Author

नेपाली सर्ट फिल्म जुनुको जुत्ता (द सुज अफ अ लिटल गर्ल)ले रुसको फेस्टप्रो फिल्म फेस्टिभलमा बेस्ट सर्ट फिल्मको अवार्ड जितेको छ । फिल्म केदार श्रेष्ठले निर्देशन गरेका हुन् । उक्त फेस्टिभलमा रुसकै द फाइनल स्ट्याण्डले बेस्ट फिचर फिल्म, चिलीको द ब्वाय एण्ड द माउण्टेनले बेस्ट एनिमेटेड फिल्म, जर्मनीको टेल्स अफ लाइटले बेस्ट चिल्ड्रेन्स फिल्मको अवार्ड पाएका छन् । 

यसअघि पनि जुनुको जुत्ताले मार्चमा अमेरिकाको वामकिड्स फिल्म फेस्टिभलमा पनि बेस्ट लाइभ एक्सन सर्ट फिल्मको अवार्ड जितेको थियो । त्यस्तै अप्रिलमा बुसान इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल अन्तर्गत कोरियामा प्रदर्शित भएको थियो । उक्त फिल्म इटालीको फिल्म फेस्टिभल ‘कोर्टी अ पोन्टी’, सिंगारपुरको दशौं ‘सिंगापुर इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल’मा समेत छनौट भइ यसै मे महिनामा प्रतिस्पर्धात्मक प्रदर्शन हुँदैछ ।



लगत्तै आउँदो जुनमा जुनुको जुत्ताले जर्मनीको अर्को प्रतिष्ठित फिल्म फेस्टिभल ‘सर्ट फिल्म फेस्टिभल–हमबर्ग’को मो एण्ड फ्रिस सेक्सन अन्तर्गत पनि प्रतिष्पर्धा गर्दैछ । यस फिल्मले गत वर्ष जर्मनीकै ६६ औं इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल–ओवरहोउसेनमा पनि अवार्ड लिएको थियो । सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेनमाजुनुको जुत्ता अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिशन’ विधा अन्तर्गत छनौट भएको हो । यसमा जर्मनी प्रतिस्पर्धा बाहेक अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा एक सय फिल्म छनौट गरिन्छ । 

खासमा जुनुको जुत्ता जुत्ता–चप्पल उल्टो लगाउने सानी नानीको कथा हो । उनले आमा, शिक्षक लगायतबाट चप्पल सुल्टो नलगाउँदा गाली पाउँछिन् । त्यसैले उनी चप्पल उल्टो नलगाउने उपायको खोजीमा लाग्छिन् ।



जुनुको जुत्ता जुनु पात्रमा केन्द्रित रहेको सिनेमा हो भने योेसँगै उक्त पात्रमा केन्द्रित रहेर अन्य चार सर्ट फिल्महरुको तयारी भइरहेको छ । जुनुको फरक फरक उमेरको कथा अनुसार आगामी फिल्महरु हरेक दुई–दुई वर्षको अन्तरालमा छायाँकन हुनेछन् । फिल्मका सिक्वेलले जुनुको भूमिकामा रहेकी ६ वर्षे हिस्सी लामालाई १५÷१६ वर्ष उमेरसम्म पछ्याउनेछन् । यद्यपि हरेक सर्ट फिल्म आफैमा पनि पूर्ण हुनेछन् ।

अहिलेको जुनुको जुत्तामा ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्क कुमारी लगायतको अभिनय छ । विभु पौडेल र सुशान्त श्रेष्ठ प्रोड्युसर रहेको फिल्मको सरुन मानन्धर सिनेमाटोग्राफर हुन् । विप्लपराज पोखरेलको सम्पादन, किशोर आचार्यको साउण्ड डिजाइन, रिकेन महर्जनको संगीत रहेको फिल्मको कार्यकारी निर्माता मधुसुदन रिमाल, सन्तोषी श्रेष्ठ र बद्री श्रेष्ठ हुन् ।

जुनुको जुत्ताको पटकथा निर्देशक श्रेष्ठले लेखेका हुन् भने जुन यशु श्रेष्ठको बालकथामा आधारित छ ।


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

मनोज खतिवडा

लेखकबाट थप...

सम्बन्धित समाचार