२०२८ साल आश्विनमा जन्मिएका सुदीप पाख्रिन धरानमा बस्छन् । उनका आदिम मौनता र दगुरी हिँड्ने चौबाटो (कविता–सङ्ग्रह) प्रकाशित छन् । कलरव धरानका संस्थापक सदस्य तथा कृष्ण पाख्रिन प्रतिष्ठान, धरानका संस्थापक सदस्य रहेका पाख्रिन कृष्णभूषण बल युवा सिर्जना पुरस्कार, २०७५ बाट सम्मानित छन् । 

१. बोध तीन

भुइँमा नखस्दै
एउटा बालकको हातमा 
कैद भएको एउटा चङ्गा 
हावामा निर्बन्ध निश्चिन्त कावा खाँदै 
खस्दै गरेको एउटा पातलाई हेर्दै भन्छ, 
“कहाँबाट पायौ यो निश्चिन्तता
कहाँ पाइन्छ यो उन्मुक्तता ?”

२. बोध छ

व्यर्थै हो 
यो ‘मेरो दुःख’ भन्ने कुरा पनि....

लकडाउनको साँझ थियो
एक्कासी कालोमैलो भएर आयो वातावरण
हावाहुण्डरी चल्न थाल्यो 
गर्जिएर पानी पर्यो
टिनै कुच्चिने असिना पनि झर्यो

भर्खरै 
जीवनको खोजमा 
सैयौँ माइलको यात्रा गरेर 
एक हुल चराहरू उडिगएका थिए
सकुशल घर पुगे, पुगेनन्....
बाँकी परिवार सकुशलै भेटेँ भेटेनन् ?

घरमै सुरक्षित जो छुँ.....

सोँचिरहेछु....
बेफ्वाँक नै हो 
यो ‘मेरो दुःख’ भन्ने कुरा पनि.....

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सुदीप पाख्रिन

लेखकबाट थप...