विमला तुम्खेवा वर्तमान नेपाली कविताकी सशक्त हस्ताक्षर हुन् । करिब २ दशकदेखि कवितामै साधनारत उनी नारी अस्तित्वको पक्षमा कविता लेख्छिन् ।
कविता सडकमा
रगताम्य भएर उभिएको बेला
मलाई जिन्दगीको गीत गाउन मन लागेको छ
अझ यस बखत
म
संवेदनाको बत्ती बालेर
चिहाइरहेछु तिमी आउने साँगुरा गल्लीहरू ।
मलाई भन्न मन लागेको छ
जीवन-
विरक्त अनुभूतिमात्र होइन
म चेतनाको निम्ति
म निर्माणको निम्ति
यस बखत ध्यानमग्न छु
कहाँबाट आयो
यो अत्यासलाग्दो बुटका पदचापहरू
कहाँबाट आयो यो अत्यासलाग्दो मान्छेका आवाजहरू
मान्छे,
तिम्रै बस्तीमा मात्र किन गाइन्छ मृत्युको गीत
च्यातिएका बिम्बहरू
नमिलेका सपनाका प्रतिच्छायाँहरू
चट्टानजस्तै सपना खसेर
जब आक्रान्त बनाउँछन् मस्तिष्कहरूलाई
म चेतनाको बत्ती बालेर पर्खिरहन्छु तिमी आउने साँगुरा गल्लीहरू ।
भत्किएर गइसकेछन्
मेरो विश्वासका आदिम संरचनाहरू
मेरो लक्ष्यको आकाश
तर पनि,
विश्वासहरु संगाल्दै विचारहरु अँगाल्दै
म पुनः संरचनाका निम्ति
म पुनः निर्माणका निम्ति
पर्खिरहेछु तिमी आउने साँगुरा गल्लीहरू ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...