धर्तीमा पाइला टेकेदेखि
दिमागमा चेतनाको बीज अंकुरण भएपछि
शुरू भएको हो हजार माइलको मेरो यात्रा
कुनैदिन आमाका आँखाको पहिलो मुस्कान बने हुँला
आफ्नै भविष्यको सपनाको पाइलट देखे होलान् बाबुले
अनि
यौवनको बतासले छोएदेखि कैयौँ युवतीहरूले कल्पनाको राजकुमार ठानें होलान्
तर
म भने आफ्नै बाटो भएर पहाडबाट बगीरहने झरना झैँ
आफ्नै गन्तव्यमा गोरेटो पछ्याउँदै हिँडिरहेको एकल यात्री जस्तो
अनि
आफ्नै शरीरमा विलाएको सुगन्ध पच्छाउँदै
दौडिरहेको कस्तुरी मृग झैँ
अनवरत दौडिरहें
तर
जुन दिन
तिमीलाई भेटें
टक्क रोकिएको छु
जसरी ब्याट्री सकिएको घडी रोकिन्छ
जसरी आँधीपछिको तुफान रोकिन्छ
मलाई
तिम्रो शालिनताले कैद गरेदेखि
तिम्रो सहनशीलताले अवाक बनाएदेखि
म आफैँसँग चकित भएको छु
पटकपटक
तिमीभित्रको गहिराइको अनन्तसम्म डुबेको छु
भिडको बीचमा पनि एक्लो अनि शान्त पाएको छु
बादलको आकृतिमा तिम्रो चित्र कोरेको छु
धुवाँको मुस्लोमा तिम्रो मुस्कान देखेर एक्लै मुस्कुराएको छु
हावाको झोंकाले ल्याएको एक सर्को तिम्रो सुगन्धलाई ह्र्दयमा बिर्को लगाएको छु
त्यसैले त
आजभोलि म पागल पागल भएको छु
शून्यतामा रमाउने
वास्तवमा
आफैँभित्र आजभोलि तिमीलाई पाएको छु !
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...