त्यसले आफ्नो अनुहारको छाला छिल्यो ।
अनि.......छोपी दियो,
भुइँको अनुहार ।

अचानक भुइँको ओठबाट निस्कियो
बराजुको पुरानो लोक गीतको धुन ।

गीतको नङग्राले कोतारी दिन्छ
कुरूप अनुहार ।
भुइँमा फुट्नु थालेपछि नै,
उम्रन्छ संविधानको दाँत ।
अनि
त्यही दाँतले त चपाउन थाल्यो 
हाम्रो अस्तित्वको फल मासु ।

हजारौँ सपनाहरू झुन्डिएर मरेका छन् ।
बाघपुलमा ।
त्यो बाघपुलले नै त,थामी रहेका छन,
हाम्रो विचारको भारी......!

त्यही पुलको छातीमाथि टेकेर,
उर्ताछन् पर्यटकहरूले हाम्रो आडम्बरको
नक्सा ।
टिस्टाको पानीले त बोकेका छन्
अलिकति आध्यात्मिक चेतना ।

हे.......! पारूहाङ हामीलाई हिमाल सम्म 
पुग्न सक्न सिँढी बनाइदेऊ ।

पैसा फल्ने  बोटसरह,
सुकेर नजावोस् सुम्निमाको सपना ।
यदि सक्छाै भने
फर्काइदेऊ हाम्रो जोवानका रंङहरू......

अब हामी हाम्रो
आन्द्रामा झुन्डिएर आत्मा हत्या गर्न बाध्य छौँ ।

हाम्रो आन्द्रा तिमीलाई पतलुङको ।
इन्जार त भो ?
आन्द्रा सुक्नु नै तिम्रो संवेदनशील
प्वालहरू देख्नु हो।

भुइँको अनुहारमा तिमी देख्छु ,
तर................,
तिम्रो अनुहारमा भुइँ किन देखिन्न ?           

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सूर्य राखली 'डुवर्स'

लेखकबाट थप...