भरतपुर चितवन घर भई हाल संयुक्त अरब इमिरेट्समा रहेका कृष्ण विश्वकर्मा सशक्त प्रगतिशील कवि हुन् । समाजमा रहेका विकृति, विसंगति, विभेद तथा असमानतालाई कविताकाे विषयवस्तु बनाइ विद्राेहका रूपमा प्रस्तुत गर्ने कवि विश्वकर्माकाे 'भोकको लय' कवितासङ्ग्रह प्रकाशित छ । 

गोर्खाली पहिचानको धरोहर 
सिरुपाते खुकुरी 
तर,
उसको आरनको कथा
अझै अज्ञात गर्भमै कैद छ 

करौतीका दाँतीमा रेत लगाउँदै 
ऊ बडो गर्वले भन्दै थ्याे,
पृथ्वीनारायण शाहका तरबार 
उसैका बाजेले अर्जापेका थिए रे 
बलभद्र, माथवरहरूका
तरबार र खुकुरीहरूमा
पुर्ख्यौली पसिनाका पाइन परी
तेजिला र धारिला भा'थे रे 

उतिबेला उसका आरन
अल्बर्ट आइन्स्टाइनका प्रयोगशालाझैँ
व्यस्त थ्यो रे अहोरात 
देशका खातिर
किल्ला अनि सीमानाका खातिर
गोर्खाली शानका खातिर

अचेल उसका आरनका 
रूप 
रङ्ग
आकार
क्षेत्र
बद्लिएको छ 
बिस्तारित छ नयाँ नामहरूले
कारखानाहरूमा
वर्कशपहरूमा
फ्याक्टरीहरूमा
कारिगरहरू पनि बेग्लै बेग्लै छन् 
कथित चार जात छत्तीस वर्ण भन्दा पनि धेरै

आरनका, 
अपहेलित् अवयवहरू
अनि परिवर्तनहरू 
खिस्स हाँस्छ ऊ अनि नियाल्छ 
आकासे यानहरूमा
चुल्हो , चौकोहरूमा
मन्दिरका गजुरहरूमा 
आभूषणले चिरिच्याट्ट
शिर  अनि पाउहरूमा
तर ऊ,
उस्तै देख्छ अझै जीर्ण आरनहरू 
अनि जलिरहेका असंख्य अंगारहरू

कथित् साझा फूलबारीका
कुटिल हावाहरू
कतै बूढो रूखको आश्रय लिएर 
कतै सदियौं पुरानो हलो लिएर
कतै अंकित् हसिया-हतौडा लिएर
सबल छन्
सक्षम छन्
तोड्न
भत्काउन
फकाउन
लोभ्याउन 
जलिरहेका तिनै एकतृत् रापिला अवयवहरू ।

तर,
ऊ लोहा हो 
अनि फेरि ऊ 
फलाम पिट्ने मान्छे हो 
सदियौंदेखि शान्तिका खातिर नतातिएको हुन सक्छ ।

खियाहरूको आतंकले 
फलामको अस्तित्व कहाँ मेटिन्छ र ?
हो,
त्यही जीर्ण आरनहरुले अब
ओकल्ने छन् सघन तेजस्वी लाभाहरू
अनि 
बन्ने छ झट्टै 
एक समुन्नत 
नयाँ साझा फूलबारी ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

कृष्ण विश्वकर्मा

लेखकबाट थप...