काभ्रेका कवि समर्पण श्री काठमाडाैँमा रहेर साहित्यमा साधनारत छन् । उनको संयुक्त कविता संग्रह 'अनुहारको भिड' र संयुक्त कथासंग्रह 'छकालै' प्रकाशित छन् । आख्यान लेखनमा समेत रुचि राख्ने उनी पत्रकारितामा पनि सक्रिय छन् । सरल र मिजासिलो स्वभावका उनका कविताले सत्तासँग सालीन विद्रोह गर्छन् । कवि समर्पणको प्रेम कविता यहाँ प्रस्तुत गरिएको छ ।

तिमीलाई लाग्दो हो
सुटुक्कै गइरहेछ समय

जब 
आँगनमा रोपेको फूलका पत्ताहरू
हरेक बिहान हाँसेको देख्छौ तिमी

जवानी सिँचेर फैलिरहेको घाममा फक्रिएको
स्वप्निल आँखामा पोखिएको जुनमा चम्किएको
न्यानो हावाको स्पर्शमा लजाउँदै नाचेको 
सुगन्ध बाँड्दै हृदयमा हुर्किरहेको 
फूल छ तिमीसँग.....!

त्यही फूल हाँसिरहेको देख्दा
तिमीलाई लाग्दो हो 
सुटुक्कै गइरहेछ समय

तिम्रो समय त बगिरहेको छ
लय पछ्याउँदै जाने पानीका धारहरू जस्तै

तर यतिबेला
मेरो समय अड्किरहेको छ
नदीमा अल्झिरहेका ढुंगाहरू जस्तै 

आउँछ छाल
बजाउँछ मेरो छाति 
र जान्छ तुफानको वेगमा

मेरा आँगनमा 
फूलहरू झरिसकेका छन्
त्यहाँ उदासीपन मात्र बाँचिरहेका छन्
र यो 'माइग्रेन'जस्तो समयले मलाई घोचिरहेछ 

निरन्तर.....!

मेरो समय छट्पटीको रातजस्तो छ
जुन कुनै प्रार्थनाले भागिहाल्ने छैन
काँचो दाउरामाथि पल्टाइएको लासजस्तो छ
जुन कुनै राँकोले सल्किहाल्ने छैन 

छुटिसकेको जीवनको अन्तिम रेल
आउलाकी भनी पर्खिरहेछु
तर ठीक उल्टो छ
मेरो छट्पटीको चाल र समयको गति

पर्खँदा दुखाइको आयु लामो हुन्छ
त्यही आयु बाँचेर म बसिरहेछु स्टेशनमा 

तर यतिबेला
सुटुक्कै गइरहेछ तिम्रो समय
मलाई छाडेर जाने 
जीवनको अन्तिम रेलजस्तै !

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

समर्पण श्री

लेखकबाट थप...