तीनधारे, नयाँकमानका मिलन प्रधान प्रतिभावान कवि हुन् ।
चार पाँच सालमा नै
धेरै कम्पनी, धेरै ठाउँ
चाहार्यो उसले ।
कहिले सेल्समेनेजर
कहिले कूक
कहिले म्यानेजर
कहिले सूपरभाइजर
कहिले रिसेप्सनिस्ट
कहिले वाचमेन
कहिले वेटर !
काम फरक
दाम एउटै
मालिक फरक
व्यवहार एउटै
कम्पनी फरक
टाईम एउटै।
सण्डेबाहेक अर्को
होलिडे छैन उसको
अरू त अरू
आजसम्म मे डे समेत छैन उसको
मिनरल वाटरको बोतलमा
कुवाको पानी भरेर
सहरको गल्ली गल्ली
चाहार्यो, चाहरिरहयो
अलिकति
उसलाई पुग्ने खालको शीतल खोज्दै
जहाँ पनि बाहिरको गर्मीभन्दा धेरै
बेरोजगारीको तातोले पिल्सायो उसलाई
यतिञ्जेल
उसले धेरै देख्यो
यतिञ्जेल
उसले धेरै सिक्यो
हिन्दी, अङ्ग्रेजी, टुटेफूटेको बंगला सिक्यो
अलि काले काले भयो
अलि बाठे बाठे भयो
घर भाडा, बत्तीको बिल, रासनपानी
कामदार देखिनलाई नयाँ, राम्रै प्यान्ट-सर्ट, भेष्ट-जुत्ता
रिक्सा भाडा, अटो भाडा
मोबाइल, केबल रिचार्ज
महिनाको तलब
खाँदा, बस्दा, हिँड्दै ठिक्क ।
अर्को साल
अझ अर्को साल
एकपछि अर्को बहानाले ढाँटिरहेछ
विचरी उसलाई पर्खिबस्ने उसकी सानीलाई
जोरीपारीको नजरले डामिनुभन्दा
आफ्नो निम्ती आफैँ बोझ बन्नुभन्दा
आमाले कतिचोटि
काम छोडेर आइज भन्दा
आमालाई फोनमा नै भन्छ सधैँ उसले
"चियाबारीमा भन्दा आमा ! यतै ठिक छ।"
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...