दमक झापाका स्थायी बासिन्दा ज्योति भट्टराई सञ्चारकर्मी तथा सशक्त कवि हुन् । कविताका अलावा गजल, रूबाई तथा समसामयिक विषयमा समेत उनले कलम चलाउँछन् ।

सिंहदरबारको आँखाको
गरिबी निवारणको लम्बरेखा
उसको ठीक दुई हातमाथि भएर
उसलाई नभेटी जान्छ निरन्तर

यत्तिखेर
खोजेकै खबर नभेटेपछि
रिसले कच्याककुचुक बनाएर फालेको
पुरानो अखबारको डल्लोजस्तो
अनुहार लिएर
पानीले हतारमा दौड्दा
बगरमा बनाई छाडेको
पाइतलाको आकृति थप्दै
झन्डै अस्थिरपञ्जर जस्तो देशको मानचित्र बोकेर
जीवन्त कलाकार आफ्नै सुरमा उभिरहेछ
सरकार...... जर्तिलाल बल्छी थापिरहेछ !

तिम्रो उच्च बौद्धिकता मिश्रित
गरिबी निवारणका उपायहरू भएर
ऊसम्म आउने
हावाका झोकाहरूलाई
ठीक दुई चिरा पार्दै
तिम्रो वक्तव्यलाई
निरन्तर बेपर्वाह
सुँघ्दै फ्याँक्दै गरिरहेछ
सरकार...... जर्तिलाल बल्छी थापिरहेछ !

उसको ईश्वरले
ज्ञान भनेर दिएको टाँगो
उमंग भनेर दिएको मेलाका रौनकहरू
र सरदर सपनाहरू, खटिया
अनि
आफ्नै सिलको चटनी,
डबका भएर आउने गहिरो निन्द्रा काटिरहेछ
र हरेक समयका गर्मीहरूलाई
एक हातले टाँगो
र अर्को हातले पानी उचाल्दै
कानसम्म फ्याँकिरहेछ
सरकार..... जर्तिलाल बल्छी थापिरहेछ ।

उसको निधारका रेखाहरू
उमेरका कथाहरू हुन्
भन्दा अलि पर उभिएका
सानो टाँगो र लोथाहरू
पारिवारिक तथ्याङ्क हुन्
तिमीले महलभित्र बनाएका
चार्ट र रेखाचित्रहरू
कहिल्यै उसको वास्तविकता हुन सकेन
र ऊ यो बगरमा 
निरन्तर समयको मूर्ति भएर ठडिरहेछ
सरकार, जर्तिलाल बल्छी थापिरहेछ !

आफैँ दुःखी छौ तिमी
अरूलाई के खुसी दिन सक्छौ सरकार ?
आफैँ दरिद्र छौ
अरूलाई के सुख दिन सक्छौ सरकार ?
उसको पूरै शरीर
यहीँको माटो गन्हाइरहेछ

पूरै आदिवासी रूख
निरन्तर उभिएर
झण्डै आधा इतिहास पार गरिरहेछ
सरकार, जर्तिलाल बल्छी थापिरहेछ ।

गाँठी कुरा नि सरकार
आजसम्म उसले नागरिकता पाएकै छैन ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

ज्योति भट्टराई

लेखकबाट थप...