स्वप्निल स्मृति बहुचर्चित समकालीन कवि हुन् । सीमान्तकृत, आदिवासी, अल्पसंख्यक आदिको सांस्कृतिक-सामाजिक पहिचानबारे प्रखर कविता लेख्ने स्मृतिका 'रङ्गैरङ्गको भीर' र 'बाडुली र सुदुर सम्झना' कवितासङ्ग्रह प्रकाशित छन् । आदिवासी दिवसकाे अवसरमा उनले सामाजिक सञ्जालमा राखेकाे प्रस्तुत कविता हामीले यहाँ साभार गरेका छाैँ - सं. ।
तीन हजार वर्षपछि
मेरो नातिको कोखमा पुनर्जन्म लिएको हुँ
म हुँ यलम्बर
यो मुलुकको प्रथम राजा
तिम्रो गणतन्त्रमा विना श्रीपेच उपस्थित छु ।
यो प्राचीन नगरीमा
प्रथमपल्ट मान्द्रोको दरबार मैले बुनेको हुँ
कुनै आदिम समयमा विष्फोट भएको यो उपत्यकामा
पानीको मुहान मैले पत्ता लगाएको हुँ
गाईको थुनमा झुण्डिरहेका मानिसहरूलाई
मानिसको दूध पिउन
यो काठामाडौँमा मैले नै सिकाएको हुँ ।
म हुँ यलम्बर
न कुनै हत्या
न कुनै कारावास
न कुनै अपमान
एक जुनी स–सम्मान शासन गरेर
यो मुलुक/यो चार भन्ज्याङ/यो साङ्ग्रीला
जन्म हुन बाँकी मानिसहरूलाई छोडिदिएर
तीन हजार वर्षअघि
स्वायक्त मृत्यु राज्यमा निर्वासित भए पनि
मायाले प्रेमले
बेला बेला म आइरहन्छु ।
म आएँ, राजा हुन नक्कल गर्नेहरूले
मेरो आँखा फुटाए
जिब्रो थुते
विश्वयुद्ध लड्न पठाए
म आएँ, मरेका या मारिएकाहरू
आउन नहुने यो मुलुकमा
फेरि म राजा हुन आएको आतङ्क फैलाए
कयौँचोटी आधुनिक दरबारका बगैँचामुनि
जिउँदै गाडे मलाई,
तर म फुलिरहेँ रङ्गीविरङ्गी फूलहरूमा
इन्द्रेणी गेट टाँगेर
नयाँनयाँ वसन्तलाई स्वागत गरिरहेँ ।
म यलम्बर
तिम्रो लोकतन्त्रमा फेरि आएको छु
यो राजधानीमा
म आएको छु र अफवाह फैलिएको छ
कि यलम्बर फेरि राजा हुन आएको छ
तर हिउँदे झरीले चुटिरहेको महाराजहरुका सस्ता शालिक देखेर
या त प्रत्येक मसलाका रूखहरूमा
शुक्रराज शास्त्रीहरू अझै जिउँदै झुण्ड्याइरहेको देखेर
मलाई भने राजा हुन रत्तिभर मन छैन ।
हारेका या हराइएकाहरू
मरेका या मारिएकाहरू
आउन नहुने नियम बनाउने
हजार जुनीसम्म यहीँ मुलुकमा जन्मन पाऊँ भनेर
श्री पशुपतिनाथसँग बरदान माग्ने ए आधुनिक शासकहरू !
एक स्वशासित नागरिक भएर
म प्राचीन राजा यलम्बरले बाँच्न पाउने कि नपाउने ?
म हुँ यलम्बर
मेरा सन्ततीहरूको कोखमा
हजारौँ वर्षसम्म मेरो पुनर्जन्म भइरहनेछ !
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...