भ्यानगगले  डि ग्रुट परिवारले आलु खनेको, टेवल वरिपरी बसेको र आलु खाएको सबैखाले चित्रहरू कोरेका थिए । उनको जीवनीमा इर्भिङ्ग स्टोनले लेखेका छन्, ‘डी ग्रुटहरूले आलु खान्थे, बेलुका कालो कफी पनि पिउँथे । सायद हप्ताको एकदिन उनीहरू बेकन खान्थे । तिनीहरू आलु रोप्थे, आलु खन्थे अनि आलु नै खान्थे । यो तीनको जीवन थियो ।’

‘पोटाटो इटर्स’ अप्रिल, १८८५ मा नेदरल्याण्डको नुनेमा भिन्सेन्ट भ्यानगगले बनाएको पेन्टिङ्ग हो । यो पेन्टिङ्ग उनका ‘स्टेरी नाइट,’ ‘ह्विटफिल्ड’ तथा ‘सनफ्लावर्स’सँगसँगै एउटा अर्को कालजयी मास्टरपिसमा दरिन्छ । 

यो पेन्टिङ्ग यथार्तवादी–आधुनिक कलाको युगमा बनाइएको हो । यद्यपि शैली र प्रस्तुतिको हिसाबले पोटाटो इटर्समा यथार्थवाद र अभिव्यक्तिवादको समिश्रण गरिएको छ । यसमा भ्यानगगले किसानको जीवन र रहन–सहन यथास्थितिमा जस्ताको त्यस्तै प्रस्तुत गरेका छन् । तर, अभिव्यक्तिको शैली उनको आफ्नै ढंगको छ । 

चित्रमा सामान्य किसान परिवार लुकाको खाना खादैछन् । यो आलु फलाउने किसान डी ग्रुटको परिवार हो, जुन परिवारसँग भ्यानगगले केही समय आत्मियसँग बिताएका थिए । उनी किसानको जीवन नजिकबाट निहालेर त्यसलाई चित्रमा उतार्न चाहन्थे । यो चित्रमा आफूजस्तै गरीब किसानप्रति भ्यानगगको समानुभूति देख्न सकिन्छ ।

चित्रमा दुई पुरुष, दुई महिला र एक किशाेरीजस्ती छन् । सबैलाई एकै फ्रेममा समेट्न भ्यानगगले बेलुकाको खाना खाने बेलाको क्षणलाई छानेका छन् । त्यसो त यसलाई धेरैले प्रशिद्ध पेन्टिङ्ग ‘द लास्ट सुपर’को प्रभावका रूपमा पनि अर्थ्याएका छन् ।

‘म चरित्रका माध्यमबाट विषयवस्तु बगाउन चाहन्थे’ भ्यानगगले भनेका थिए । नभन्दै यहाँ पात्रका आधारमा भ्यानगगले तिनको भोगाइ देखाएका छन् । आलु, सामान्य कफी पट, एउटा बत्ती, तिनले लगाएको पहिरनले नै बताउँथ्यो कि यो साधारण परिवार हो । तिनका आलु फलाउने खस्रा हात र बेलुकाको थकित र अनिश्चित अनुहारले भन्छ कि उनीहरू विशुद्ध श्रमजिवीहरू हुन् । 

त्यस्तै अध्याँरो र धमिलो पृष्ठभूमिले पनि तिनको भोगाइलाई न्याय गरेको छ । कालो र मैलो रंगको बाहुल्यता रहेको चित्रमा भ्यानगगले रातो, पँहेलो र नीलो आधारभूत रंगहरूमात्रै प्रयोग गरेको भिन्सेन्ट भ्यानगगः लुलबी इन कलर पुस्तकमा लेखक जोयल स्वेर्डलोले उल्लेख गरेका छन् । यो भ्यानगगको उत्कृष्ठ रंग समायोजन भएको उनको ठहर छ । 


‘पोटाटो इटर्स’ (लिथोग्राफ): भिन्सेन्ट भ्यानगग


पोटाटो इटर्सका तीन भर्सनहरू छन् । एउटा त भ्यानगगले लिथोग्राफमा बनाएका छन् । यो लिथोग्राफ पेरिसमा बस्ने आफ्ना भाई आर्ट क्युरेटर थियोलाई फिडब्याकको लागि पठाएका थिए । 

पोटाटो इटर्सको अन्तिम स्वरूप तयार गर्नुअघि भ्यानगगले सिङ्गो हिउँद किसानका हात र टाउको बनाउने अभ्यासमा खर्चेका थिए । भ्यानगगले २० भन्दा बढी पटक त गोर्डिना डी ग्रुटको चित्र बनाउने प्रयास गरेका थिए । 

भ्यानगगले  डी ग्रुट परिवारले आलु खनेको, टेवल वरिपरी बसेको र आलु खाएको सबैखाले चित्रहरू कोरेका थिए । उनको जीवनीमा इर्भिङ्ग स्टोनले लेखेका छन्, ‘डी ग्रुटहरूले आलु खान्थे, बेलुका कालो कफी पनि पिउँथे । सायद हप्ताको एकदिन उनीहरू बेकन खान्थे । तिनीहरू आलु रोप्थे, आलु खन्थे अनि आलु नै खान्थे । यो तीनको जीवन थियो ।’

सन् १८९०मा भ्यानगगको मृत्यु भएदेखि १९६२ सम्म पोटाटो इटर्स भ्यानगग परिवारको स्वामित्वमा थियो । त्यसयता यो चित्र भ्यानगग फाउन्डेसनको मातहतमा आर्मस्ड्रमस्थित भ्यानगग संग्रहालयमा सुरक्षित छ । १८८९ मा र १९९१ मा गरी दुईपटक यो पेन्टिङ्ग चोरी भएको थियो ।

तर पोटाटो इटर्स निर्माणको पृष्ठभूमि भने त्यति सुखद छैन । भ्यानगग र डी ग्रुट परिवारकी छोरी १७ वर्षिया स्टेन डी ग्रुटबीच एकदमै घनिष्ट सम्बन्ध थियो । उनीहरू खेत, खलियान र फाँट सबैतिर आत्मियसँग सँगसँगै ढुल्थे । यत्तिकैमा अचानक स्टेन गर्भवती हुन्छिन् । डी ग्रुटहरू क्याथोलिक र भ्यानगग प्रोटेस्टेन्ट हुन्छन् । क्याथोलिक चर्चका फादरले स्टेन गर्भवती हुनुको दोष भ्यानगगलाई दिँदै परिवारको इज्जतको लागि छिट्टै बिहेको तयारी हुन अह्राउँछन् । 

स्टेन डी ग्रुटले हुनेवाला बच्चाको बाबु खुलाएकी हुन्नन् । सँगै हिँडेकै आधारमा चर्चले भिन्सेन्ट भ्यानगगलाई जिम्मा लगाउन खोज्छ । यसमा आफू जिम्मेवार नभएपनि स्टेनलाई अफ्ठ्यारो पर्ने स्थिति आएका भ्यानगग बच्चा स्वीकार्ने तह सम्म पुग्छन् । 

तर कसैलाई नसुनाउने सर्तमा स्टेनले भ्यानगगलाई बच्चाको बाबु खुलाउँछिन् । बच्चाको बाउ त्यही चर्चमा फादरको सहयोगी हुन्छ । यो अरु कसैलाई थाहा हुन्न । डी ग्रुट परिवारलाई पनि थाहा हुन्न । तर तिनीहरू पूर्ण विस्वस्त हुन्छन् कि बच्चाको बाबु भ्यानगग हुँदै होइनन् । 

खैर जे होस् ! भ्यानगगलाई फादरले त्यो ठाउँ तत्कालै छोड्न आदेश दिन्छन् । भोलिपल्ट बिहान भ्यानगगले पोटाटो इटर्स लगायतका अन्य पेन्टिङ्ग, स्केच र आफ्ना सर–सामानको पोका–पन्तुरा कस्छन् । अनि त्यो ठाउँ छोड्छन् । स्टुडियोमा फर्केपछि क्यानभासमा नाम दिन्छन् – द पोटाटो इटर्स । 


‘पोटाटो इटर्स’ (ड्रइङ्ग): भिन्सेन्ट भ्यानगग


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...