साहित्य लेखन तथा निर्देशन मा उदयमान नाम हो अमित पोख्रेल । नवलपरासी घर भइ हाल केन्द्रमै रहेर विगत ८ वर्ष देखि लेखन तथा निर्देशन कर्म गरिरहेका छन् । उनकाे योर मेजस्टि गभरमेन्ट, लेट द फकिङ् साइलेन्स स्पिक फर मि र अदर प्रोस पोएम कविता संग्रह अमेजन डट कममा प्रकाशित छ । 

जीवन, एक काव्यपुञ्ज यदि हौ भने
तिमी, जिउनुको बुझाई,
अर्थ-
एक श्रेष्ठतम् नवीनता
कतै टाढाका, तारापुञ्जबाट क्षितिजसम्म खसिरहेकी.....
प्रकाशकोषिका, लहराइरहेकी शीखा

मौनताका कुचीहरूले पोतिएका,
क्यानभासमा फिजिएका एब्स्ट्रयाक्ट स्ट्रोक्सहरू
भ्रामक, तिम्रो पोट्रेट
चुचुरा, भञ्ज्याङ र स्निग्दताका तिम्रा लहरहरू
लहलहाउँदै बगिरहेको तिम्रो केशमा
अडिरहेछन्, पगालिरहेछन्
वर्षाइरहेछन्, गृष्मबाट झरनाहरू !

पुष्पपुञ्ज तिमी,
वेदनाको,
भावनाको,
रहरको,
आवेगको,
माया अनि प्रेम
तिम्रै छाँयामा निर्लिप्त भएका चाहाना !

रंगहीन या श्यामश्वेत ?
मनको धुमिल पर्दामा
पुष्ट यौवनसँगै,
चलमलाइरहेका तिम्रा बाहुहरू
प्रकाशको पहाड लिई
मलाई अलमलाउँछन्
लाग्छ-
म जलिरहेछु, या मेरो मन !

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

अमित पोख्रेल

लेखकबाट थप...