ज्योति भट्टराई पेसाले सञ्चारकर्मी हुन् । दमक झापाका स्थायी बासिन्दा उनी सशक्त कवि हुन् । कविताका अलावा गजल, रूबाई तथा समसामयिक विषयसमेत उनले कलम चलाउने विधाहरू हुन् । उनका यी रूबाइयात 'खैयामलाई प्रश्न' संयुक्त कृतिवाट लिइएको हो । जसलाई क्रिएटिभ सर्कल अस्ट्रेलियाले प्रकाशन गरेको हो ।

१.

यी आँखाले दुनियाँलाई पलपल हेर्नु छ 
दुनियाँ तर्साउने भू-कम्पको हलचल हेर्नुछ 
आजसम्म ज–जसको अनुहार हेरिरहें
अब तिनको पाइतालाको धरातल हेर्नुछ 

२.

यो सस्तो बजारसँग रिसाएर के हुन्छ ?
अझ यो संसारसँग रिसाएर के हुन्छ ?
तिम्रै तस्वीर बनाइदिएको हो उसले,
अब चित्रकारसँग रिसाएर के हुन्छ ?

३.

एउटा मधुर चित्र बनेर आफैँ भित्र पसेको छ
यादहरूको झर्नासँग कहाँ कहाँ खसेको छ
दुनियाँको नजरमा सानसँग उभिएको छ यो पिपल
मेरो भने प्रियसीको याद बनेर बसेको छ 

४.

भन तिमीले भनेको संघार कहाँ छ ?
संसार हसाउँछु भन्ने मुहार कहाँ छ ?
सँधै खुसी हुन्छु भन्थ्यौ आफ्नो दुनियाँमा
देखाउ त तिमीले बनाएको संसार कहाँ छ ?

५.

जिन्दगी घोक्यो र बाँच्न बिर्सियो अब के गर्ने ?
मुस्कानको व्यापार गरेर आफैँ हाँस्न बिर्सियो, अब के गर्ने ? 
पाइतालानै जिन्दगी रहेछ भन्दै थियो ऊ
अफसोच चिप्लिएपछि थाहा पायो, अब के गर्ने ?

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

ज्योति भट्टराई

लेखकबाट थप...