-सन्दीप महर्जन (फ्रयांकी फ्रेन्ज)

हरेक वर्ष नेपाल संवत् अनुसार गुंलाथ्व पञ्चमी तथा विक्रम संवत् अनुसार श्रावण शुक्ल पञ्चमीका दिन नेपाली समाजमा नाग पञ्चमी मनाइने गरिन्छ। यस दिन विशेष गरी हिन्दु धर्मावलम्बीहरूले नागको पूजाआजा गरी व्रत तथा उपासना पनि गर्ने गरिन्छ ।

यस दिन नेवा: समुदायले पनि नागको विशेष पूजा गर्ने प्रचलन रहीआएको छ । यस दिन, विशेष गरी टौदह र नागदहमा मेला लाग्ने गर्दछ भने उपत्यकामा रहेका विभिन्न स्थानका नागपोखरीहरूमा भक्तजनहरू पूजा गर्ने गर्दछन् । विभिन्न समुदायमा नाग र नाग पञ्चमीको आ-आफ्नै महत्व रहेको पाइन्छ र सोही अनुसार मनाइन्छ । यसैगरी नेवा: समुदायमा नागको पूजा अति प्राचीन मानिन्छ र यसलाई धर्मसँग नजोडी प्रकृति पूजाको रूपमा हेरिन्छ ।

किंवदन्तीका आधारमा महामञ्जूश्रीले विशाल दहको रूपमा रहेको उपत्यकाबाट पानी बगाएको बेलामा आफ्नो बासस्थान बिगारेको रिसमा सो दहमा रहेका सबै नागराज तथा नागरानीहरू पानीको बहावसँगै बाहिर जान लागेका थिए । मञ्जुश्रीले नागराजहरु सो स्थानबाट बाहिर गएमा भविष्यमा हुने पानीको अभाव बुझी, नागराजहरूलाई क्षमा याचना गरी पूजा गरी शान्त बनाइ विभिन्न स्थानमा दह बनाएर स्थान दिएको कथन छ । सोही समय देखि नै उपत्यकामा बसोबास गर्दै आएका नेवा: समुदायले नाग पूजन थालेको विश्वास गरिन्छ ।

नेवा: समुदायमा अझै पनि हरेक घर तथा जग्गामा नागको बास रहेको विश्वास गरिन्छ भने कुनै पनि जग्गामा घर निर्माण गर्नु अघि नागराजको पूजा गर्ने प्रचलन रही आएको छ । यसै गरि घर निर्माण गर्दा, घरको कुनै कुनामा एउटा सानो प्वाल राखी नागलाई स्थान दिने चलन पनि अझै कायमै रहेको पाइन्छ। यसरी घर निर्माण गर्दा क्षमा पूजा गर्नू तथा घरमा नागलाई स्थान दिनुको कारण, उपत्यका प्राचीनकालमा दह भएको र नागहरूको बासस्थान रहेको मानिन्छ । त्यसैले कुनै पनि निर्माण कार्य गर्दा, नागराजको अधिकार रहेको यो भूमिमा क्षमा पूजा गर्ने प्रचलन रहेको मानिन्छ ।

नेवा: समुदायमा नागराज तथा नागरानीलाई वर्षाको कारकको रूपमा पनि पुजिन्छ । नागलाई पानीसँग जोडिने भएकोले कलधारा, ढुंगेधारा, कुवा, इनार आदि सबै पानीको स्रोत रहेको क्षेत्रमा नागको पूजा गर्ने प्रचलन रहेको पाइन्छ । यसै सन्दर्भमा राजा नरेन्द्रदेवको पालामा गुरु गोरखनाथले रिसमा उपत्यकाको सबै नागलाई वशमा पारी आफ्नो आसन बनाइ बसेकाले उपत्यकामा खडेरी परी हाहाकार मच्चिएक थियो । रातो मछिन्द्रनाथलाई उपत्यकामा ल्याइसकेपछि आफ्नो गुरुको दर्शन गर्न गोरखनाथ उठेपछि सबै नाग स्वतन्त्र भएपश्चात् वर्षा भएको कथाहरू अझैपनि सुन्न पाइन्छ । यस्ता कथा किंवदन्तीले पनि नागदेवताहरूलाई वर्षाको कारक मानिने कुरामा अझै बढी बल पुर्याउँछ।

नेवा: समाजमा पुँ (चित्रकार समुदाय)हरूद्वारा बनाइएका हस्तलिखित चित्रहरु मूल ढोकामा गोबरले टासेर दुबो, दूध, पैसा आदि चढाइ पूज्ने चलन रहेको छ । यसरी घरमा नागलाई स्थान दिएमा रोगव्याधी तथा नकारात्मक शक्तिहरूबाट मुक्त हुने विश्वास गरिन्छ ।

हिन्दु धर्मअनुसार ऋषि कश्यपकी पत्नी कद्रुलाई नागहरूको आमा मानिन्छ । यसैगरी अनन्त, वासुकी, पद्मनाभ, कम्बल, शंखपाल, धृतराष्ट्र, तक्षक र कुलिक नाम गरि अष्ट नागलाई पाताललोकको संरक्षक तथा राजा मानिन्छ तर नेवा: समुदायमा भने २१ नागको पूजा हुने गर्दछ।यसै अनुसार यस दिन नेवा: समुदायमा उपत्यकामा रहेका १२ तीर्थको यात्रा गर्ने परम्परा रहेको छ। मञ्जूश्रीले उपत्यका स्थापना गरेपछी १२ महानागलाई उपत्यकाको रक्षा र जलस्रोतको जिम्मा दिएको मानिन्छ र सोही १२ महानागहरु बसोवास गर्ने स्थलहरूलाई नै १२ महातीर्थ मानिन्छ । हाल, नदि तटमा बाटोहरुको निर्माण र नदीहरू फोहोर भएसँगै यो परम्परा पनि लुप्त भएको छ ।

काठमाडौँ उपत्यकामा रहेका १२ महातीर्थहरू:

१. पुण्य तीर्थ, गोकर्ण  : तक्षक नागराज

२. शान्त तीर्थ, गुह्येश्वरी : सोक्षिकी नागराज

३. शंखर तीर्थ, शंखमूल : शंखपाल नागराज

४. राज तीर्थ, सानेपा : स्वरुप नागराज

५. मनोरथ तीर्थ, टोखादुवा : कुलिक नागराज

६. निर्मल तीर्थ, शोभा भगवती: अपलाल नागराज

७. लखु तीर्थ (निधान तीर्थ), कंकेश्वरी : नन्द नागराज र उपनन्द नागराज

८. ज्ञान तीर्थ, बुङ्गमती : वासुकी नागराज

९. चिन्तामणी तीर्थ, टेकु दोभान : वरुण नागराज

१०. प्रमोद तीर्थ, दानगाँ : पद्मधवल नागराज

११. सुलक्षण तीर्थ, भाजंगा : महापद्मधवल नागराज

१२. जय तीर्थ, नख्खु : कान्ति नागराज

यस बाहेक नेवा: समुदायमा कर्कोटक नागराज, शेष नागराज, सत्य नागराज, कर्कोटक नागरानी आदि विभिन्न नागराज तथा नागरानीको पुजा गर्ने गरिन्छ । 

काठमाडौँको संस्कृति र सम्पदाबारे खोजबिन गर्ने सन्दीप महर्जनको फेसबुकबाट। काठमाडौँका चोक, गल्ली, मन्दिर र चैत्यहरू घुमेर यहाँका लोककथा संकलन गर्ने २४ वर्षीय सन्दीप फेसबुकमा 'फ्रयांकी फ्रेन्ज' नाउँले सम्पदा र संस्कृतिबारे ब्लग लेख्ने तथा तस्वीरहरू सेयर गर्ने गर्छन् ।)

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार