साहित्यकार डा. वानीरा गिरी जन्म २००२ साल चैत २९ गते दार्जिलिङको खर्साङमा भएको हो । डा. गिरीका कविता, निबन्ध र उपन्यास गरेर १४ वटा कृति प्रकाशित छन् । उनको पहिलो औपन्यासिक कृति ‘कारागार’ नेपाली साहित्यको प्रसिद्ध उपन्यास हो । साझा पुरस्कार लगायत विभिन्न पुरस्कारबाट सम्मानित गिरी नेपाली साहित्यमा पहिलो पिएचडी गर्ने महिला समेत हुन् । यहाँ गिरीका दुई कविता प्रस्तुत गरिएका छन् ।
१. चोट
चोट
तिम्रो परशुको
सशक्त प्रथम प्रहार
मैबाट शुरू गर
दुइ आँखाका कुलाबाट
यस्तरी बगेर रित्तिऊन् पानीका धारहरू
आँखा खडेरी परून् मेरा
हरिया बनून् खेत तिम्रा
र पाकिरहून् चोटका बालीहरू
र पाकिरहून् चोटका बालीहरू
तिमी र म
मितेरी लगाई एकाकार बनौं
सदा-र्सवदालाई ।
कति घतलाग्दो
एक दिन
सम्सांझैँ
दोबाटोमा तिमीसित
जम्काभेट भयो ।
मैले
आफूलाई सम्हाल्न नपाउँदै
एक्कासि बलात्कार गर्यौ तिमीले
त्यस बेलाका
ती क्रूर आत्मीय क्षणका साक्षी
रगतका कुमारी टाटाहरू
सर्जमिन नभएका बेवारिसे लासजस्तै
छरिएका छन् दोबाटोका ढुङ्गा-रोडाहरूमा
हरेक चोटी
हरेक दिन
हरेक प्रहर
हरेक पल
ओहोरदोहोर गर्दा ती टाटाहरूले
झवास्स-झवास्स
मलाई दिलाइरहन्छन् तिम्रो सम्झना
र चोट यस्तरी अब ता
तिमी मेरो
सम्झना बनिसकेका छौ ।
चोट
पहिले-पहिले
तिम्रो हरेक प्रहार मेरा निम्ति
आगोको मुस्लो हुन्थ्यो
कांडाको बिझाइ हुन्थ्यो
खुकुरीको धार हुन्थ्यो
औंसीको रात हुन्थ्यो
तर आजभोलि
तिम्रो हरेक प्रहार एउटा र्स्पर्श बनेको छ
म स्वयम्-आगो बल्ने चुलो बनेकी छु
कांडा उम्रने झयाङ बनेकी छु
खुकुरी राख्ने दाप बनेकी छु
गोमनको विषालु दात बनेकी छु
औंसीको अंधेरी रात बनेकी छु ।
र
सर्कसमा रत्याएजस्तै बघिनीलाई
चटकेको बाजाले रत्याएजस्तै सर्पिनीलाई
चोट
तिमीले कति चाँडै रत्यायौ मलाई
अब त
तिमी र म
नङ र मासु बनेका छौँ
कृपण र पैसा बनेका छौँ
चोर बाटो र पैताला बनेका छौँ
हिंड ममाथि
सम्पूर्ण चोरी र डकैतीका साथ
यो निश्चय छ
तिमी थाकौला
म थाक्तिनँ ।
ममा उम्रेका
जिन्दगीका रङ्गीचङ्गी रहरहरूलाई
तिम्रा विध्वंसक आंधीबेरीका झोक्काहरू
लेसोत्तर पारिदेऊ
ध्वस्त पारिदेऊ
चोट
तिम्रो भीमकाय स्वरूपले गाँज मलाई
तिम्रा लपलपाउँदा
डढेलाका जिब्राहरूले चाट मलाई
तर उल्टो
थेत्तर बनेर
तिम्रा चोटैचोट थन्काउने तोपखानामा
मुन्टो लुकाउन आउँछु म
दाग चारैतिरबाट गोली नै गोली
बर्सर्दा चारैतिरबाट आगो नै आगो
दाग चारैतिरबाट गोली नै गोली
बर्सर्दा चारैतिरबाट आगो नै आगो
तर पक्का हो
कान फोरेर सुन चोट
तिम्रो भण्डार रित्तिएला, म रित्तिन्नँ
तिम्रो भण्डार रित्तिएला, म रित्तिन्नँ ।
२. म एउटा च्यातिएको पोस्टर
ए मान्छे !
च्यातिएका वाक्यका टुक्राहरूका
पटक-पटकमा बेग्लाबेग्लै अर्थ नलाऊ
मैले आफ्नै कहानी बिर्सिसकेकी छु ।
अगेनाको छेउबाट
मीनपचासको ढिकीमा
एउटा बूढो
नातिनातिनालाई लोककथा भन्छ ।
पारोहाङ र लेम्पुहाङ ओर्लन्छ
बूढाका आँखाहरूमा मानौँ ऊ स्वयम्
एउटा शिव एउटा युगको
र सतीदेवीलाई उसले हराइसकेको छ
दक्षको यज्ञमा ।
ऊ कथा भन्छ..
लाल-हीराको
र आफै भगाउँछ लाललाई
शताब्दीअघिको सेतो घोडामा,
जसका टापहरूले समयका कानहरूलाई
अझ पनि हुकुम दिइरहेका हुन्छन्
उफ् ! कति विवश
ती मान्छेरहामी मान्छे
यो कथा भन्ने बूढो मान्छे१
खोइ यसले काट्न सकेको
समयको तन्काइ र समयको हुकुमलाई ?
खोइ यसले भाँच्न सकेको
समयका हेलचेक्र्याइँ र समयको धोकालाई ?
मोजेजले कसरी समुद्रलाई काट्न सक्यो,
मोजेजले कसरी समुद्रलाई भाँच्न सक्यो ?
हो, यहाँ बहस गर्छु-
आस्था र अनास्थाको
विश्वास र अविश्वासको
मेरा सत्य र मेरा आस्थाहरू
लिलाम भइसकेका छन्
हरिश्चन्द्र घाटमा,
मेरो विश्वास पनि अब त
लुखुरलुखुर हिँड्छ
भतुवा कुकुरजस्तो
गल्लीका रछानमा ।
सराप लाग्छ मलाई
यो गर्भाशय र यी फूलहरूको
जो काम लाग्न नपाएर फालिएका छन्
फुटेको कसौँडीझैँ
जो काम लाग्न नपाएर सुकेका छन्
रसबिनाको दाखझैँ
शताब्दीपछि
म उभिइदिन्छु समयको ढिस्कोमाथि
एउटा लोककथा बनेर,
चोटका डोबहरूलाई छाम्दाछाम्दै
मेरो समय
ढ्याङप्वाल परिसकेको हुन्छ ।
मरुभूमिको छातीमा
मेटिनकै निम्ति
हाम्रा पैतालाहरू छापिएका छन्
च्च..... च्च.....
हिमालको चिसो बतास यो त रक्सीको मताइ
बिहानीमा यसले एउटा पीर थपेर जान्छ
विश्वास सपना ढुक्कता र अधिकारको
गर्भपात गरिदिएर
हलुङ्गो बनिदिन्छ ।
हामी लासहरूमाथि निर्धक्क हिँडिरहेछौँ
पृथ्वी पनि लासहरूको एउटा चिहान हो
हामी चिहानमा घर बनाउँछौँ
हामी चिहानमा भोज खान्छौँ
हामी चिहानमा बाँचिदिन्छौँ
हामी हाँक दिन्छौँ
आफ्नै लासलाई चिहानभित्रबाट
जनक राजाको दरबारको शिवधनुसितै
अब स्वयंवर छिनिसकेका छन्,
हिजोआज लवकुशहरू
टुकुचाको धमिलो पानीमा बग्न थालेका छन्
मान्छेको आस्थालाई अड्ने एउटा ठाउँ चाहिन्छ
बिसाउनलाई एउटा चौतारो चाहिन्छ
बाँच्नलाई पनि एउटा मोह चाहिन्छ- मृत्युको
एक सय वर्ष बढी जिन्दगी
उफ्!
कल्पना मात्र पनि पागल बनाउने एउटा बिरामी हुन्छ ।
जिन्दगी
यो व्याख्या होइन महाकाव्यको
भूमिका होइन आत्मकथाको
संस्करण होइन आफ्ना कृतिहरूको
म चुलाको प्वालबाट
एउटा जिन्दगी फुकिदिन्छु
र तपेसको चामल छड्काइदिन्छु
म ऐनाको सतहमा
एउटा जिन्दगीको सास फेरिदिन्छु,
र आफ्नै अनुहारलाई धमिलो देखिदिन्छु
म एउटा च्यातिएको पोस्टर
समयको भित्तामा ।
ए मान्छे!
च्यातिएका वाक्यका टुक्राहरूका पटक-पटकमा
बेग्लाबेग्लै अर्थ नलगाऊ
मैले आफ्नै कहानी बिर्सिसकेकी छु ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...