इँगिहोपो कोँइच सुनुवार


पहिले छिमेक भएर आयो
र कोइला सोध्यो
अनि आगो लिएर गयो ।

कहिले बटुवा भएर आयो
र ‘तिर्खा लाग्यो’, भन्यो
मैले ‘ऊ... त्यता छ जरुवा’ भनेर देखाए ।
‘यो अब मेरै भो’, भनेर उफ्रियो ।

फेरि पाहुना भएर आयो
र ‘अन्न छैन, खेत कमाउँछु’ भनी
पछि आफ्नै नाममा लालपुर्जा छपायो ।

उसैगरी मित भएर आयो
र ‘मितज्यू हजुर ! मितज्यू हजुर !’ भनी
विश्वास आफ्नो बनायो ।

त्यसपछि
मुक्तिदाता बनी साथ माग्यो – आवाज लग्यो
सपना बनी छाप माग्यो – छाती लग्यो
आश बनी हेराइ माग्यो – दृष्टि लग्यो
केही छोडेन
सबै लिएर गयो ।

फेरि अहिले भर्खरै
जोगी भएर आएको छ
अब के लाने हो ?

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।