पान्थर जिल्लाको याम्बोङमा जन्म भई सोही क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएका लेखक मलिसा याक्थुङ्बा (महेन्द्रकुमार नेम्वाङ) लेखन सम्पादनका अलवा शिक्षण क्षेत्रमा संलग्न हुनुहुन्छ । लेखक याक्थुङ्बाका पछिल्ला कृति 'केयुक्ना नु आयुक्ना' (निबन्ध संग्रह २०७७), 'युप्पारुङ ' (कथा संग्रह २०७६), 'विद्वान रनध्वज नेम्वाङको जिवनी २०५६', 'खामाक पाङभेरेन् तुङहा' (नाटक २०५८), 'याक्थुङ पान्दाङरेन निरेङ' (२०५९ )लगायत दर्जन भन्दा बढी पुस्तकहरू' प्रकाशन भई सकेका छन्। बहुआयामिक व्यक्तित्वका धनी याक्थुङ्बाले 'पकन्दी' , 'युगान्तर सन्देश', 'सुमहात्लुङ' लगायतका पुस्तकहरु सम्पादन गर्नको साथै 'मसेमि', 'नुमाफुङ' लगायतका चलचित्रहरूमा अभिनय समेत गरेका छन् ।
‘एहेम गिर्लिङ् दार्जिलिङ्
दार्जिलिङ् ज्यानको घुमपहाड
घुमपहाड छेउछेउ शाहारे
एत्ता आउन नाहारे
हाराका थोले, के बोले’
ग्रहदशा नाघेझैँ दिन, महिना, वर्षहरू नाँघ्छन्, पिएको खुसीमा काल्लीघरे माइलाले । उनी जन्ममा माइला र गल्लीकै छेउमा घर भएकाले गल्लीघरे (काल्लीघरे) भनिएको हो, दौँतरी साथीहरूले । सानैदेखि उनको सपना छ । गाउँमा धनी भएर बस्ने अनि कुशल व्यवहार चलाउने महत्वाकांक्षा ।
नौ दश वर्ष साना छँदा प्राथमिक शिक्षा लिएपछि वयस्क उमेरसम्म आइपुग्दा माध्यमिक शिक्षा लिन सक्दैनन् । याक्थुङ् समूदायमा तेसबेला धान नाच्न, गोठाला जान, हलो जोत्न र खेताला जान नै मनोरम हुन्थ्यो । एकदिन सुरीखावामा हलो जोत्न हिँड्छन्, काँधमा हल्लुँड सिउरेर । एककाँधमा हलोसँगै जुवा, जोथाराले बाँधेर भने अर्को काँधमा कोदालो पनि । गोरु खेदाउँदै खेतमा पुग्छन्, टन्टलापुर बैसाखे घाममा । एकछिन नबसी गोरुहरू नाहार्छन् । अब हलो अड्काउने बेलामा हल्लुँड छैन । उनले जुवामा सिउरेको जस्तो मात्र सम्झना आउँछ । काँ राखे, बोके, याद छैन । खोजे, गोठमा । सारा सम्झँदै खोज्छन् । भएन, गोरुहरूलाई फुकाएर बाटामा खस्योकी भनेर घरतिरै उकालो लाग्छन्, हल्लुँड खोज्दै ।
बाटाहरू सबै नियाल्दै घरमा आमा, भाइहरू भएपनि कसैलाई नसोधी घरको सिरानतलाको छाना सबै चहार्छन् । सिकुवाका छाना हेर्छन्, गोठहरू चहार्छन् अनि ऊ बस्ने कोठा समेत पनि । व्यस्त खोज्छन् । आमाले सोध्छन् ‘क्या खोज्याको तुइँले । आघीतेखि खोज्याको खोज्याकै छस् हाँ ।’ जवाफ दिँदैन काल्लीघरे माइलाले र कहीँ भेटेन हल्लुँड । ‘खुइँय’ गरेर हत्तारले फर्कन्छन् गोठतिर ।
टन्टनी घाम, औलको । पसिनाले जीउ निथ्रुक्क । गोठपुग्दा गोरुहरू खेतमा मनग्गे चर्दैछन् । गोठमा नबसेर गोरुहरू चरेको नजिक सिँवाली रूखको छहारीमा सियाँल बनाएर बस्छन् र भित्तानेर ठेस्सिन्छन् । यसरी ठेस्सिँदा केकेले नै केकेले हो कान पेलेर ठेल्दै आउँछ, दुख्नेगरी । ‘आरे केले पो कान पेलेर आयो हौ, ज्या...ठो ...’ भनेर यसो हेर्दा त तै दिनभर खोज्दै गरेको हल्लुँडले पो ठेल्दै आउँदै रछ । रिसले आँखा देखेन । रिङ् चल्छ । हुनु त उनले शुरूमै काँधमा सिउरेको बिर्सेछ क्यार बोकेर औल झरुन्जेल सम्ममा । बाटामा विभिन्न मनहरू खेल्छन्, दौडन्छन् अनि पालामा गाउँदा । हल्लुँड काँधबाट निकालेर खुकुरी थुत्दै आलीमा राखेर ‘यो ज्याँ..ठा.. लाई’ भनेर के काट्न खोजेका थिए । झट्ट सम्झना आयो पुराना इतिवृतिहरू ।
‘जुरेलीका बच्चाहरू भोगटेको रूखमा बस्दैगर्दा मार्न गएका थिए र अब मरिस् भनेर हाने । गोली बत्तिएर एकतिर, बच्चाहरू सबै उडेर गए । बच्चा नमारेकोमा रिसले लाबरको गुलेलीनै काटि पठाए र पछिसम्म गुलेलीविहीन भए । एकपटक बाख्राको घाँस काटेर उकालो केही हिलो–हिलो बाटोमा आउँदै थिए । हल्का हिलोमा चिप्लेर गतिलै आकारमा लडे, चप्पलले गर्दा । रिसले त्यो चप्पल पनि च्वाट्टै काटी पठाए र पछिसम्म चप्पल किन्ने पैसा नभएर खाली खुट्टामा हिँडेको पीडा ।’
सम्झन्छन्, एकामुष्ठ । ‘आरे हाउ, हुन्देना ज्या...ठा ... फिरी–फिरी पिनि जाहिन्छ । साह्रै रिस उठ्यो फने काटि पठाउँछुङ् पो । आरेन्ने’ भनेर उचालेको खुकुरी झारेर दाबमा हाल्छन् । हल्लुँडलाई थुक्दै गोठको छानामा देख्ने गरी सिउरिन्छन् । समय खाजाखाने बेला भै सकेको थियो । गोरुहरू फर्काएर घरमै लग्छन् ।
जीवनको यौवनावस्था काट्दैछ । फागुन महिना, हेलाङ्को इन्द्रेणी मेलामा धाननाच्न साथीहरु कुधाम्बो र तालाङ्धोहरूसँग जान्छन् । रात पेट्रोलमेक्स्को उज्यालोले बजार चम्केको छ र बजार रन्केको छ, पालाम गाएर धाननाच्नेहरूको । कुनै जुवामा मार्रा, डाइस थिरेल–चौरेल आदि असीमित आवाजहरूले । बजारमा पुगेर तलमाथि घुम्दै थिए । डिलमा माथि उभेको काल्लीघरे माइलाको सुरुवाल तालाङ्धोले डिल उक्लँदा सपोर्टका लागि केही तानेको मात्र थियो । इँजार चुडेर गर्लम्मै झर्छ । विचरा, सुरुवाल लाउँदा कट्टु लाउन बिर्सेछ क्यार । दुनियाँमा आबरु प्रदर्शित हुन्छ अचानक । हतारले सुरुवाल माथि तानेर ओरालो कुद्छ, विचरा । इँजार, कपडाको भए चुडिन्नथ्यो होला तर उनले सजिलोको लागि बलको ब्लडर इँजार बनाएर हालेको रैछ, इलाष्टिक जस्तो । अञ्जानवशः सुरुवाल तानेर खुस्केका कारण नाधामा (अवगाल) भएपछि घर सबै फर्कन्छन्, कुधाम्बो, तालाङ्धो र काल्लीघरे माइला ।
एकदुई दिनपछि सुरीखावामा गोठ वस्छ । त्यहाँ पनि आफ्नो तुम्बा तेम्भोसेको घर नजिक भएर । जेठ महिना, औँशीको दिन । तुम्बाका छोरा एक्लेसँग पाहा मार्न फेञ्चे र निभ्रुङ् खोलामा राती जाने सल्लाह गर्छन् । बाँसको राँको बालेर लाग्छन्, बेलुका खाना खाएर । टिलपिल राँकोको प्रकाश, फेञ्चेखोला हुँदै निभ्रुङ्खोला पेलेर उकालो लाग्छन् । पाहाहरू समात्दै सिल बनाउँदै । अलिक मास्तिर के पुगेको थियो । तुम्बाको छोरा एक्लेले चिउरीको टुप्पो हेरेर नाँके–नाँके बोल्छ । ‘हाँउँ माँइलाँ मुन्धुम् कँड्कँड् ।’ काल्लीघरे माइलाले ‘आलेन्ने क्याको मुन्धुम कर्नु हाउ, बाहा चैं समातुङ्ना ।’ ‘अँडेँ, अँडेँ, मुन्धुम् कँड्न’ भन्दै आकाश हेर्छ, एक्ले । हुनु त सानो दहभित्रको गँगटा पनि जाँतो जत्रो देख्छन् । गडेडाहरु पनि सर्पजत्रो देख्छन्, अचम्म त लागेकै थियो । यत्तिकै मास्तिर के बढ्दै थिए । चिउरीको टुप्पाबाट केके हो केके गल्र्याम्म दहमा खस्छ, अजंग आवाजले । मध्यरात । ‘अँडेँ... क्याँ....हो....’ मात्र भन्न पुग्छ एक्ले । ओरालै ओरालो भाग्छन् उफ्रँदै । एकदुई खेप उफ्रँदै राँको मर्छ, निष्पट अँध्यारो । पछाडि के-के न के-के झर्न र ढुङ्गाले हान्न छोड्दैन । सानो खोलाको किनारमा कत्ति सिस्नुहरू थिए, सबै समात्छन् । चप्पलसप्पल काँ चुटे, काँ रहे पत्तो भएन । तुम्बाको घरमा स्वाँस्वाँ र फ्याँफ्याँ गर्दै पुग्छन् ।
‘अँडे याँड्, अँडे याँड्’ मात्र भन्छन्, एक्ले । काल्लीघरे माइलाको आवाजै निक्लेन । हातमा न पाहाको शिलहरू छन्, न खुट्टामा लाएको चप्पल–जुत्ता । खुट्टा र हातहरू पिल्सिएर विजोग । तुम्बाले हेनेमेने गरेर सुत्छन् ।
काल्लीघरे माइलाले पैसा कमाउनका लागि ब्याजीमा ऋण निकालेर साना दोकानहरू खोल्छन् । सुर्ती, कापी, कलम, सलाई, सावुन, चुरपेपर मिठाई आदिआदि । डेलीदेखि हाटबजारहरूमा लग्छन् । तैपनि पैसा कमाउन सकेन । मौसमी बेपार गर्छन्, सुन्तला, कागती, अदुवा, कुच्चो, लसुनको । त्यहाँदेखि पनि पैसा कमाउन सकेन । विभिन्न मसिना गाउँघरे योजनाका ठेक्का लिन्छन्, कुलो, कुवा, बाटो, भवन, खानेपानी आदिआदि । त्यहाँबाट पनि पैसा कमाउन सकेन । पैसा कमाउने नाममा पाएको दुखले निक्कै निरश हुन्छ ।
काल्लीघरे माइलाले बिहा अनिवार्य गर्नु थियो, उमेर चिप्लदै गएकोले । अनि तरुनीहरूले पनि फ्रेमआउट गर्दै गरेको अवस्था । उनका हरेक सोल्टेनीहरूलाई मन दिएका थिए तर पत्याएनन् । आफ्नै सोल्टेनीसँग पनि मन बढाएको कुरा छिमेकीहरूले ‘रामभादुर बोल्दैन, सञ्चवीर पनि बोल्दैन’ भने रे भन्दै बताउँछन् । यत्तिकैमा एकजना तरुनीलाई जबरजस्ती बिहा गर्छन् काल्लीघरे माइलाले । याक्थुङ् समुदायमा यो रीत बिहाको एक चलनमा रही आएको छ, परम्परा । बिहा भो केही रकम जुटाउन खर्च चाहियो । दोकानमा डिक राखेका पुराना घडीहरू निकालेर उनका राजनैतिक गुरु कहाँ राँके बजारमा लैजान्छन् । घडीहरू डिक राख्न मानेनन् । काल्लीघरे माइला यस्तो रिसाए, गरीब हुनु र नपत्याउनुमा । उनका राजनैतिक गुरु पढन्ता मास्टर थिए, काँ घडीहरू डिग राख्छन् र ?
यसो गर्दागर्दै छोरी जन्मिन्छे तर श्रीमती घरमा टिक्दिनन्, खाली माइतमै । निक्कै लामो वर्षसम्म माइत बस्दाबस्दै अर्कै केटासँग पोइल लाग्छिन् । यत्ता काल्लीघरे माइला विक्षिप्त हुन्छ, जीवन पाइलाको । उनका पुराना सपनाहरू धमिलिएकोमा । उनका सपनाहरू सबै चुडिएझैँ हुन्छ, जीवन यात्रामा ।
लामो समयसम्म परिवारको वेमतलबी जस्तै बस्छन् । अचानक फेरि एकजना तरुनीसँग हातेमालो गर्न आइपुग्छ तर उनको भने उत्पादन सकिएको मेसिन रहेछ क्यार । लगन गरेको दशकौँ भएपनि सन्तानविहीन छन् । मेसिन साट्न पनि नमिल्ने ? जीवन वेखुशीमा बगी रहेका छन् । परिवार नियोजन प्राकृत भाग्यमा उभिए, काल्लीघरे माइलाको नसीवमा । विरक्तिन्छन्, काल्लीघरे माइला । धन कमाएर, परीवारसँग ऐसआरामका साथ जीवन बिताउने अनि आनन्दमयी परिकल्पनाका सुन्दर सपनाहरू सबै सिद्धिदै जाँदैछन् । समयले कुप्प्रो बनाइ सकेको छ, ज्यान । अनुहारहरू खुम्चिएका छन्, गरागरा भएर । केशहरूमा हिउँ परेका छन्, प्रशस्तै । छालाहरू छिप्पिएका छन्, खस्रो–खस्रो । उचाइ घटेर कद होचा भएका छन्, कुप्रिएर । तैपनि उनको मुस्कान सानैदेखिको जस्तै जस्ताको तस्तै छ र खुसीमा फेरि नाच्छन्, एकफेर ।
’एहेम गिर्लिङ् दार्जिलिङ्
दार्जिलिङ् ज्यानको घुमपहाड
घुमपहाड छेउछेउ शाहारे
एत्ता आउन नाहारे
हाराका थोले, के बोले ।’
अझै मेरो अगाडि जीवन नचाउँदै ठिङ्ग शरीर काल्लीघरे माइला उभिन्छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...