हामी सबैले सुनिआएको शब्द ‘Contemporary’ तर हामीले यसलाई कहिल्यै गहिरिएर केलाउने जमर्को गरेनौँ । Contemporary शब्द आफैँले स्वतन्त्र, निराकार, संरचना  विहिन र फराकिलो भन्ने अर्थ बोक्दछ । यसलाई हामी धेरै तरिकाबाट परिभाषित गर्न सक्छौँ । तर मुलत:यसको अर्थ ‘The art of today’ अथवा ‘Living in present’ भन्ने हुन्छ । नेपालीमा हामीले ‘समकालीन’ शब्द  प्रयोग गर्दा फरक पर्दैन । यसको परिभाषामै वर्तमान अथवा समकालीन अर्थ लाग्न आएता पनि यसको प्रारम्भिक चरण र इतिहास सम्म नियाल्न भने अत्यन्त जरूरी छ ।



 पहिला हामी Contemporary शब्दको विकासक्रमलाई हेरौँ । "Contemporary" शब्द Medieval Latin भाषामा प्रचलित Contemporarius शब्दबाट अपभ्रंश भई आएको देखिन्छ । जसमा Con (com ) को अर्थ with / together  भन्ने हुन्छ भने temporarius को अर्थ  of time ( tempus - time ) भन्ने हुन्छ । जुन समय अथवा सोह्रौं शताब्दी भन्दा पहिला यसलाई त्यही कालखण्डमा रहने वा जिउने कुनै अर्को व्यक्ति वा जीवलाई उल्लेख गर्न प्रयोग गरिन्थ्यो । जस्तै, Narayan Gopal was contemporary to Gopal Yonzon भन्न सकिन्छ । ‘Contemporary Term’ आधुनिक कालको अन्त्यदेखि अथवा उन्नाईसौं शताब्दीको अन्त्य र बिसाैँ शताब्दीको सुरुवातसँगै विस्तृत रुपमा प्रचलनमा आएको पाइन्छ ।  

'Contemporary Art' हाम्रो अस्तित्वसँग जोडिएको क्रियाकलाप हो । आफैँले आफैसँग गर्ने संवाद  हो । आफ्नो वर्तमान महाशुस तथा भावनात्मक अभिव्यक्ति हो र अन्तरआत्मासम्म पुग्ने साधनाकाे मार्ग हाे ।

 

अहिले "Contemporary" शब्दसँग परिचित नहुने हामी सायदै कमै होला तर के हामी यससँग व्यावहारिक रुपमा पनि उतिकै नजिक छौँ त ? हामी यसलाई सामान्यतया कला अथवा सिर्जनासँग जोड्ने गर्दछौँ । तर कला र सिर्जना आफैँमा जीवन अभिव्यक्ति  तथा जीवनपूरक माध्यम हुन् । कला, सिर्जना हामी मानव विकासक्रम र हाम्रो सोँचाई तथा विचार विकासक्रमसँगै आउने प्रक्रिया हो । हामी जतिपनि प्राणी , जीव तथा तत्वहरु छौँ । यी सबैको आ-आफ्नै विकासक्रम र विकास प्रक्रिया छन् । जसमा हामी मानवजाती सिर्जनशील तथा परिवर्तनशील विकासक्रमको दरिलो उदहारण हौँ । हाम्रो विकासक्रमसँगै हामीमा आवश्यकता, चाहना ,भावना , चेतना , कल्पना , मानसिकता जस्ता आधारभूत तथा विभिन्न अरू कुराहरुको पनि एकसाथ विकास हुँदै आएको छ । हाम्राे जीवनशैली ,विचार तथा चेतनास्तरको अभिवृद्धि हामी यहाँसम्म आइपुग्नुको मुख्य कारक हो ।



त्यसै क्रममा ठाउँ परिवेश तथा भूगोलका आधारमा हाम्रो जिउने अनि जीवन अभिव्यक्त गर्ने विभिन्न तरिका , सीप तथा कलाहरु सिर्जित हुँदै गए । हामी जे भोग्छौँ त्यहि महसुस गर्छौं । जे महसुस गर्छौं त्यहि सोँच्छौँ र जे सोँच्छौँ त्यहि गर्छौं । महसुसता एक भावानात्मक प्रक्रिया हो भने हामी जे गर्छौं त्यो एक सक्रिय सिर्जना हो । मसहुस देखि सिर्जनासम्म पुग्ने एक यात्रा अथवा प्रक्रिया नै कला हो । सोहि अनुरूप कलाले हाम्रो भावनासंग एकदमै गहिरो सम्बन्ध कायम  राख्दछ । यहाँ जोड्न चाहेको कुरा कलाले हाम्रो  जीवनमा कत्ति नजिकको सम्बन्ध राख्दछ भन्ने हो । कला र  सिर्जना पहिले जति जीवन तथा समाज पूरक थिए । अहिले त्यो अवस्था छैन । हामी यसलाई एक छुट्टै ट्याग दिएर जीवन र समाजबाट अलग्याउने सतही होडमा लागेका छौँ । तर हामीले बुझ्नुपर्ने कुरा  त्यहि समाज र जीवन विकासको प्रक्रियाबाट आएको उपज हामी त्यो भन्दा बाहिर गएर सोँच्न सक्दैनौँ । अघि पनि उल्लेख गरिसकेको कुरा यो परिवर्तनशील भने अवश्य छ र 2 / 2 समयअनुरुप  आउने यसको परिवर्तन हामीले स्विकार्न जरूरी पनि छ । "Contemporary Art"   यसैको उपज हो ।



मानव विकासक्रमको प्रारम्भिक चरणमा विभिन्न खाले जीवन अभिव्यक्तिमुलक आदिवासी कलाहरु प्रस्फुटित भए । त्यसपछि शास्त्रीय र आधुनिक हुँदै अहिले हामी "Contemporary Art" को दौरानमा छौँ । यो एकदमै लामो यात्रा तथा  प्रक्रियाबाट आएको हुँदा यसको महत्व एकदमै गहन छ | Classical र Modern Art को आफ्नै महत्व छ तर यी आफैंमा शुत्रबद्ध र विभिन्न नियमहरुद्वारा बाँधिएको हुनाले यसको साधना प्रक्रिया एकदमै लामो छ र   यसलाई हाम्रो सामान्य जीवनसँग जोड्न केहि असजिलो भने पक्कै छ । तर त्यसको मतलब Contemporary Art आफैँमा सिर्जित र बिना साधना नै यसलाई प्राप्त गर्न सकिन्छ भन्ने चाहिँ पक्कै होइन ।

यो पनि Classical र Modern Art को उपज नै हो । त्यसैले Classical र Modern Art को अध्ययन Contemporary Art को लागि एकदमै महत्वपुर्ण कुरा हो । Contemporary Art को अध्ययन भनेको हाम्रो विकासक्रमको अध्ययन हो । हाम्रो   इतिहासको अध्ययन  हो । बिशेष गरि हाम्रो समाजको अध्ययन हो । सबै कुराहरु समाजमा नै सिर्जित हुन्छन र समाजमै विकास हुन्छन् । तसर्थ अहिलेको समाजको अवस्थाले  कला साहित्य र सिर्जनामा प्रत्यक्ष प्रभाव पारेको हुन्छ र सोही अनुरूप कला र सिर्जनाले पनि समाज परिवर्तन र विकासमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । Contemporary Art एक वर्तमान तथा आजको कला भएकोले पनि हाम्रो जीवन र समाजको एक अभिन्न अंग हो । भोलीको समाज कहाँ र कस्तो हुन्छ भन्ने कुराहरुको धेरै पाटोमा यसले निकै  ठुलो भूमिका निर्वाह गर्दछ ।



तर, विडम्बनाको कुरा समाज र जीवनको पर्याप्त अध्ययन बिना नै हामी यसलाई एक सतही रुपमा मात्रै अङ्गाल्ने प्रवृत्तिले गर्दा आज यसमा पनि धेरै वि विकृतिहरु भित्रिसकेका छन् । यो हाम्रो अहिलेको समाजको प्रत्यक्ष प्रतिबिम्ब पनि हो  । Contemporary Art आफैँमा कुनै पनि नियम, शुत्र तथा प्रतिबन्धबाट स्वत्रन्त्र हुनु यसको प्रमुख विशेषता हो तर यो कहाँबाट आयो र यसको धरातलसम्म पुगेर अध्ययन गर्नु एकदमै जरूरी छ । यहि अध्ययनको कमी नै आजको जीवन समाज र कला सिर्जना बिचको ठुलो खाडल हो । Contemporary Art वर्तमान सिर्जना हो । तर इतिहासदेखि भविष्यसम्म र सम्पूर्ण अरू क्षेत्रलाई पनि समेटी एक नौलो आयाम सिर्जना गर्ने क्षमता पनि  बोकेकोले गर्दा यसको महत्व एकदमै विस्तृत छ र  त्यसैले गर्दा पनि यो अहिले संसारमै लोकप्रिय बन्न पुगेको छ । Contemporary Art हाम्रो अस्तित्वसँग जोडिएको क्रियाकलाप हो । आफैँले आफैसँग गर्ने संवाद  हो । आफ्नो वर्तमान महाशुस तथा भावनात्मक अभिव्यक्ति हो र अन्तरआत्मासम्म पुग्ने साधनाकाे मार्ग हाे ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

जेडी तमु

लेखकबाट थप...

सम्बन्धित समाचार