सुर्खेतका केआर पाण्डुलिपि त्रिभुवन विश्वविद्यालयमा स्वास्थ्य शिक्षा अध्ययनरत छन् । जनजीवनका मिहिन विषयमा कविता लेख्ने पाण्डुलिपि सचेत र प्रतिभावान कवि हुन् ।
राता अक्षरहरूलाई
सुनौलो बिहानीको सङ्घारमा
पुगाउछु भन्दै
आमाको रातो सल ओडेर,
रातो कलम बोकेर
आगोको फिलिङ्गो बनेर उडेको यात्री
कोइला बनेर झरेको छ ।
राता,
चम्किला,
सेता,
पहेँला ,
हरिया
अनेक विचारका
तारा उदाएर क्रान्तिको उद्घाेष गरेका थिए
अहिले शीतको थोपाले
भिजेर गलिरहेका छन् ।
ज्यानलाई लोला बनाएर
रगतको होली खेलेर बाले
सीमानामा रातो झण्डा गाडेका थिए
अहिले ध्वजा बाजले उडाएको छ ।
रगतका टाटा काला भएका छन् ।
म इतिहासकाे भुत्ते विरासत गर्वले चिच्याइरहेछु
वर्तमानको स्वर्णिम कालो गुफामा बसेर ।
म उत्खनन् गरिरहेको छु
स्वार्थको वास्पित पानीका अनेक थोपाले
कसरी छेकेको छ
विचारका प्रकाशलाई
र बनाइरहेछ कालो ।
कालो हुनु भनेको खराब हुनु
पनि होइन रहेछ
छेकिनु रहेछ,
रोकिनु रहेछ
स्वरूप बदलिनु रहेछ
कालो रङ होइन, स्वरूप रहेछ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...