'हेर्नू न याँ ' ! कुन्नि के देखाउँदै भनि उसले मोबाइलमा। ध्यान दिएन उसले मात्रै होइन ध्यानै दिएन पटक्कै । छक्क परिरहिन् उनी । विवाहको दोश्रो दिन यो, कसैले यस्तोगरि अभोइड गर्छ मान्छेलाई ?लिपस्टिक लगाई,सँगै एररिङ ,गाजल पनि । उसले हेरिरह्यो ।

'के हेरेको हँ ?' मुसुक्कै हाँसेर सोधिन्  ।

'केहि पनि होइन ' ! भनेर औंलाको टुप्पोले बेड मून्तिरको कार्पेट कोट्याइरह्यो।

उसलाई लाग्यो, म यति ह्रास छु? मेरो सुन्दरता ? अहँ हुनै सक्दैन ।

अगाडि ,पछाडि घुमिघुमि ऐनामा हेरिन् ।कपाल ,आँखा ,नाक,मुख ,ओँठ अरुअरु जम्मै ऐनाकाे फ्रेममा अँट्न सक्ने भाग । हातको गाजल जताजता लान्थिन् उसको आँखा त्यतैत्यता गइरहेझैँ लागिरह्यो यतिबेला ।



उ निस्किएर गइ कफि बनाई र लिएर आइन् ।

थ्यांक यु,सो स्वीट अफ यु!भन्दै कप तान्दै गर्दा कुन्नि कसरी मस्किएथ्यो उ। कमसेकम खुशी हुन त जानेको रैछ ।  यो मान्छेले सम्झिन्  र अलिकति मुस्कुराइन् । अर्को बिहान उसरी नै बाथरुम बाट निस्कँदै डोरबेल बज्याे । त्यत्तिकै निस्किइन्, अप्ठ्यारो लागेथ्यो उसलाई । चिसो कपाल ,आधा कपडामाथि  आउटर लाउँदै थिइन् ।

'छोटो लुगा लाएर किन  जानू बाहिर ?' असुहाउँदिलो झ्वाँक देखायो उसले ।

लगाएको लामो आउटर फुत्त फालेर बाहिर निस्किइन् । बाहिर पेपरवाला थियो । पेपरवालाले पेपर दियाे । उनी पेपर लिएर भित्र इन् । रिससरी हेर्यो उसले ।

'किन हेरेको? 'सोधिन्  

'यसरी निस्कन्छ बाहिर ?' उ झनै रिसाएझ‌ैँ देखिन्थ्यो  ।

'के फरक पर्छ ?' उ पनि चिच्याइन्  ।

'फरक पर्छ', असहायजस्तै गरि बोल्यो उ यतिखेर।

'म निर्वस्त्र हुँदा तिम्लाई फरक परेको छ? छ कि, छैन ? तिम्लाई फरक पर्दैन भने अरुलाई के फरक पर्छ?' पुरै चिच्याएकि थिइन् यतिबेला उ पनि । ग्लानी जस्तै क्षोभ जस्तै कुन्नि के के महसुस गर्यो उसले यतिखेर । दिन बितिरह्यो उस्तैगरी रात पनि । एकदिन उ अफिसबाट पहिल्यै आइपुगेथ्यो घर। उनी पनि आइपुगिन् , संघार टेक्दैगर्दा भित्र उ मरिमरि खित्खिताइरहेको उसले सुनी !



 उ भित्र पस्दैगर्दा उसको  भुइँभरि छरिएका  नयाँ नयाँ साडी र मेकअप सेटहरु हत्तपत्त मिलाउने असफल प्रयास गरिरहेथ्यो। केही नसोधी उठाएर मिलाएर थन्क्याइवरी बाहिर निस्किइन् । साथीलाई फोन गरिन् , खासमा जे जे भन्नलाई कल गरेकी थिइन् । तर कुनै वादचित नै नभई कुरा  टुङ्गियो । अँ विवाहको भक्कुचुर बधाई  भने साथीले।

भित्र पसेर सोसियल मिडियामा स्टाटस अपडेट गरी - "म फरक एकदमै फरक बाटो हिँडिरहेको छु हिजाज"!


"म फरक एकदमै फरक बाटो हिँडिरहेको छु हिजाज"!


साथीहरू खुब जिस्किँदै, इत्रिँदै कमेन्टमाथि सब कमेन्टहरु थप्दै थिए। अचानक सम्झिन्, उसकाे रियाक्ट के होला? अँह केही थिएन । नाम सर्च त गरिन् , अफसाेँच उ अनफ्रेन्ड भइसकेकी थिइन् ।

जम्मै प्रोफाइल सर्च गरी फिमेल फ्रेन्ड कोहि थिएनन् सबका सब मेल फ्रेन्डहरु थिए फ्रेन्ड लिस्टमा।अर्को अचम्म थपिएको थियो अहिले फेरि। भोलि तिम्रो पालो है ।अघि उसले मेकअप कीट थन्क्याउँदै गर्दा उसले फोनमा भन्दै गरेको वाक्य उसको कानमा गुन्जिरह्यो यतिबेला। भोलिकाे पालो सोँच्दासोँच्दै उ निदाइन् ।

 

आज पनि उ नै घर पहिले पसेको छ । उ अलिपछि ।बाहिरबाटै सुनी  उसले खितखित हाँसेको जो अहिले उ भित्र छिरेपछि रोकिएको छ । एकछिन ल भनेर कल काटेपछि उ बाथरुम छिऱ्यो ।

नजिकै गएर रिसेन्ट कल गरिन् । कल रिसिभ भएपछि भिडियो अपग्रेड गरी। उता एउटा पुरुष रातो साडी ,फुल मेकअप र रातै चुरामा सजिएर बसिरहेको थियो। त्यसपछि उसले कहिल्यै नजिक बोलाएन । न कुनै काम अह्रायो, न केही भन्यो नै ।

 

साडी लाएरै जा न अफिस ।भन्दै गरेको एकदिन बिहानै सुने छिमेकीले।

'आफैँलाई एक्सेप्ट गर न किन नाटक गर्छस ?'

'थाहा थिएछ त तेसोभा किन बिहे गरिस मसँग ?'

(यसैगरि एकअर्कामा सवालजवाफ चलिरह्याे ।)

 

एकपछि अर्को गर्दै दिनानुदिन  नयाँ नया चर्को चर्को वाक्य सुनिएपछी एकाएक बन्द भएका छन् हिजाज। हुनु पनि कम्ताको मुखाले होइन ,इत्रु न इत्रु लुगा लाएर पेपर लिन दूध थाप्न निस्कने ! बिचरा भाइ सिधै भएर नि ।छोडेर हिँडिछ ,राम्रै भएछ । अर्को एकदिन  छिमेकीको दिदी भन्दै थिइन् ।

 उ छ्तबाट तल्तिर हेर्दै सुनिरहेथ्यो ।

 

 

स्रष्टा सन्ध्या आचार्य, सित्ताेङ-१,दार्जिलिङ खर्साङका सक्रिय लेखक हुन् । उनकाे "कथा कतिपय"लघुकथा-२०१८,"पराकम्पन"लघुकथा संग्रह २०२० प्रकाशित छ । त्यसैगरि, विभिन्न स्थानिय पत्रपत्रिकामा आचार्यकाे कविता तथा लघुकथाहरु प्रकाशित हुँदै आइरहेकाे छ । उनी सन् १९९७ देखि निरन्तर लेखनमा सक्रिय छिन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...