डेढ दशकभन्दा लामो समयदेखि नेपाली साहित्यमा गजल, रुबाई, कविता, आलेखमार्फत यात्रारत थुक्तेन ड्रुक्पा पेशाले इन्जिनियर हुन् । भुटानमा जन्मिएका उनले भुटानी शरणार्थी शिविर, झापामा लामो समय बिताए । हाल उनी हर्सन, डेनमार्कमा बसोबास गर्छन् ।
बाल्यकाल
प्रत्येक मान्छेको जीवनको स्वर्णकाल हो ।
हर्षित समयको देउराली हो
उन्मुक्त रहरको क्षितिज हो
स्वतन्त्र अनुभवको पहाड हो
लाखौँ भावहरूको सागर हो
ए साथीहरू हो, सम्झना छ ?
अभाव र दुःख बीचको
त्यो अद्भूत पलहरूको ?
त्यो स्वर्णिम दिनहरूको ?
टालेको गोजीभरि मार्बोल बोकेर
डोन खेलेको/पिक खेलेको
ढुश खेलेको÷टोप्पा खेलेको
क्यारिटास खाताको पानाहरूलाई पैसा बनाएर
कसैले फलामको/कसैले ढुड़गाको ढक्की उफार्दै
खोप्पी खेलेको/एकआइजा खेलेको
तिनाच्याखे खेलेको
वर्षा याममा झरी वर्षिदाँ
आमा बाबाको आँखा छलेर
घरै छेउको कुलोमा/रतुवामा
निस्फिक्री नाङ्गै रहरको पौडी खेलेको
छिमेकीलाई एक रुपैयाँ तिरेर
टिभीमा नाटक हेरेको
आठानीको रङ्गीन पेपरलाई
बाँसको सिन्का खिप्दै
भातको सिताले टालेर
रंगीबिरंगी चङ्गा बनाएर
दुई रुपैयाँको टोटा धागोमा
माथि–माथि
तेरो माथि, कि मेरो माथि भन्दै चङ्गा उडाएको
शनिवार, आइतवार
स्कुल छुट्टीको दिनहरूमा
भागेर चरा मर्नु चुली गएको
भागेर माछा मर्नु
रतुवा, सानो पोखरी हुँदै
भाङ्बारीको ठूलो पोखरीसम्म गएको
झत्ता, पलास्टिक बटुलेर
सिमेन्टको बोराको धागो बाटेर
कर्मी चराले गुँड बनाए झैँ
जेलेर, बुनेर
डल्लो भकुण्डो बनाई
सिसौघारी बीच
आलुमा टुनामेन्ट खेलेको
मौका मिलाएर
स्कूलवाट भागीभागी
ताप्रेघारीमा लुक्दै, छिप्दै
जुटपति, हजारे, कलबिरे,
रमिदेखि फलास खेलेको
आजसम्म पनि सम्झन्छु म
यी र यस्ता अझ धेरै कुराहरू
साथीहरू, उपद्रोहरू, घर, गल्ली, छाप्रोहरू
र हाम्रो जीवनको वास्तविक विश्वविद्यालय
त्यो प्यारो शरणार्थी शिविरलाई
जो स्मृतिमा अमर अनुभव भएर बाँचेका छन् ।
आज यहाँ के छैन सबथोक छ
जागिर नियमित छ
पैसा नियमित आउँछ
भनेजस्तो घर छ
भनेजस्तो गाडी छ
भनेजस्तो सामान
दिनैपिच्छे मार्केट
हप्तैपिच्छे पार्क
हप्तैपिच्छे पार्टी
सबैसबै छन् ।
बिडम्बना,
एउटै दैनिकी/एउटै शैली
मेसिन झैँ/रोवर्ट झैं
न कुनै नयाँ चमत्कार
न कुनै नयाँ उमङग
न कुनै नयाँ सपना
राम्रै छ भन्नलाई बाहेक
अरू कुनै राम्रो छैन ।
यतिका वर्षौं भो
आजसम्म मैले
यहाँको गतिले सपना देखेको छैन
आजसम्म यो मनले
यहाँको सुखको गीत लेखको छैन
ओ, प्रिय अतीत,
ओ प्रिय दुःख
ओ प्रिय अभाव
ओ प्रिय शिविर
ओ प्रिय बालापन
बेठेगान मेरो मन
तिमीमा पुगेर मात्र रोकिन्छ ।
तिमीमा पुगेर मात्र रमाउँछ
तिमीमा पुगेर मात्र जिउँदो हुन्छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...