झापाकी कवि दिपा मेवाहाङ राई वर्तमान नेपाली साहित्य फाँटमा सचेत र श्रमजिवी स्रष्टा हुन् । उनका संयुक्त कथा संग्रह ‘छकालै’ र संयुक्त कविता संग्रह 'इतर आवाज’ प्रकाशित छन् । इतर आवाज साहित्य अभियानका सदस्य समेत रहेकी उनी आख्यानमा समेत उत्तिकै सशक्त ढंगले कलम चलाइरहेकी छन् । भूतपूर्व नर्स समेत रहेकी राई हाल कोरियामा छिन् ।
बा र आमा
मनको भष्मे बारीमा
कुटो, कोदालोले
तरुल भ्याकुर खोस्रेर
दुःख सुखको चुल डुडंगा खेल्नु हुन्थ्यो ,
पकाउनु हुन्थ्यो तीन चुल्ला माथि
मनको कसेउडीमा
लोहोरो ढुङ्गा त कहिले
जंगलको कन्दमुल, ढुगामाथिको झेऊहरू
फूलाउनु ,फलाउनु भएको थियो
सीमीको फूल जस्तै सपनाहरू
बेलिएका थिए सिमीको लहरा झै
परिवारको जीवित सपना
सपनाहरू आँगनभरि अनेकन रंगमा मुस्कुराएर फुल्थ्यो,
जब,
सपनाको क्षेत्रफल बढ्दै गएपछि
लुते सावनमा डडेलो उठेपछि
रातोमोहले थमाइ दियो
बाबाको हातमा हरियो पासपोट
जानु परेको थियो चिलगाडीको डोलीमा बनबास
आकांक्षा भरिका खजना खोज्न,
साँच्ची,
बा सेतो सफेद बादलका स्केच जस्तै हुनुहुथ्यो
आफू सादा भएर पनि
परिवार सधै रङ्गीन बनाउने सपना देख्नु हुन्थ्यो
नभन्दै अहम् सपना पूरा गर्न
रातो घाम भएको देश जानु भयो
अपसोच !
निर्दयी समय
चाहतको माना नचुलिँदै
रातो बाक्समा आफैँ भरिएर आउनु भयो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...