झापाकी कवि दिपा मेवाहाङ राई वर्तमान नेपाली साहित्य फाँटमा सचेत र श्रमजिवी स्रष्टा हुन् । उनका संयुक्त कथा संग्रह ‘छकालै’ र संयुक्त कविता संग्रह 'इतर आवाज’ प्रकाशित छन् । इतर आवाज साहित्य अभियानका सदस्य समेत रहेकी उनी आख्यानमा समेत उत्तिकै सशक्त ढंगले कलम चलाइरहेकी छन् । भूतपूर्व नर्स समेत रहेकी राई हाल कोरियामा छिन् । 

हिँड्दाहिँड्दै बाटो बिर्से जस्तो
बग्दाबग्दै पानी जमे जस्तो
सुदूरमा छुटेको केही अनुहार जस्तो
अल्जेमियाको बिरामीले केही सम्झेसम्झे जस्तो 

त्यसरी नै आउँछ कहिलेकाहीँ 
र हिर्काइराख्छ  मुटुको देब्रे पाटामा
चर्काइदिन्छ भावनाको बेगहरू
बल्झाइदिन्छ बिगतका यादहरू
उप्काइदिन्छ स्मृतिका पानाहरू
बिचलित बनाइदिन्छ मनहरू 

न झिकेर फ्याल्न सक्छु
न जतनले सुमसुमाउँदै अँगालोमा बाँध्न
न मेरै हो भनेर दाबीका साथ हक जताउन सक्छु
न मेरो  होइन भनेर जिकिर  गर्नसक्छु
सक्छु केवल महसुस गर्न तिम्रा स्पर्शहरू
आँखाहरूलाई भ्रमित पारेर
कल्पनाको सागरमा डुबुल्की  मार्न सक्छु 

जसरी बाडुलीले अन्तिम हिक्कालाई सम्झिन्छ
प्यासले पानीको अन्तिम थोपालाई सम्झिन्छ
पुतलीले लाभाको स्वरूप  हुनु अघि आफूलाई सम्झिन्छ
त्यसरी नै सम्झनामा आइरहन्छ 

तिमीलाई सम्झिरहन धेरै कारणहरू छन्
जस्तो कुराकानीको एकएक वाक्यहरू
एकार्काको हातको स्पर्शहरू
बारबार चुमिरहने तिम्रो चुम्बनको दागहरू
यावत् छन् तिम्रो सम्झना आइरहने कुराहरू 

यो  पृथ्वी  घुमी रहन्छ
समय दौडी रहन्छ
दौडिएर आफू हुनुको भाव जताई रहन्छ
भित्ताको पात्रो महिनै पिच्छे बद्लिरहन्छ
र नयाँ आगमनको आभाष दिइरहन्छ
पृथ्वी, समय, पात्रो जसरी 
आफूलाई घुमाउन सकिन
तिमीले कोरेको त्यो  सीमाभित्र यसरी 
बाँधिएको रहेछु कि म 
वर्षौं बितिसक्दा पनि आफूलाई  
सीमा बाहिर निकाल्नै सकिन

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

दिपा मेवाहाङ राई

लेखकबाट थप...