प्रिय,
यो स्थिर समयको एक छेउमा उभिएर तिमीलाई सम्बोधन गरिरहेछु ।
शब्दको एक पेरुङ्गी चेसुङ तिमीलाई थमाउन भनेर बोकेको छु । आफ्नी आमाको आलिङ्गनमा हुत्तिएर जान खोजिरहेको कुनै अबोध बालकको हातजस्तो, मेरा यी हातहरु नाम्लोले थुन्चेलाई बेरेजसरी तिमीलाई बेर्न पहिलोपटक यति अधैर्य भएका छन् ।
गर्दै नगरेको अपराधको सजाय भोगिरहेको निर्दोष कैदीजस्तो, यो कहरको एक कैदी भएको छु म । यो घरलाई घेरिरहेको सामान्य पर्खाल पनि, अचेल जेलको काँडेतारजडित अग्लो तारबारजस्तो अविजीत भएको छ । सोचिबस्छु, वर्षौँको कैद भुक्तान गरेर व्यग्रताका साथ जेलबाट छुट्ने दिन गनिरहेको कुनै कैदीको मनोदशा पनि ठ्याक्कै मेरैजस्तो हुँदो हो ।
कहिलेकाहिँ कोठाका यी भित्ताहरुलाई पर्दा बनाएर तिमीसँग बिताएका पलहरुको चलचित्र हेरिरहन्छु । कहिले यादको सिरानीमा टाउको राखेर तिम्रो स्नेहको बर्को ओढ्दै घण्टौँ दलीनसँग संवाद गरिरहन्छु । झ्यालमा हावाको सरसराहट चल्दा तिमीले कानमा कानेखुसी गरेजस्तो लाग्छ । रातमा अँध्यारोको चूक पोखिँदा तिमी कुरैकुरामा मसँग रिसाएजस्तो लाग्छ ।
हर बिहान झ्यालबाट एक टुक्रा प्रकाश कोठाभित्र सुटुक्कै छिर्छ । जसरी तिमी नसोधिकन सम्झनामा आउँछ्यौ । अनि बिहान हुर्किएर दिन भएजस्तो, तिम्रो सम्झना मभित्र रापिलो हुँदै जान्छ । साँझ आउँछ र सन्नाटाको एक गिलास वाइन मेरो हातमा थमाउँछ । म त्यो पिउँदिनँ तर मात्छु । यसरी रातको सन्नाटाले मलाई रातभर मताउँछ ।
तिर्खा लाग्छ उसैगरी, जसरी मलाई तिम्रो प्रेमिल चुम्बनले आशक्त बनाउँछ । तिम्रो ओँठमा ओँठ राखेर प्रेमालापमा तृप्ती मेटाइरहेजसरी म अम्खोराको पानी पिउँछु । बेलाबेला तिम्रो मायाजस्तो गाढा कफी पिउन मन लाग्छ । त्यसमा थोरै बेचैनी घोल्छु, तिम्रा आँखाका नानीहरुमा मेरो मुस्कान घुलेजस्तै त्यो निर्मिमेष घुलिरहन्छ ।
अक्षम्य अपराध गरेर समुद्रको कुनै अनकन्टार टापुमा जन्मकैद भोगिरहेको एक कैदीजस्तो भएको छु म यतिबेला । सोचको हरेक बाटो निराशाको गञ्तव्यमा गएर टुङ्गिरहेछ । यस्तोकि, चिच्याऊँ कसैले सुन्ने छैन, गुहारुँ सहायतामा कोही आउने छैन । हिँस्रक जङ्गली जनावरले एकै झमकमा हमला गर्न आँटेजस्तो डर आफूमाथि उफ्रिरहेछ । आशाको ओडारभित्र लुकेर म कति दिन बाँचूँ ? कति दिन रहरका कन्दमूलहरु खोजेर खाऊँ ? मानौं कल्पनाको बगैँचामा फुलिहेका गुलाबी मनहरुसँग फेरि कहिल्यै प्रेमील मिलन हुने छैन । मानौं, स्वर्गको प्रस्थानबिन्दुमा आएर पाण्डवहरु उभिएका छन् । देवताहरु उहिल्यै मरिसकेको यो लोकमा अब कसले फैसला गर्ने, को जानेछ, को यहीँ बस्नेछ ? सत्यतालाई नकार्न सकिन्न । तर फलामको चिउरा चपाउनुभन्दा गाह्रो परिरहेछ, सकार्न पनि !
तिमीलाई भनेर शब्दहरुको चेसुङ तयार गर्दैगर्दा नयाँ वर्षले आँगनमै आएर मलाई बोलाइरहेको छ । के भनेर पठाऊँ उसलाई, म स्वयम् यतिबेला अभावको पिँजडामा कैद छु । भोकले गलेका मेरा हातहरुमा उसलाई स्वागत गर्ने अलिकति पनि तागत छैन । यतिबेला नीला जकरण्डाहरु शहरको सडकभरी उन्मत्त भएर फुलिरहेका होलान्, वसन्त जो लागेको छ । अघिल्लो वर्ष एकसाथ सँगालेका उल्लासमय पलहरु सम्झेर नयाँवर्ष फेरि मलाई भेट्न आएको छ । उसलाई नमस्कार गर्ने पनि हिम्मत मसँग छैन । हात मिलाउन त सरकारले निषेध गरेकै छ । मसँग उसलाई दिन सिर्फ एउटा उदास मन बाँकी छ । म त एक टुक्रा सरकारी राहतको प्रतीक्षा गर्दागर्दै यो बिर्सिने भइसकेको छु, मृत्युले सम्मुखमा मेरै प्रतीक्षा गरिरहेको छ । म पनि यो देशको कुनै मन्त्रीजस्तो छातीमा रक्षाकवच टाँसेर जन्मिएको भए उसलाई सहर्ष स्वागत गर्न उभिने थिएँ आँगनमा । तर मृत्युको ठिक एक बित्ता वर उभिएर कसरी म उसको आगमनमा हर्षोल्लास मनाऊँ ! मजस्तो गरीबलाई साथी बनाउन कहाँ रहर थियो होला र उसलाई पनि । जसोतसो हर साल उसको लागि मिठोमसिनो साँच्दै आएको थिएँ । हिजोसम्म म स्वयम् सरकारले फ्याँकेको
आश्वासनको ढुसी परेको पाउरोटी टोकेर बाँचिरहेको थिएँ । तर आज मसँग उसलाई दिन एउटा उदास मन र एक चिम्टी सपनासियाव केही बाँकी छैन !
मेरा अरु साथीहरु घर फर्किँदै होलान् । आशाको एउटा कमजोर डोरीले खाली पेट कसेर राजमार्गका घुम्तीहरुमा जीवनको अन्तिम पाइला चालिरहेका होलान् । उनीहरुका कोमल पाइतालालाई तातो सडकले चेतावनी दिइरहेको होला, "अर्को जन्ममा धनी मान्छेको खुट्टा भएर जन्मिनू । यति बिघ्न गरीबको पाइताला नहुनू !"
अब यति भनेर पठाउँछु नयाँ वर्षलाई, अभाव र भोकको रापले सन्तप्त मलाई उसले असङ्ख्य सहानुभूति दिएर जाओस् । कसै गरेर पार पाएछु भने अर्को वर्ष उसँग अवश्य भेट हुनेछ । यतिबेला त म यसकारण सास फेरिरहेछु, कि बाँच्न पाउने अधिकार गरीबको पनि छ !
प्रिय, समय छिट्टै चलायमान होला । जीवनको बाँकी अध्याय त लेख्नु नै छ । उमेरको समुद्रमा नपुगिकन बीचैमा सुकिजाने रतुवा खोला होइन मेरो जीवन । पर्खिराख्नू, म कुनै एक बिहान ढाकरभरी घाम बोकेर तिम्रो जिन्दगीमा उज्यालो छर्न अवश्य आउनेछु !
उही तिम्रो सदासयताको आजीवन ऋणी मान्छे !
उपसंहार,
यो पत्र कुनै पत्र मन्जुसामा खसेन । प्रापकको हातमा कहिल्यै परेन । मसँगै लकडाउनमा परेको यो प्रेमपत्र सोह्र महिनापछि आफैँ खोलेर पढिरहेछु म । समय त्यहीँ अड्किएको छ, जहाँ यो पत्रका अन्तिम शब्दहरु अल्झिएका थिए । लकडाउन यथावत छ, मनको लकडाउन, विचारहरुको लकडाउन !
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...