दिउँसोकाे बाह्र बजेको छ । गर्मीले बाहिर खेताला जाने, कामगर्ने, सबैजनाले आराम गर्ने बेला भएको छ ।
- ए हजुर..... घरमा को हुनुहुन्छ ? कासाको तामाको सामान लिने हो ? (बाटोबाट कसैको अवाज सुनिन्छ ।
- (नलिने है हाम्रो घरमा नै छ । (घरभित्रबाट आवाज आउँछ ।)
- लिनु न..... आज त बोंनकी पनि भाको छैन.... सामान नलिए पनि लु पानी दिनु न सारै गर्मी भयो ।
यति कुरा गर्दानगर्दै पसिनाले निथ्रुक्क भिजेको शरीर, रंग उड्दै गरेको कपडामा एक जनाको हातमा तामाको गाग्री र कासाको अम्खोरा, अर्कोको हातमा तामाको मानापाथी र कासाको सानो-सानो बटुका बोकेर दुईजना व्यापारी आँगनमा आइसकेका थिए । दुवैजनाको पछाडि पुरानो छुट्टिन लागे झोला थियो । सामान बिसाए, मुढामा बसे र गफगाफ सबै रोकेर एक बोत्तल चिसो पानि सके अनि मात्र हाम्रो गफ शुरू भयो ।
- समान राम्रो छ, राख्नु न मिलाएर दिन्छौँ । (उनीहरू आफ्नो काम शुरू गर्न थाले ।)
- लकडाउन छ, पैसा छैन दाइ, फेरि चाहिएको जति सामान घरमा छ । कासाको र तामाका सामानहरू हामी खासै चलाउदैनौँ, नलिने
- राख्नुस् न, आज त हाम्रो बोंनकी पनि भाको छैन । हामी टाढाबाट आका छौँ । अरू नराखे पनि माना (तामाको माना देखाउँदै) राख्नुस्, यो पूजाआजामा काम लाग्छ नि ।
- हामी त लिम्बू हो दाजु, हाम्रोमा त पूजा हुँदैन नि, अनि केको पूजाआजा । (जिस्काउने भावमा, किनकि उनी ब्राह्मण समुदायका थिए ।)
- अब त तपाईंहरूले नै गर्नुपर्छ, बाहुनहरूले त पूजा गर्न छोडिसके । (उनी आफैँ मज्जाले हासे एकछिन् ।)
उनीहरू आफ्नो धर्म छोडिरहेको थिएनन् । सबैसँग हाँसेर बोल्नु, मिठा कुरा गर्नु । मान्छेहरूको दुःखसुखको कुरा गर्नु आफ्नो दुःखसुख सुनाउनु ।दाम मिले सामान बेच्नु नमिले हुन्छ फेरि भेटौँला भनेर बिदा मागेर हिँड्नु । यो उनीहरूको दैनिकी हो । भोजपुर बास्तिम निवासी जीवन कटुवाल (३४) र प्रकाश कार्की (३०) विगत एक दशकदेखि यसरी नै आफ्नो दैनिकी चलाई रहेको छन्।
कहिले पश्चिम-कहिले पूर्व, उनीहरू आफैँ अड्कल काट्छन् । १० वर्षको अवधिमा सायदै कम होला हामीले नपुगेको ठाउँ । एकछिन् चुपचाप छौँ हामी । उनीहरू थप्छन् । कुनै-कुनै बेला एउटा गाउँ चार चक्कर लागाउनु पर्छ । लगभग दिनमा १५-१६ किलोमिटर हिँड्नु पर्दा पहिले त खुट्टा दुख्थ्याे यो, सुन्निन्थ्याे । अहिले हिँडेन भने खुट्टा दुख्छ । सबै कुरा बानी नै रैछ ।
भोजपुर टक्सार, जुन ठाउँ कासाको तामाको सामान बन्ने ठाउँ भनेर प्रचलित छ । त्यहाँ साहुबाट उनीहरू बाँकी सामान लिन्छन् । करिब-करिब ३०-४० केजीको भारी बोकेर आफ्नो गन्तव्यतिर हानिन्छ । त्यो सामानको गन्तव्य उनीहरूले तय गर्छन । त्यो सामान कहाँ लाने कसरी बेच्ने त्यो उनीहरूको जिम्मामा हुन्छ । हुन त कुनैकुनै बेला त्यही निर्जीव सामानले पनि आफ्नो गन्तव्य आफैँ तय गर्ला त्यो कुरा हामीले पो थाहा पाउँदैनौँ कि ? जे होस् सामान घरघर पुर्याउँदा कसैले मायाले बोल्छन्, कसैले ठगको आरोप लाउछन्, कसैले ग्राहक देखाइदिन्छ्न्, कसैले आएको ग्राहक पनि भड्काइ दिन्छन् तर पनि व्यापारीको धर्म भनेको बेच्नु हो । आफ्नो धर्म नछोडी अरूको विश्वास पनि जित्नु छ ।लिएको सबै सामान सकेर महिना दुई महिनामा साहुलाई उसको सामानको मोल र घर्कोलाई केही कोसेली लिएर गाउ पुग्छन् उनीहरू ।
- कहिलेकाहीँ बिक्री नहुदा दिक्क लाग्दैन दाइ ?
(थोरै हाँस्दै) सधैँभरि घ्यू र भात मात्रै हुन्छ त भाइ ? हामीले कुनै समय एकदिनमा अठहत्तर हजारको सामान पनि बेचेको छौँ, कुनै समय एक पैसा पनि हुँदैन । कुनैपनि व्यापारीलाई गएर सोध्नु न सधैँ नाफा मात्र भाको त हुँदैन नि । व्यािार भनेको अपार हो, चिन्ता लिनु हुँदैन । व्यापारी भएपछि आफूले बेच्ने सामानलाई पनि विश्वास गर्नुपर्छ भाइ, अनि बिक्री हुन्छ ।
उनीहरू सामान मात्र बेच्दैनन्, कसैको घरमा पुरानो तामाको गाग्री छ भने आफैँ किनेर या अर्को कुनै सामानसँग साटेर लान्छन् । एकदिनमा करिबकरिब दुईसय हाराहारीमा घर घुम्न भ्याउछन् । परिवारको न्यास्रो लाग्दा, यात्राको क्रममा भेटिने बच्चादेखि बुढा सबैसँग गफ गरेर रमाइलो गरेर परिवारको न्यास्रो मेट्छन् । बाल्यकालदेखिको उनीहरूको दोस्ती व्यापारमा पनि उस्तै छ । उस्तै होस्, साहुलाई दिएर, हिँडेको बसेको खर्च सबै काटेर मासिक पचास हजारसम्म आम्दानी गर्छन् ।
- ल दाजु त्यो तामाको माना चै राख्छु म, राम्रो लाग्यो, चलाउनु भन्दा पनि सजाउनु जस्तो, कतिमा दिने हो ?
- लु उसो भए साढे पाँचसय दिनु न । पहिलेभन्दा अहिले मान्छे साैखिन भा'को छ । व्यापार पनि पहिले भन्दा अहिले अलि धेरै हुन्छ ।
व्यापारी दाइले माना दिए, मैले पैसा । सामान बिक्री भएको खुसी उनीहरूको आँखामा देखिन्थ्यो ।उनीहरू आफ्नो सामानहरू मिलाएर बाटो लाग्ने तरखर गर्दै थिए ।
- दाजु... लकडाउन कस्तो छ ?
- नकुरा गरौ भाइ, मारेको छ नि..
उनीहरू हिनेको भोलिपल्ट देखि इलामको चुलाचुली, झापाको दमक लगायतको ठाउँमा एक हप्ता निषेधाज्ञा थपियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...