२०२८ साल आश्विनमा जन्मिएका सुदीप पाख्रिन धरानमा बस्छन् । उनका आदिम मौनता र दगुरी हिँड्ने चौबाटो (कविता–सङ्ग्रह) प्रकाशित छन् । कलरव धरानका संस्थापक सदस्य तथा कृष्ण पाख्रिन प्रतिष्ठान, धरानका संस्थापक सदस्य रहेका पाख्रिन कृष्णभूषण बल युवा सिर्जना पुरस्कार, २०७५ बाट सम्मानित छन् ।
एउटै बाटो भएर पुगिन्थ्यो
मन्दिर र मावल पहिले
जहाँ.............
मन्त्रोच्चारण गरेझैँ पण्डितले
सुनाउनुहुन्थ्यो परीकथाहरू मामा,
घण्टीझैँ बज्थ्यो
पुरानो खोकी हजुरआमाको
र, फैलन्थ्यो धूपको सुगन्धझैँ धुवाँ
उहाँको चुल्हाबाट पूरै घरमा
एउटै जस्तो लाग्थ्यो
मस्जिद र मावल पहिले
जहाँ............
सखारै कुनै मौलवीले एकसुरमा
बडो सुरका साथ आजान गाएझैँ
लाग्थ्यो हजुरबुवाको हप्काई पनि
र, लागिरहन्थ्यो कि दोहोर्याई रहूँ
ती केटाकेटी गल्तीहरू बारम्बार,
सफा हृदयका साथ एक धुनले नमाज पढेझैँ
चलिरहन्थ्यो सानीमाहरूका हातहरू
सफा भइरहन्थे भाडाकुँडा, कोठा, बरण्डा र पूरै वातावरण
हुबहु एकै देखिन्थे
चर्च र मावल पहिले
गुरुद्वारा र गुम्बा पनि चुपचाप आएर
थपक्क बसेझैँ गर्थ्याे मावलमै
जसको छानामाथिबाट शुरू हुने इन्द्रेणी
झनै रङ्गीन हुने गर्दथ्यो
अझै सुरिलो लाग्थ्यो
जहाँको झ्यालमा चढेर गाउने कोइली पनि
जहाँ त शत्रुहरू नै पनि
मित्रहरूभन्दा बढी मित्र लाग्थे
जो नगिचै रहेर सुमधुर सम्बन्धको कुनै सुरिला रागहरू गाइरहन्थे
साँच्चै नै
उस्तै थिए मावल र दुनियाँका प्रत्येक सुन्दर कुराहरू पहिले
उस्तै छन् मावल र दुनियाँका हरेक पावन कुराहरू अहिले
एउटै बाटो भएर पुगिन्छ
मन्दिर र मावल अहिले पनि
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...