सम्बोधनमा नपरेका बाँकी सारा सम्बोधनहरू !
उहिल्यै इतिहासमा
बेमौसमी हुरीबतास र बर्सात्को एकदिन
आफ्नै देशभित्र निर्वासित सुदूर गाउँमा कतै
भित्तामा ससम्मान झुन्ड्याइएको
वर्षौं पुरानो देशभक्त अमर सिंहको तस्वीरबाट
अचानक आँखा झरेछन्
हुन सक्छ—
ठीक त्यही बेलादेखि यो देशका मार्गदर्शकहरूले
दृष्टि गुमाएको हुनुपर्दछ
फेरि एकाएक तस्वीरबाट कान झरेछन्
ठीक त्यही बेलादेखि यस देशका शासकहरू
बहिरो भएको हुनुपर्दछ
बिस्तारै छोपिएका नाकमुख पनि झरेछन्
ठीक त्यही बेलादेखि लासहरूको दुर्गन्धित पहाडमाथि उभिएर
देशको बिरानीमा यहाँ बेसुरा राष्ट्रियता गाइएको हुनुपर्दछ
तस्वीरबाट क्रमशः
हात झरेछन्
खुट्टा झरेछन्
ठीक त्यही बेलादेखि स्वाभिमानी हातहरू
आत्महत्या गर्न विवश हुनुपर्दछ
ठीक त्यही बेलादेखि हिँड्न शुरू गर्नुअघि नै
यो देशको गन्तव्य नै हराएको हुनुपर्दछ
र अन्तमा मात्र अस्थिपञ्जर केवल अस्थिपञ्जर बाँकी राखेर
अमर सिंहको त्यो तस्बिरबाट मस्तिष्क र मुटु पनि झरेछन्
सायद त्यही बेलादेखि यस देशका शासकहरू
अबिरमालाले पुरिएका चेतना र हृदयशून्य
केवल ठिङ्ग उभिएका सालिकजस्ता बनेको हुनुपर्दछ
यस्तो अजङ्गको अभिशप्तता अन्त्य गर्न
यहाँ भीमसेन थापाहरूले सालिक होइन
बरु मुर्दा नै बन्नुपर्ने रहेछ !
- तपाईहरूकै सेवक
भीमसेन थापा
“भरखरै सुन्दै हुनुहुन्थ्यो
भीमसेन थापाको सुसाइड नोट ।
अब परिशिष्टमाः
(आजको शीर्ष खबर-
देशभक्त भीमसेन थापाको आत्महत्याले देश स्तब्ध छ
थापाको आत्महत्यापश्चात् उनको बन्द मुठी खोलेर हेर्दा
उनको हत्केलामा कोरिएको किरिङमिरिङ भाग्यरेखा,
अनि यो देशको नक्शा र
त्यो झुन्डिएको तस्वीरमा बाँकी रहेको
अमर सिंह थापाको त्यो वास्तु नमिलेको अस्थिपञ्जर
दुरुस्त उस्तै रहेको बताइएको छ)”
कविताकाेशबाट साभार
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...