पान्थर जिल्लाको याम्बोङमा जन्म भई सोही क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएका लेखक मलिसा याक्थुङ्बा (महेन्द्रकुमार नेम्वाङ) लेखन सम्पादनका अलवा शिक्षण क्षेत्रमा संलग्न हुनुहुन्छ । लेखक याक्थुङ्बाका पछिल्ला कृति 'केयुक्ना नु आयुक्ना' (निबन्ध संग्रह २०७७), 'युप्पारुङ ' (कथा संग्रह २०७६), 'विद्वान रनध्वज नेम्वाङको जिवनी २०५६', 'खामाक पाङभेरेन् तुङहा' (नाटक २०५८), 'याक्थुङ पान्दाङरेन निरेङ' (२०५९) लगायत दर्जन भन्दा बढी पुस्तकहरू' प्रकाशन भई सकेका छन् । बहुआयामिक व्यक्तित्वका धनी याक्थुङ्बाले 'पकन्दी' , 'युगान्तर सन्देश', 'सुमहात्लुङ' लगायतका पुस्तकहरु सम्पादन गर्नको साथै 'मसेमि', 'नुमाफुङ' लगायतका चलचित्रहरूमा अभिनय समेत गरेका छन् ।
जन्मेर केही वर्षमै उनको केश कालोबाट सेतै फुलेर गएकाले सुरीखावा गाउँभरि ब्रिटिश भन्छन् । हुन पनि कालो केश, गोराहरूको जस्तै सेतो हुँदै गएकाले पनि उनको नाम ब्रिटिश बन्यो गाउँघरमा । अरू थुप्रै नामहरू भएपनि यही नाम चर्चित ।
‘अर्को नाम सैँला, धैला र मैला ।
बिर्सेर सैनो, गर्दिन्छन् रेला ।
हल्लौँछ टुप्पी, चाराना सुकी ।
सिरानी मुठी, भुइँ ओछ्यान फुकी ।’
ख्यालीहरूबाट वैंश रचिन्छ, ब्रिटिशको । सुरीखावा गाउँभरि कसैको घरमा दाउरा ओसार्नु परे, काठ ओसार्नु परे, चामल बोकेर ल्याउनु परे, अलैँची गोड्नु परे, पाहुना भरिया जानु परे, ढुङ्गा बोक्नु परे, कुलो बनाउनु परे उनको एक्लो रापताप हुन्थ्यो । कम्तीमा एक क्वीण्टल त बोक्छन्, पैसा कमाउनकै लागि । उनको सपना ‘पैसा कमाएर मनखाने केटी ल्याएर अरू सम्पत्ति कमाउने, बालबच्चा जन्माउने र अरूभन्दा धेरै गरिखाने’ छ ।
हुनु त वैंशै रमाइलो उनको । काममा जानुपरे एकपटक सुरीखावा थर्किने गरी कुर्लिन्छन्, ‘अलिलिलिलि.....’ । सबैले ‘अब ब्रिटिश, कसको काममा जाने भएछ’ सजिलै अनुमान लाउँछन् । यत्रो कामहरू गर्दापनि उनको खुट्टामा न चप्पल न त जुत्ता नै लगाउँछ । भकारेको काँडा त दोबार्छन्, उनको पैतलाको छालाले । जुत्ता लाउने बानी छैन । एकपल्ट चप्पल किनी लगाएर चर्पी जाँदा बाहिर फुकाल्छन् । शाैच सकेर त्यत्तिकै चप्पल नलाई गाउँ जान्छन् । भरै खुट्टा हेर्दा नयाँ चप्पल देख्दैन । फर्केर आउँदा चर्पीघरको मुखमा चप्पल छैन । चप्पल नलाउनेमा कसम जस्तै बन्छ, उनको ।
सयौं तरुनीहरुले पनि ‘ब्रिटिस लुङा’ मुखाग्र भन्छन् । मुसुक्क हाँसेर जवाफ दिन्छन् । उनलाई कुनै अनौठो छैन, नामको । वैँश उर्लेको, दशैँ याम एकरात जाँडरक्सि खाएर गाउँदेखि घरतिर झर्दा बाटामा केके न केके पड्किने गरी टेक्छन्, फ्या...ट । राती नदेखेकाले बिहान गई हेर्दा गतिलो गुर्बेसर्प टेकिमारेको देख्छन् । ‘आरे हाउ’ भनेर अचम्म मान्छन् आफैँ ।
बुढौली एक्लेको खेत भिजाउन निबुखोलाबाट कुलो बनाउनु पर्ने । ब्रिटिसले लाठे पर्मु दुईदिन सघाउनु पर्नेभो र सघाउँछन् । अन्तिम दिन, कुलोको मुहानमा ठूलोढुङ्गा मिलाउँदै पल्टाउँदै खोलाको मुख छेक्न खोज्दा खुट्टाको बुढी औँला ढुङ्गाले किच्छ, ‘च्याट्’ आवाज । खुट्टा उचालेर हेर्छ । खुट्टाको नङ नै चुटिएर कत्ता गो गो छैन । रगत धारा बग्छ । बुढौली छक्क पर्छन्, त्यो देखेर । काम रोक्छन् ।
दुईमहिना जत्ति थला परेर खुट्टाको बुढिऔँला हल्का निको हुँदै जान्छ । कलिलो मासु देखिन्छ । पर्तिर पूजाथला प्राथमिक विद्यालयमा भवन निर्माणका लागि सुरीखावा गाउँको पुच्छारे जेठाले संगोल ठेक्का लिन्छन् । ब्रिटिस बलियो, बलको काममा हिलो मुछ्ने भागी पर्छ, उनको ।
छकोठे भवन बनाउनु शुरू, सबै सहपाठीहरूले हातमा हात मिलाएर काम थाल्छन् । ढुङ्गा फुटाउने र ओसार्ने मात्र होइन । सक्ने नसक्ने, जान्ने नजान्ने सबैले नै गारो लगाउँछन् । ब्रिटिसले हिलो मात्र । हिलो मुछेको मुछेकै छन्, एक्लै । यत्ता पनि हिलो, उत्तापनि हिलो मागेको मागेकै । सबैको हातमा हिलो पुर्याई दिएकै छन् । ढुङ्गा र हिलो उचाल्न र मिस्त्रीहरूलाई सजिलोका लागि बेञ्च राखिएका । मिस्त्रीहरूले काम गर्दैछन् । ब्रिटिसले हिलो मुछेर माटो ल्याउँदै के मात्र थिए । कुन मिस्त्रीले बेञ्चको छेउ टेकेछ । ढिकीजस्तो उठेर झर्दा उनको बुढीऔँलामै बेञ्चखुट्टा बजारिन्छन् ।
‘आय्या?मै ......’ भनेर बस्छन् । खुट्टा हेर्दा त नङ् नभएको औँलाको कलिलो छालामै परेछ । खून, पाइप फुटेर पानी उफ्रे जसरी उफ्रँदैछ, तिरिरिरि । दुःखाईले उनको टाउकाको रौँहरू ठाडो बन्छन् । मान्छे हरियो, कालो भै सक्छ । ‘आघिदेखि भनेको । सबै मिस्त्री नबन । हेर, मेरो खुट्टा । तेरिमा गधाहरू । गाँगाटा पिनि मिस्त्री, छेपारा पिनि मिस्त्री, सर्पा पिनि मिस्त्री । यहाँ कहाँ ....।’ भनेर रिसले कराउँदै कुट्ला जस्तो गर्छन् । आँखामा दुखाई र रिसले आँसु टिलपिल हुन्छ । अनुहारदेखि पसिना खलल बग्छ, खुट्टा हिलैसरी भएपनि रगत थाम्न समाती राख्छन् । र रिसले मुर्मुरिन्छन् । पुच्छारेजेठाले ‘हाउ, सुब्बाकान्छा जस्तो आया ? मै.... पो भनिस् कि’ भनेर ‘आ... आ... आ... आ...’ गरी सुस्तमा लामो पाराले हाँस्छ । ब्रिटिसले पनि उनको हाँसो र आया ? मै शब्द सुनेर ‘हाहाहाहाहा’ गरी हाँस्छ, सयौं करेण्टको पीरहरु बिर्सेर । सबै असीमित हाँस्छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...