संस्मरण

तोक्मेबाट भिन्तुना हुँदै नर्सरी घारीको बीचबाट नयाँ बाटो खुलेछ । नर्सरीघारी बोटविरुवाको घारीमात्र हैन चिहान घारी पनि हो । नर्सरी डाडाँ र चुकिन डाडाँको नाम फेरिएर हेवन डाडाँ भएछ । सुकेटार जोडिन्छ यो बाटो । यो बाटो पहिलो पल्ट हिँड्दै गर्दा बहिनीले भनिन्- 'दाजु म मरे भने चिहानमा नगाड्नु है ।'
- 'किन ?' मैले सोधे ।
- 'आम्बो एक्लै चैँ कसरी सुत्नु हौ यस्तो ठाउँमा ? आफन्त कोही पनि हुन्न चिहानको छेउमा मलाई डर लाग्दैन अनि ।'
कहिलेकाहीँ खुट्टा अगाडि चल्छ । सम्झनाको पाइला पछाडि ।
पहिला नर्सरी घारीमा दिउँसै भूत हिँड्थ्यो । मुर्कुटा हिँड्थ्यो । वनझाक्री‚ सोक्पा हिँड्थ्यो । तिमीले नर्सरी घारीमा भूत देख्यौँ । तर्सायो र डर लाग्यो भने भाग्नु । मर्नेगरी कुद्नु तर पछाडि फर्केर कहिल्यै नहेर्नु । हाम्रो कुममा दुईतिर बत्ती बलेको हुन्छ । त्यो देखेर भूत डराउँछ । हामी पछाडि फर्किदा त्यो निभ्छ । निभ्यो भने हामीलाई भूतले खान्छ ।
मेरो कानमा बेनुको सानो आवाज गुञ्जियो । बेनु मेरो बचपनको साथी । दोस्त । यार।
मन एक्कासी बचपनमा सिफ्ट भो ।

बालापन फर्की आउँछ । होइनहाेइन । बचपनको याद फर्की आउँछ । तब फर्किन्छ । जब तपाईं धेरै वर्षपछि आफू हुर्केको ठाउँ फर्किनु हुन्छ । देख्नुहुन्छ पुराना कुराहरू । जुन ठाउँलाई कुनै बेला ढुङ्गा‚ रूख‚ जङ्गल या अरू केही देख्नुहुन्थ्यो । ती त सम्झनाको मुलजस्तो भएर बस्ने रैछन् ।



हामी अहिले हेवन डाँडामा छौँ । यहाँबाट नर्सरीघारीलाई अगाडि राखेर हेर्नुभयो भने देब्रेतिर देख्नुहुन्छ तारेभिर । दोखुलाई फन्को मार्दै गएको बाहानन्देको बाटो । पूरै आठराई अनि पाँचथर र तेह्रथुमको गाउँहरू । दायाँतिर फर्किनुहोस् । देख्नुहुन्छ, केही भिरालो ठाउँ । रूखका पोथ्राहरू । क्याम्पस लाइन । फुङ्गलिङ्ग बजारको केही भाग ।
हेवन डाडाँमा टक्रक्क उभिएको एउटा ढुङ्गा छ । त्यसमा चढेर चुपचाप बस्नुहोस् । एकदम शान्त । बतास र सल्लाको सुस्केराको संगीत सुन्नुभो ? चराहरूको गीत नि ? यदी कसैले पात बजाएको सुन्नुभो । माथि गुम्बाबाट निस्किएको धुन पनि मिक्स भो भने । तपाईं
 लक्की हुनुभयो । यस्तो आनन्द अरू कहाँ पाउनु हुन्छ तपाईंले ? तर तपाईं घोरिएर सुन्नुहोस् त । तपाईंलाई केहीले त डिस्ट्रब गरिरहेछ । दायाँ कान चनाखो पारेर सुन्नुहोस् । गिट्टी कुट्दा निस्केको आवाज । ढुङ्गा फुटाउँदा पो हो की ? यो पनि कस्तो संगीतजस्तो सुनिएको । एकैचोटी धेरै ट्वाक-ट्वाकहरु । एउटै रिदममा । तपाईंलाई यो हृदयविदारक लागेन ? यो भोकको संगीत हो नि । 

फुङ्गलिङ्ग बजारदेखि अलि माथि सानो टोल छ । अरूले नमाने पनि हामी यसलाई चोक भन्छौँ । ए हैन लाइन पो भन्दो रछ । क्याम्पस लाइन । यहाँ धेरै क्याम्पसहरूको लाइन भएर हैन क्याम्पस छेउमा घरको लाइन भएर टोलको नाम भएको हो, क्याम्पस लाइन ।



पहिला यहाँ एकदुई घर मात्र थिए । क्याम्पसको नाममा दुई भवन थिए । भित्तामा एउटा लामो । अर्को त्यतै फर्किएको ठिक्कको दुई तले । यही दुई भवनको बीचबाट बेलुन फुक्दाफुक्दै फुल्दै गए जस्तो क्याम्पसको चउर । छेउतिर फुकेकाे मुखतिर सुकेको । केही थान सल्लाको रूख र सोलिङ्ग गरेको बाटो । बाटो छेउमा रोपेको फूलहरू ।
क्याम्पसमा को पढ्छ, कसले पढाउँछ । हाम्लाई बाल । क्याम्पसको लामो हलमाथि धारा छ । धाराको छेउ ठूलो ओखर बोट । ओखर बोटको दुईतीन काल्ना माथि छ खोपीबारी ।

अन्तः हो एक चोटी, ‌ओखर पाक्ने बेला थ्यो । बिहान भुइँमा ‌ओखर झरेको हुन्थ्यो । हामी उठ्ने बित्तिकै कसोकसो बाउआमाको आखाँ छलेर ओखरको बोट पुग्थ्यौँ । खोपीवारीतिरबाट घुमेर । त्यो दिन ढिला भएछ । अरूले टिपीसकेछन् । राजीपेले एकदुईवटा भेट्यो । म त रित्तै हो खोज्दाखोज्दा पनि । अन्तः एकडिल माथि चडेर ढुङ्गा टिपेर मच्चाएर ओखरलाई हानेको कि । ढुङ्गा त सिधै गएर क्याम्पसको टिनमा बज्रिगो । तलबाट तिलाङनी तुम्माले तिमालाई नमारी छाड्दिन भन्दै थिइन् । पुलिस दाजु पनि पो कुद्दै आयो हामीतिर । हामी नर्सरी घारीतिर ज्यान फालेर कुदिम । तर पुलिस दाजुले बन्दुक तेर्साएपछि गुहुँ आउलाआउला, मुत आउलाआउला जस्तो भो । नहल्ली बसिम् । बेनुले भन्थ्यो, “पुलिस ले बन्दुक ताक्दा रोकिनु पर्छ । नभा गोली हानेर मार्छ ।” हामी छेऊ आएर पुलिस दाजुले कान तान्दै भने, “साला आज भेटिस् । गेडा च्यापेर खसी पार्छु तिमार्लाई । परीक्षाको बेला कसले ढुङ्गा हान्नु लायो। मुर्गा बन सालाहरू ।” हामी कुखुरा भयौँ । पचास चोटी उठकबैठक गर्न लाएर छाड्दिए ।

खोपी जस्तो बारी । तीनतिर बाट जमिनले घेरिएको । भित्तातिरको कान्ला भिरालो हुँदै अग्लिएर ठुलढुङ्गासम्म पुग्छ । बाँकी भाग स्टेप काटे जस्तो तीनवटा कान्लाले घेरिएको छ । साना-साना चउर छन् । पिधँमा छ ठूलो चउर । चउर के भन्नु बर्खामा मूल फुट्छ र ठूलो आहाल जम्छ । यही आहाल त हो बेनु र मैले पानीमा तैरिनु सिकेको । आहालमा भैसीमात्र आहाल बस्थ्यो कि । हामी त पौडी खेल्थ्यौ नि । तर लुतो निस्केर बिजोक । हिउँदमा कमिला कुद्ने । सायद कुनै बेला पोखरी थ्यो यो ठाँउमा । एकातिर भत्कियो र यस्तो खोप्पी खेल्दा खोपिने प्वाल जस्तो खाल्डो भयो ।

खोपीवारी नाम पहिले जस्तै छ, ठाउँ रहेन । तमोरमा कति पानी बग्यो । त्यो छाडुम् । यहाँको ढुङ्गा र गिटीले बजारमा कति नयाँ घर बनिए । त्यसको के हिसाब । खोपीवारी ढुङ्गा खानी जो भएको छ । धेरै मान्छे यही खानीबाट ढुङ्गा निकाल्छन् । ढुङ्गाले पेट भर्छन् । यही खानीको ढुङ्गाले बजार सपनाको महल ठडाउँछ । म यही खानीमा सम्झना खोतल्दैछु आज ।

यो ठाउँमा पहिला चउर थियो । जङ्गल थियो । वस्तु चराउनेको भिड हुन्थ्यो । साँच्ची त्यो बेला गोठाला आउँदा दाम्मी बासुरी बजाउने जेठा दाईसँग लभ पर्ने दिदीको लभ के भयो होला ? बिहे भयो कि छुट्यो ? हामी उनीहरूलाई सँगै बसेको देख्ने बित्तिकै “बुढाबुडी मिलेको, कमिलाले चिलेको” भनेर भाग्थ्यौँ ।
हुने खानेहरू बजार बस्छन् । अलि कम हुनेहरू बजार छेऊ बस्छन् । कम हुने वा हुँदै नहुनेहरू बजारबाट दूरी बनाएर बस्छन् । जसलाई बजार भन्न मिलेन । गाउँ भन्न पनि कसोकसो मुख नलाग्ने । यस्तै हो यो ठाउँ पनि । न गाउँ न बजार । यहाँ बस्नेहरू सबथोक बेच्न बजार झर्छन । बास बस्न उकालो चड्छन् ।

मेरो धेरै साथीहरूले सानैमा पढाइ छाडे । बरू गिट्टी कुटे । ढुङ्गा फुटाए । गिट्टीढुङ्गा गर्दा पैसा पाइन्थ्यो । स्कुल जाँदा होमवर्क र सरको दग्दी । उनीहरूले जीवनको हिसाबकिताब स्कुलमा सिकेनन् । किताबमा सिकेनन् । बरू ढुङ्गासँगै सिके । उनीहरूलाई थाहा छ एक गाडी ढुङ्गाको मोल । गिट्टीको मोल । अनि जीवन किन्ने पैसाको मोल । रत धेरैजसो विदेश छन् म एक्लै भएको छु यतिबेला ।



कान्छा, वस्तु फुका । ओइ कान्छा ! वस्तु फुका भनेको सुनिनस् ?

जब स्कुल छुट्टी हुन्थ्यो, बेनुको आमाले यति भनेपछि हाम्रो दिन शुरू हुन्थ्यो । बेनुको एउटा पाडा र दुईवटा गाई थियो चराउनु पर्ने । हाम्रो काम हुन्थ्यो सुकेको झिक्रा खोज्ने । हामी वस्तु थोर चरा धेरै हेर्थ्यौ । दाउरा कम ऐँसेलु‚ चुथ्रो‚ घघुँरो बढी खोज्थ्यौँ । हामी राजा हुन्थ्यौँ । हिरो हुन्थ्यौँ । चोर-पुलिस हुन्थ्यौँ दिनभरमा ।
डाङडाङ ढुङढुङ
तलको आयो ?
राजाको छोराको बे हरे फर्सी गोटा देहरे ।
छानी छानी लैजा ।
म सँधै बेनुलाई छान्थे । भेटीडुम खेल्दा उसलाई कहिले नछुने । लुकीडुम खेल्दा देखे पनि आशपास कहिले भनिन । लाङ्गेलात्ती खेल्थ्यौँ । हामी एक टिम भएन भने खेल क्यान्सिल । हिरो गुण्डा खेल्दा हामी नै हिरो हुनुपर्ने । यतियति पानी गंगेरानी भनेर जंगल थर्काउथिम् । कुन चैँ चिलाउनेको विरुवा थियो होला । हामीले सैसैला खेलेर ननुवाएको ?

एकदिन हामी “ढुकुमुकु-ढुकुमुकु कस्को हात ?, राजाको” भन्दै खेल्दै थिम् । माथिल्लो गाउँको लक्ष्येहरू आइपुगे । भन्यो,
- “आच्चाइ यो बेर्ना हेर न यत्रो भएर पनि केटीसँग खेल्दो रैछ ।”
त कैयाँ‚ बामे नकरा भन्दै बेनु रिसायो । दुवै नाम काडाकाड गर्दै लाक्पा पर्नु थाले । बेनुको नाथ्री फुट्यो । ऊ रुन थाल्यो । लक्ष्येहरू भागे ।

क्याम्पसको दाहिने पट्टी पनि पानी जम्ने ठूलो आहाल छ । त्यसमा हामीहरू भन्दा ठूलो केटाहरू पनि पौडी खेल्ने भएकोले बारेर गहिरो बनाउँथे । त्यसमा पौडी खेल्नु बजारे केटाहरू पनि आउँथे कहिले । लक्ष्येहरू पनि त्यही पौडी खेल्न आएका थिए । त्यै रिसमा बारेको पोखरी सब भत्काइदयौँ ।

एकदिन सैलुङ्ग बाजेले सानो कप र फुटबल लिएर आए । फुटबल खेलाउने भए, एक रुपैयाँ इन्ट्री लिएर । हामीले जंगलबाट घोचा लिएर पोस बनायौँ । आहाल छेउको चउरमा । खेल शुरू भयो । हाम्रो खेल सिद्धिने बेलामा बेनुको खुट्टामा ढुङ्गाले काट्यो । त्यो ढुङ्गा हामीले पोखरी भत्काउँदा चउरमा फालेको थियौँ । हामीले खेल त जित्यौँ । कप पाइएन । बरू बेनु पीडाले लास्टै रुन थाल्यो । अन्तिममा दाइले लिएर हस्पिटल जानुभयो । एघार टाचाँ लागेछ । त्यत्रो चोट लाग्दा हस्पिटल लानु छाडेर कपको लागि खेलेको सम्झिदा अझै नराम्रो लाग्छ ।

एकदिन बाटो मास्तिरको दुई ठूलो ढुङ्गाहरू जोडिएर बनेको थुम्कोमा बसेर बेनुले भन्यो, यो दुईटा ढुङ्गाको बीचमा चावी लाउने ठाउँ छ । कसैले नदेख्ने । वर्षमा एक पटकमात्र खोल्न मिल्ने । ढोका खोलेर भित्र पसेपछिभित्र मन्दिर छ । मन्दिरको वरिपरि पोखरी छ । पोखरीको बीचमा सानो बाटो छ । मन्दिरमा बत्ती आफैँ बल्छ । हामी हाम्रो पैसा सुन सबै त्यही राख्छौँ । त्यो कुरा कसैलाई पनि थाछैन हैन घण्टाङ्ग ?

मैले नपत्याए जस्तरी हेरेपछि राजिपेतिर हेरेर बेनुले भन्यो ।

माँ कसम हो ! त्या जोसुकै जानै सक्दैन । थोरै पैसा सुन राख्यो भने अर्को वर्ष आफैँ बढेको हुन्छ ।



म छक्क परे । बेनुले कसैलाई नभन्नु तिम्लाई मात्र भनेको भन्दैथ्यो । त्यतिकैमा सुकेटारतिरबाट सेतो घोडा लिएर एउटा मान्छे आयो । दुईजनाले एकैचोटी “ठुइयाँ घोडा पाषाङ्ग” भने । घोडावाल रिसाएर हेर्यो । फेरी दोहोर्याए । उसले घोडा रूख छेउमा बाँधेर भिरेको खुकुरी निकालेर हामीलाई खेदाउन थाल्यो । हामी जङ्गलतिर भाग्यौँ । डरले मेराे सातो हरायो । किन खेदाको मैले बुझिन । बेनुले सानो स्वरमा भन्यो, “त्यो मान्छे लास्टै रिसाउँछ, त्यैभएर जिस्काको ।”

अहिले त्यो ढुङ्गाहरू छैन । भित्रको पोखरी र मन्दिर के भयो होला । ढुङ्गाहरू मेसिन लाएर फुटाए । बिक्री गरे । सायद कुनै प्राइभेट बैंकको भित्ता भएको पनि हुनसक्छ । अब तपाईंले देख्ने भनेको तपाईंको आँखा अगाडिको पहिरो जस्तो ठाउँ र उ त्यो घरहरू मात्र हो । यहाँ बसपार्क बन्ने कुरापनि थ्यो । यस्तै केही संरचना बन्नेछ कुनै दिन यहाँ । मन्दिर या मुर्ति बन्नेछ कुनै शासकको । कि त पहिरो नै हुनेछ । अनि पाउने छ यो ठाउँले पनि नयाँ नाम । खोपीबारी सधैँलाई हराउने छ । जसरी यहाँका थुम्काहरू‚ ठूलठूला ढुङ्गाहरू हराए । रूखहरू हराए । हामी धेरैले हाम्रो बालापन हरायौँ ।

जस्तो कि त्यो परको आधा फुटाएर आधा बाँकी रहेको ठूलढुङ्गा हो । त्यही तल्तिर उत्तिसको धेरै रूखहरू थिए । मेरोलागि सुकेको झिक्रा झार्दिनु सबैभन्दा ठूलो रूखमा चढेको थ्यो बेनु । मेरो सबैभन्दा मिल्ने साथी । जो हुत्तुबारीको घुर्पिसमा चाचर मार्दा सबैभन्दा अगाडि मलाई सुनाउनु आउथ्यो । नर्सरी घारीमा माटो खन्न जाँदा कोदालोले मेरो नाम बाटोमा लेख्थ्यो । मान्छेको चित्र बनाउँदा तिम्रो जस्तो नाक बनाउछु‚ भनेर मेरो नाख घुरेर हेर्थ्यो । खै कसरी उसले समाएको र टेकेको हाँगा एकैचोटी भाच्चियो । टेकेको हाँगा भाँचिएर चोके बन्यो । त्यही चोकेमा उन्निएर कसो उसकाे हाफपेन्ट अड्कियो । ऊ तुर्लुङ्गै हाफपेन्टमा झुण्डिएको छ, रूखमाथि । कसो गर्ने ? मेरो हाँस उड्यो । म फेदबाट आखाँ नझिम्काइ सास रोकेर हेरिरहेछु उसलाई ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल मगर

लेखकबाट थप...

सम्बन्धित समाचार