्युको यो संस्कारको पनि प्रक्रिया हुन्छ । मृत शरीरलाई दुई देखि तीन दिनसम्म घर बाहिर राखिन्छ । बौद्ध धार्मिक गुरुहरूले मन्त्र र शुत्रद्वारा आत्मालाई मृत शरीरबाट अर्को शुरूवातको लागि छुटाउने कार्य गर्दछन् । त्यसपछि मृत शरीरलाई कुनै अग्लो समथर ठाउँमा लगिन्छ । गिद्धहरूको उपस्थितिको लागि जनाउमा केही बजाइन्छ वा स्वर निकालिन्छ । त्यसपछि बाँकी प्रक्रियाहरू गरिन्छ । बौद्ध परम्पराले भन्छ कि, जसको आत्मा शुद्ध थियो उसको शरीरलाई गिद्धहरूले चाँडै सक्छन् । मृत्युको त्यो कर्म गरिरहँदा परिवारको उपस्थिति हुन भने दिइन्न । जो त्यहाँ सहभागी छन् उनीहरूले हाँसीखुसी संस्कारको त्यो कर्म गर्नुपर्ने हुन्छ ।
२. बौद्ध परम्परा
अन्य हिमालयन क्षेत्रमा झैँ नेपालको हिमालयन क्षेत्रमा पनि बौद्ध धर्म परम्पराको लामो इतिहास छ । यस चलचित्रमा समेत बाराम्बार गुरु पद्मसम्भवको नाम उच्चारण गरिएको पाइन्छ । भनिन्छ, बौद्ध धर्मको प्रभाव फैलनुअघि यो भेगमा बोन धर्मको प्रभाव थियो । बोनहरू प्रकृतिमा, मन्त्रव्याधमा विश्वास गर्ने र तन्त्रमन्त्रमा निपूर्ण थिए । आठौँ शताब्दीमा तिब्बतका राजा सम्राट ठिसोङ देचेनले तिब्बतका झाँक्रीलाई परास्त गर्न पाकिस्थानको स्वातभ्यालिमा जन्मिएका बौद्ध धर्मगुरु शान्त रक्षित भिक्षु नालन्द गुरु पद्मसम्भवलाई आमन्त्रण गर्छन् । आमन्त्रण स्वीकार गरी गुरु पद्मसम्भव भारत नेपाल हुँदै तिब्बततिर लाग्छन् । यो बाटो प्रयोग गरिरहँदा उनले नेपालको फरपिङस्थित असुर गुफा, काठमाण्डु आसपासकै विभिन्न गुफाहरू, हलेसि गुफा आदिमा योगसाधना गर्छन् । त्यो बेला धर्म प्रचार गुरुहरूबीचको शास्त्रार्थ अन्तर्गत नै हुन्थ्यो । शास्त्रार्थमा जसले हराउँछ उसको चेलाहरू थपिन्थे र त्यहाँ त्यस धर्मको प्रभाव रहन्थ्यो । यहि क्रममा ओलङचुङगोला आसपास योगसाधना गरिरहेको बेलामा उनको शास्त्रार्थ लेप्चा जातिको ठूलो सिद्ध बोङथिङसँग भएको इतिहास पनि छ । त्यसमा उनी हारे तथापि गुरु पद्मसम्भवको श्रापबाट बच्न पछि तिनै कतिपय लेप्चाहाहरूले बौद्ध धर्म अनुकरण गरे । उता तिब्बतमा पुगेर बौद्ध धर्म फैल्याउन उनलाई त्यति सहज थिएन । योगव्याधमा निपूर्ण बोनहरू सिद्ध थिए । उनीहरूसँग धेरै मुकाबिला गर्नुपर्यो पद्मसम्भवले । धर्मप्रचारको यो संघर्षलाई डोर बहादुर बिष्टले राम्रोसँग आफ्नो पुस्तक सोतलामा व्याख्या गरेका छन् । उक्त पुस्तक लेखिरहँदा उनी तिब्बतमा नेपालको तर्फवाट वाणिज्य दूत भएर गएका थिए । भारत, नेपाल, भुटान र तिब्बतमा आजको बज्रयान धर्म उनैबेला गुरु पद्मसम्भवले बिजारोपण गरेका हुन् । जो धर्म तथा परम्परा, यस चलचित्रमा मार्फत् कहीँ न कहीँ देखाइएको छ ।
३. व्यापार
चलचित्रमा देखाइएको अर्को पक्ष हो व्यापार । नेपालका अन्य हिमाली क्षेत्रहरू झैँ उपल्लो डोल्पाको तत्कालीन ६ गाविसहरूको सीमा तिब्बतसँग नजिक छन् । साल्दाङ, मिजेर, तिन्जे, मुकोट, छार्का र धो गाविसहरूको सीमा तत्कालीन तिब्बतसँग गाँसिएका छन् । भनिन्छ, छार्का गाउँ बिस्वकै अग्लो ठाउँमा मानव बस्ती भएको गाउँ हो । जसमध्ये साल्दाङ थिन्लेको गाउँ हो ।
नेपालको कुटनैतिक सम्बन्ध कायम भएको पहिलो देश भोट या तिब्बत नै हो । तिब्बतकै माध्यमबाट नेपालको चीनसँग सम्बन्ध कायम भएको थियो । नेपाल-भोटको सम्बन्ध त्यसयता झनै निकट थियो, जुन समय राजा अंशुवर्माको छोरी भृकुटीको बिहे तिब्बतका राजा श्रङ्चङ गम्पोसँग भयो । भनिन्छ, यो अंशुवर्माको कुटनैतिक प्रयास थियो । यति हुँदाहुँदै पनि सन् १८७२ को सन्धिले चाहिँ नेपाल र तिब्बतबीचको व्यापारमा औपचारिक ढोका खोल्यो । रसुवागडी नाका भएर केरुङ तथा हालको हिल्सा, यारी भएर ताक्लाकोटसम्म नुन र दैनिक जिविकोपार्जनको लागि आवतजावत हुन्थ्यो । जब, सन् १९५० मा तिब्बतमाथि चीनको शासन शुरू भयो त्यसपछि पहिलाको व्यापारमा पनि व्यापक परिवर्तन आयो । त्यसताका बन्द गरिएका नाकाहरू ऐलेसम्म पनि व्यापारिक प्रयोजनमा उति साह्राे छैनन् । यी दुई विशाल देशहरूबीचको सहज व्यापारिक नाकाहरू नेपालमै पर्छ । यो व्यापारिक नाकाको कुटनैतिक प्रयोगमा नेपाल चुकिरहेको देखिन्छ ।
एउटा उक्ति छ, सुनको व्यापार तिब्बत ल्हासाले गरेपनि नुनको व्यापार मुस्ताङले गरेको थियो । कुनै समय उपल्लो मुस्ताङमा रहेको छुसाङ गाविसमा पर्ने नर्सिङखोलाको नुनखानी, केही हिमाली जिल्लाहरूमा नुन उपलब्धताको लागि पर्याप्त थियो । सुदूरपश्चिमतिरका हिमाली जिल्लाहरूमा भने तिब्बतवाटै नुन आयात गरिन्थ्यो । तल्लो पहाडी जिल्लाहरूमा नुनसँग विभिन्न खाद्यवस्तुहरू विनिमय गर्नु हिमाली शेर्पाहरूको तत्कालिन व्यापार थियो । सम्झन्छु, उ बेला गाउँमा गोट्टेनुन आइपुग्थ्यो गाउँमा । वस्तुभाउलाई दिनदेखि मानिसले खान सम्म प्रयोग हुन्थ्यो गोट्टेनुनको । भाजे भन्नुहुन्थ्यो, यो भोटको नुन हो ।
तथापि, परापूर्वकालदेखि प्रयोगमा आएको नर्सिङखोलाको नुनले करीब चार दशक अघिसम्म मुस्ताङ, म्याग्दी, कास्की, पर्वत लगायतका जिल्लाहरूमा नुनको आवश्यकता धान्थ्यो । पछि भारतबाट आयातित नुन 'साल्ट ट्रेडिङ कार्पोरेसन'ले सबै जिल्लामा नुन पुर्याउन थालेपछि उक्त नर्सिङ खोलाको नुनखानी बन्द भयो । त्यो बेला नुन निकाल्न प्रयोग गरिएका सुरुङहरू ऐलेसम्म यथावत देखिन्छ । चलचित्र क्याराभानमा गरिएको नुन कारोबार पनि कहीँकतै यससँग सम्बन्धित देखिन्छ नै ।
४. नेपालले नदेखेको डोल्पालाई संसारले देख्यो
निर्देशक एरिक भ्याली नेसनल जियोग्राफीका फोटोग्राफर थिए । त्यही फोटोग्राफि यात्राको क्रममा उनको भेट थिन्लेसँग भयो । थिन्ले त्यसबेला पनि उच्च डोल्पाको दूरदराजमा जीवनको उकालो ओरालाे गर्दै थिए ।
१३ सेप्टेम्बर १९९९ मा अमेरिकाबाट रिलिज भयो हिमालयन क्याराभान । त्यसपछि नै भएको हो अप्पर डोल्पाको सात गाउँमा नयाँ युगको शुरूवात । अमेरिका तथा युरोपमा थिन्ले र डोल्पाको चर्चा अत्यधिक भयो । चलचित्र हिमालयन क्याराभान ओस्कार अवार्डसम्म पुग्यो । ओस्कार अवार्डको ७२ औँ संस्करणमा 'बेस्ट फरेन ल्याङ्ग्वेज' अन्तर्गत मनोनयनमा पर्यो । त्यसपछि फिल्म चर्चाले चुलिएपश्चात् वर्षमा हम्मेसि ५-६ सयको संख्यामा डोल्पा भित्रने पर्यटकको संख्याले त्यस वर्ष ३ हजारको आँकडा नाघ्यो । थिन्ले सानैदेखि चलाख थिए । केही जोस र सपना थियो उनमा । सम्भोटा लिपीमा भएपनि उनले ज्ञान आर्जन गरेका थिए । पछि २०४५ मा त प्रधानपञ्च नै भए उनी । गाउँप्रतिको दायित्वबोध दरिलो थियो उनमा । उता चलचित्रले प्रख्यात हाँसिल गर्दै थियो, यता थिन्लेले आफ्नो नाममा ट्रस्ट तयार गरे । गाउँमा भएको पानिको समस्या हल गरे । गाउँगाउँमा सोलर बत्ती आयो ।
भुकम्पको १ वर्षपछि, अर्थात बैशाख १२, २०७३ मा एक अप्रत्याशित खबर सञ्चारमाध्यममा छाउँछ। खबरको कारण हुन्छ, थिन्लेको असामयिक मृत्यु । त्यससदिन थिन्ले सदरमुकाम दुनैबाट आफ्नो घर साल्दाङ जाँदै गरेका हुन्छन् । हिमालको साँघुरो अक्करे बाटोमा ओरालाे झर्दै गरेको खच्चडले उनको घोडालाई धकेल्छ । घोडासँगै भिरबाट खस्छन् उनी । केही समयपश्चात डोल्पाको रियल हिरोले संसारलाई एकटकले हेरिेहन्छन्, हेरिरहन्छन्।
यस किसिमका चलचित्रहरू कमै बन्छन् । औँलामा गन्न सकिएला । चलचित्रको उत्पादन बजारकेन्द्रित भएको साँचो हो । त्यसो हुँदाहुँदै पनि केही गतिला प्रयास नभएका भने हैनन् । उसो त फ्रान्सेली नयाँ चलचित्र (नाउभ वेग)ले साठीको दशकदेखि नै अलग वर्ग उभ्याईदिएको छ फिल्मकारहरूमा । त्यसयता कला, समानन्तर र नयाँ चलचित्रको नामबाट निर्देशकहरूले आफूलाई उभ्याउन थाले । स्टार पद्धतिको भंग भयो । दृष्यको भाष्य नयाँ भएर आयो ।
सन् १९५० अघिसम्म अन्तर्राष्ट्रिय बजारमा जापानको चलचित्रको चर्चा थिएन । जब अकिरा कुरोसावले 'रसोमन' बजारमा ल्याए । त्यसपश्चात चलचित्र निर्माणमा जापान अग्रपंक्तिमा आयो । उक्त चलचित्र 'रसोमन' संसारको विभिन्न नाट्य कक्षमा मञ्चन गराइयो । नेपालमा पनि नाट्य रूपान्तरण गरियो उक्त चलचित्रलाई । त्यसपछि भारतमै पनि पाथेर पाञ्जाली जस्ता उत्कृष्ट चलचित्रहरू बने । नेपालमै पनि प्रयास नभएको त हैन । चलचित्र जगतलाई गहिरो भाष्यको रूपमा लिने निर्देशकहरूबाट केही राम्रा प्रयासहरू भएकै हो । नवीन सुब्बाले 'नुमाफुङ' लाई फ्रान्सको भेसोल सिनेमा हलसम्म पुर्याए । प्रताब सुब्बा देखि मीन भामसम्मले सुन्दर जमर्को गरेकै देखिन्छ ।
क्याराभान हिरो, थिन्ले अर्थात थिन्ले लोण्डुप लामा सँधै तारा भएर रहनेछन् डोल्पाको । रियल हिरो बनेर रहनेछन् नेपालीमाझ ।
निर्देशकः एरिक भ्याली (फ्रान्स)
भाषाः डोल्पो/डोल्पेली
रिलिजः १३ सेप्टेम्बर १९९९, अमेरिका
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...