हाऊ ! बाँच्नु ठुलो कुरो र'छ ।
उहिले एकजना राजा थिए । राजाको एउटी मात्र छोरी । छोरा थिएन । जब छोरीको बिहे गर्ने उमेर भयो । उनले सबै देशको राजकुमारहरूलाई आफ्नो छोरीको बिहेको लागि प्रस्ताव राखे । उनी दुरदर्शी ज्वाइँ चाहन्थे । कुनै देशको राजकुमारले पनि उनको मन भर्न सकेनन् । यो हल्ला गाउँभर फैलियो । गाउँमा एउटा भेडी गोठाला थियो । ऊ पनि राजाकोमा गयो ।
राजाले उसलाई दरबारभित्र बोलाए । उनलाई प्रश्न गरे, यो संसारमा सबैभन्दा परिवर्तनशील कुरा के हो ? गोठालो एकछिन चुप बस्यो । निकैबेर गमेर सानो स्वरमा समय भनेर जवाफ दियो । राजा खुसी भए । गोठालोले राजकुमारी पायो । राजाको शेषपछि ऊ राजा भयो ।
हाऊ ! घाँस काट्दा पनि महला लाउने कस्तो दिन आयो ।
पहिला गोरु जोत्दा बालीलाई असर नगरोस् भनेर महला लाइदिन्थे । आजकल कोरोना नसरोस् भनेर महला लाउँछन । घरै कोरोना वनै कोरोना । घरभित्रकै मान्छेसँग डराउनु पर्ने, सास फेर्नै डराउनु पर्ने कस्तो दिन आयो । हाँच्छिउँ गर्दा बम पड्के जस्तो लाग्छ ।
आरिन्ने ! बाँच्ने त गाउँमै रैछ ।
यसपालि सहर सबै गाउँ पस्यो । खोला उल्टो बगे जस्तो । गाउँमा कोरोना त के कुनै रोगले मान्छे मर्दैन । सत्ते हो । बरू देउता बिग्रेर गाउँ पूरै सोत्तर हुन्छ । सेहे लाग्छ । वायु लाग्छ । सेहे-सेसेहेन्त्र लाग्छ । हर्टएट्याक हुन्न, गाउँमा शिकारी लाग्छ र मान्छे ठहरै जान्छ । गाउँमा सबैभन्दा सजिलो भनेकै मर्नु छ ।
हाऊ ! विज्ञान र आविष्कार भन्नु पनि गोजी तातो हुन्जेलमात्रै रैछ ।
सहरमा गाडी छ । बिजुली छ । हस्पिटल छ । सेवा सुविधा छ । अन्तरिक्षमा मान्छे घुम्नु जान थाले । मान्छेले किड्नी फेर्छन् । सके मुटु टाउको सबै फेर्लान् । तर, सब पैसा हुनेले । नहुनेहरूको त भगवान छन् नि, उनैले हेर्छन् । तर बेलाबेला किन रिसाउँछन् । बर्खामा सधैँ कहीँ न कहीँ पहिरो जान्छ । बाढी जान्छ ।
हाऊ ! विकास पनि छ नि गाउँमा
घरघरै मोटरबाटो आयो ।
बालीलाको खेतबारी भत्कायो
त्यसपछि गाडी आयो
आम्मामा ! आँगनमै हौ रासनपानी लत्ताकपडा
खेतबारी भन्दा सहर पो नजिक भो ।
आरिन्ने सब ठिक छ कि
तर, खेतबारी पो सबै बाँझो भैगयो ।
कसो बाटो भुलेर म फेरि गाउँ आइपुगे । उपेन्द्र दाजु तपाईं बाटो भुलेर भट्टीतिर जानु भो । गाउँमा खुल्ला आखाँले नभएर माइक्रोस्कोप लाएर खोज्दा पनि डाक्टर भेटिन्न । औषधि भेटिन्न । बरू देउता भेटिन्छ हाऊ जताततै । यहाँ ढुङ्गाढुङ्गामा देवताको बास हुन्छ । गीत गाऊ बस् ।
न्याउली रुन्छ बनैमा भन्नु जस्तो पारामा बाहिर न्याउली कराउँदै छ । छानामा भँगेराहरूको च्याँरच्याँर छ । आमा आँगनमा कुखुरालाई चारो दिन तुतुतु आँआँ गर्दै बोलाउँदै छिन् । आमाको एक हातमा मकै छ अर्को हातमा डोको । अब कुखुराहरूले भोकसँग स्वतन्त्रता साट्नेछन् । यतिबेला मलाई नेपाली र कुखुराहरू उस्तै लाग्छ । धत यस्तो पनि सोच्छन् । साइवर सेनाले थाहा पाउलान् । समृद्ध नेपालाआँ ।
धेरै वर्षपछि म
पुग्दा गाउँघर
आफ्नै आँगनले
सोध्यो मलाई
कहाँ जाने हो भाइ
कहाँ हो घर............? (गीत - उपेन्द्र सुब्बा) ।
गाउँ त नौलो भएछ । थकाइ मार्ने चौतारो‚ मूलबाटो‚ गोरेटो सबै रोडले निलेछ । अरू नकुरा गरम् मेरै भुपू मायालुहरू म भन्दा बुढी भएछन् । गाउँमा उमेरको मान्छे नाइँ । बुढाबुढीहरू दिनलाई यसो घिस्याइ टोपल्दो रै'छन् । डाडाँमाथिको घामले बिस्कुन सुक्दैन बाबै । बिजोक छ । अरे बे, भेटिने भनेको मास्टरसापहरू र मसिना नानीहरू मात्रै हो । त्योपनी अलि नहुनेको मात्रै । विदेशमा बुढो होइन् श्रीमान हुनेहरू नानी पढाउन सहरतिरै छन् ।
उहिले उहिले यो पृथ्वी थिएन । आकाश थिएन । हावा थिएन । अरू कुरा धर्मेन्द्र दाजुलाई थाहा छ । गाउँमा चैँ नेट थिएन । दुर्गेश थापाको ख्यास्स पुतली । प्रियङ्का कार्कीले नाइटो र मुखबाट जुस खाइनँ । बच्चा यिनैले मात्र जन्माउन लाइछन् यो देशमा । देशकै एउटामात्र सङ्ग्रौला बाजेलाई बस्नेत दाजुले ङ्यारङ्यर ङुरङुर गरेछन् । सरकार जनतालाई हैन ज्योतिषलाई सफल बनाउन लागेको छ भन्दै कराउँदैछन् नारायण दाजु । गल्फन बाँधेर । हैन गल्फन् छैन । यसपाली चोर औला उठाएको भेष्ट छ । जयसिंह धामी एसएसवीले तुइन काट्दा महाकालीमा बेपत्ता । यी नेट नहुँदा छुटेका कुरा हुन् ।
ए उहिले पोरोक्मा यम्फामीबाले आकाशलाई ताकेर छेलो हान्दा ठुलो गर्जनको साथ पृथ्वीमा ठूला भुकम्पहरू गए । आम्बि ! पृथ्वीमा प्रलय भयो । भिरपाखा पखेराहरू फुटे । ठूल्ठूला ढुङ्गाहरू चोइटिए । उनीहरूकै सन्तानको रूपमा नयाँ ढुङ्गाहरू उत्पन्न हुँदै गए ।
आल्ल ! त्यहीको एउटा ढुङ्गामा तागेर निङ्वाफुमाले पन्छीको सुली र मालिङ्गोको खरानीबाट एउटा आकार बनाए । त्यो आकार नारी रूपमा पहिलो मानब मुजिङ्ना खेयङ्नाको हो । जब उनको उमेर पुग्यो । उनी रूखको ठूलो लामो हाँगाको कापमा सुस्ताउँदै बसेको बेला तागेरा निङ्वाफुमाले सोधुङ लेप्मुहाङलाई वायुबतासको स्वरूपमा पठाए । त्यसपछि मानव सृष्टिको बिस्तार भयो ।
फुगोङ्वा हाल फुँगुवामा इत्तिसिङ् पेरेमसिङको ज्यादै हेमानको रूख थियो । यति ठूलो की त्यसको चार हाँगा चारदिशा उत्तरमा तीब्बत‚ दक्षिणमा मैदान‚ पूर्वमा चङ्टिष्टा र पश्चिममा तेमेन मैदानसम्म फैलिएको थियो । त्यो रूखमा नरभक्षी गिद्धहरू बस्न थाले । यहाँका पोमुहरू फुँगुवा वरिपरि जङ्गल फडानी गरेर बस्ने गर्थे । यतिकैमा गाउँभरिका मान्छेहरू एकएक गर्दै हराउन थाले । सनसनी मच्चियो । खोज्दै जाँदा गिद्धले लगेर खाएको पत्ता लाग्यो ।
गाउँको सबै भद्र भलाद्मी भेला भए । छलफल भयो । आधा मानिसले गिद्ध मार्नुपर्छ भने । आधाले रूख ढाल्ने । अन्तिममा रूख ढाल्ने सहमति भयो । सबै युवाहरू भएजति हातहतियार लिएर रूख काट्नु जान थाले । रूख साह्रै अजङ्गको थियो एकदिनमा काट्नु नसकिने । अचम्म के भो भने उक्त रूख आज काट्यो या जत्रो चोट बनाए पनि भोलि उस्तै हुन्थ्यो । काटेको चोटमा एकतिर दूध बग्ने अर्कोतिर रगत । सबै उपाय खेर गयो रूख ढलेन । उनीहरु थाके । आजीत भएर काट्नै छाड्दिए ।
मान्छेहरू सधैँ हराउने र रूख पनि काट्नु नसकेको कारण गाउँकै सबैभन्दा विद्वान पुङसाहाङ साह्रै चिन्तित भए । उनी सोधुङ लेप्मुहाङलाई सम्झेर ध्यान गर्न थाले । कठोर तपस्यापछि । लेप्मुहाङले पुङसाहाङलाई दर्शन दिए । साथै उनले उक्त रूख आफ्नो आत्मा भएको । पवित्र देवी देवताले बास बस्ने भएकोले एकतिरबाट काट्दा दूध र गिद्धले गरेको पापको कारण अर्कोतिरबाट काट्दा रगत आउने गरेको पनि बताए । काट्नु मिल्दैन भने । आफ्नो वंश र मानव सृष्टि नै लोप हुने खतरा रहेको बिन्ती गर्दै पुङ्साहाङले लेप्मुहाङलाई मनाएरै छाडे । त्यसपछि लेप्मुहाङले पुङ्साहाङको श्रीमतीको कोखबाट जन्म लिन्छु । जन्मेको चारदिनमा न्वाउरान गर्नु । त्यही दिनमा सुत्केरी आमाले तापेको आगोको खरानी मेरो हातमा छुवाएर काटेको ठाऊँमा छर्किनु । रुख जोडिँदैन भने ।
पुङ्साहाङको श्रीमती गर्भवती भई । जब महिना पुग्यो । गाउँमा बचेका युवाहरू फेरि भेला भए । भएजति सबै हातहतियार लिएर । जब बच्चा जन्मियो उसकाे नाम पोमू केछाङ राखियो । न्वारानको दिन लेप्मुहाङले भनेजस्तै गरेर रूख काट्न शुरू गरे । काटेर खरानी छर्किए । भोलिपल्ट डोव उस्तै थियो । निकैदिन मेहनत पछिमात्रै रूख ढल्यो । ढल्दा संसार हल्लाउने आवाज आयो तर रूख भुइँमा पछारिएन । बरू आकाशमै जलेर खरानी भयो । त्यसपछी गिद्ध भाग्यो । भागेर मुयालुङ्ग पुग्यो।
यो लकडाउनमा वोजुले सुनाएको हाम्रो गाँऊको कथा हो । कथा यतिमा सक्किन्न ।
पोमूहरूले गिद्धबाट छुटकारा त पाए तर दुःख विराम हुन कम भएन । गिद्धले मान्छे ल्याइ खाने हुनाले धेरै मान्छेहरू त्यो ठाउँमा अकालमा मरेका थिए । उनीहरूको हंस सेसेहन्त्र भएर जाग्न थाल्यो । त्यसको अन्त्य अन्य कहिको विजुवा फेदाङ्वाहरूबाट सम्भव भएन । पछि पोमु केच्छाङमा बिजुवा उत्पत्ति भएपछि मात्र सेसेहन्त्रको ठाउँ पत्ता लाग्यो । उनले जोखानामा पेरेमसिङ ढाल्नु भन्दा अगाडि अकालमा गिद्धले मारेको आत्माहरू सेसेहन्त्र भएको पत्ता लगाए ।
उनले सेसेहन्त्र मार्न आवश्यक थान थपना बनाए । आफ्ना समानहरू पहिरी थाल बजाउँदै मुन्धुम फलाक्न थाले । उनी पेरेमसिङ भएको ठाउँमा आठ फन्का घुमे । त्यहाँ भैसीँ आकारको चारखुट्टे वस्तु पो देखा पर्यो । त्यसाई खेदाउँदै जाँदा तमोर काबेलीको दोभानमा पुगेर अजिङ्गरमा बद्लियो । अझै लखेट्दै जाँदा सप्तकोशी पुग्यो । फेरि रूप बद्लेर अलप भयो । केच्छाङले फेरि मुन्धुम फलाके । त्यो फुतली भएर अप्ठ्यारो भिरमा लुकेर बसेको पत्ता लाग्यो । उनले मार्नुलाई बान हान्नु लाग्दा “मलाई नमार्नु । बरू मलाई पेरेमसिङ भएको ठाउँमा बेलाबेला खान दिनु । म गाउँघरमा आउदिनँ ।” भनेर बाचा कसम खायो । अहिले परमसिङमा मन्दिर छ ।
बोजुको कथा सकियो । सबुको सानो छोरी म पढ्दै गरेको कोठामा आई । म इन्द्र बहादुर राईको प्रतिनिधि कथाहरु पढ्दै थिए । बिसाए । उसले मेरो हातको किताब तानी । मैले चस्मा भएको कभरको फोटो देखाएर भनेः नानी यो को हो ?
उसले ठूलो स्वरमा “बाब्बा” भनी ।
इन्द्रबहादुर राईको खिर पढेपछि माथिको कथाहरूमा गम खाएँ । गोठालाको समयसँगै बग्नु सकिएन भने बेपत्ता होइन रैछ । हाऊ ! जुग जमाना अनुसार चल्नु जान्नु परो । हाम्रो प्रचण्ड काकाहरुले दशवर्ष दिनरात गरेर लडे । सत्रहजार मान्छेहरु मरे । अरू दलहरूले पनि सघाए । एउटा ठूलो रूख ढल्यो । गिद्ध उडेर नागार्जुन जङ्गलमा बसेको छ । कथा सिद्धिएन देशको दुःख विराम उस्तै छ । सेहे-सेसेहन्त्र‚जागित्राको बिगबिगी छ । यिनीहरूले रूप परिवर्तन गरिरहन्छन् ।
एकजना साथीले कोरोनाको खोप लाउने भए आउनु भनेर फोन गरे । मैले यो उमेर समूहमा म पर्दिन भने । स्वास्थ्यको सरले हाम्रो मान्छेको लागि केही खोप छुट्याउनु भएको छ मिलाएर लाउनु पर्छ भने । मेरो आत्माले मिलाउनु मानेन् । म गइनँ । देशले खोप किनेन् । बरू कसैले दिन्छ कि भनेर आशले हातमात्र थापिरह्यो। अरूले दान दिएको खोपहरू पनि अजकल होटलहरूमा‚ चियाघरमा अस्पतालमा भन्दा धेर भेटिँदैछ । आइवी बाजे भन्नु नहुने देशमा हेरिनसक्नुको “आज रमिता छ” । नेपालीहरू अस्पतालको भन्दा धेरै पशुपतिनाथको भरोसामा बाँच्दैछन् ।
बाँच्नु मात्र पर्छ यो फुटेको आखाँले के के मात्रै देख्नु पर्छ भन्छन् बुढापाका । अझै केके देख्नुपर्ने हो । सम्झिँदा पनि उदेकमात्र लाग्छ । अब भो नकुराअरम नागरिक मात्र भएर बाच्नु गाह्रो छ देशमा । गाउँको झन् के कुरा । सुन्दर दाजु भन्छन्, कविता त गाउँमै छ । कथा पनि पो र'छ त । गीत पनि रैछ । झुमा दिदी एक्लै गाउँ जान्छिन् । यसरी डिक्रा वादीलाई खोजेर ल्याउँछिन् ।
ए! बउजु
दाइका भैसा बाउ गोठाली ए बउजु
रानी वन लाएका
ए! बउजु
दुई दिन कसरी काटौँ ए बउजु
मेरा भाग लाएका......!
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...