अनिल सुब्बा

लेखन तथा निर्देशनमा रूचिराख्ने इलामका अनिल पेसाले रंगकर्मी हुन् ।

कुनै बेला झगडियाको थलो या भनौँ झापाले हेपेको इलामले नदेखेको गाविस भनेर चिनिन्थ्यो चुलाचुलीलाई । यहाँको भौगोलिक बनावट हेर्दा र यहाँको विकासको गतिलाई हेर्दा प्रायः मान्छे दंग पर्छन । झापाको नजिक भएर पनि कुनै सुदूर गाउँभन्दा कम नभएको यस ठाउँको मानिसहरूको जीविकोपार्जनको माध्यम भनेको कि कृषि कि वैदेशिक रोजगारी थियो । त्यही समय वैदेशिक रोजगारी मात्र सबैथोक होइन । मन भए आफ्नै ठाउँमा पनि केही गर्न सकिन्छ भन्ने आफ्नो मनसाय बुवासँग राखे लक्ष्मण राईले । बुवा पदम राईले आफ्नो कुरामा सहमति जनाए पछि बुबा छोराको सहमतिमा चुलाचुलीको ७  (हालको ४) आइतबारे स्थित पदम राइस मिल शुरू भयो । यो कुरा २०५५ सालको हो, जुन बेला लक्ष्मण २५ वर्षका थिए ।



मिलको उद्घाटनसँगै उनको दैनिकी परिवर्तन भयो । बिहानै उठ्ने  साइकल पेलेर मिलमा पुग्ने , धानमकै पिस्ने घर आउने, खाना खाने फेरि एकछिन आराम गरेर मिल पुग्ने धानमकै पिस्ने आउने आराम गर्ने । उही दैनिकी  उही काम  उस्तै आम्दानी । आफूसँगैको केही साथीहरूले विदेश गएर घर जग्गा जोडे, कोही कहाँ पुगे, कोही कहाँ  पुगे । सपना देख्न जति सजिलो नहुँदो रैछ पूरा गर्न । अहिले नकमाए कहिले कमाउने भन्ने प्रश्नको उत्तर खोज्न चलिरहेको व्यवसाय बुबाको जिम्मामा लाएर लक्ष्मण वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगे । देश अरूको, भाषा अरूको, काम अरूको उनलाई कुनै कुरा पनि सहज थिएन । दैनिक १८ घण्टाको काम, काम सँगै आउने मालिकको गाली, महिना मर्दा पनि नआएको तलबले उनको  विदेशप्रतिको वितृष्णा बढाएर ल्यायो । जे छ मसँग छ, जे गर्छु गाउँमै गर्छु भनेर मलेसियाको तीन वर्षे बसाइँपछि गाउँ फर्के लक्ष्मण र पुनः शुरूवात गरे आफ्नो पुरानो दैनिकी ।



उनी आफ्नो पुरानो दिन सम्झदै सुनाउँछन, 'मैले मिल चलाएकोको २३ वर्ष भएछ । त्यो बेला गाउँमा मेरो मात्र मिल थियो । प्रायः अलि हुनेखानेको घरमा मात्र साइकल, गोरुगाडा हुन्थ्यो । मान्छेहरू  तीनचार किलोमिटर परको गाउँबाट धान मकै बोकेर पिस्न आउँथे । मैले एक दिनमा ६०,७० मन धान कुटेकाे छु । त्यो बेला कसको घरमा कति मकै कति धान पिसेको थियो अझै सुरक्षित छ मेरो खातामा ।' उनी थप्छन्, 'अहिले गाउँ नै फेरियो मान्छे फेरिए, खेतीपाती भन्दा पनि अरू नै व्यवसाय गर्न थाले । गाउँमा अरू पनि मिल थपिए । अहिले कुनैकुनै बेला धान लिएर एकजना पनि आउँदैनन । म आउँछु बस्छु र फर्कन्छु । यही विषयमा कुनै-कुनै बेला घरमा ठाकठुक पर्छ मेरो । यसमा मेरो के दोष जस्तो लाग्छ, म चुप लाग्छु । 



कहिलेकाहीँ उनी आफ्नो पुरानो खातापाता, हिसाबकिताब हेर्छन । त्यो उनको जिन्दगीको हिसाबकिताब पनि होला ।जहाँ उनीकहाँ आउने परिचित अपरिचित ग्राहकहरूको १०-२० बाँकी छ । जुन जोड्यो भने लगभग पचास हजार जति पुग्ला । त्यो उठाउने मन छैन उनलाई । के को आधारमा बाँकी दिनु हुन्थ्यो भन्दा उनी भन्छन्, 'कहाँकहाँबाट धान मकै बोकेर लिएर आउँथे, सबैको घरको अवस्था एकै हुँदैन, कसैको नुन तेल खाने पैसा हुँदैन । फेरि ल्याएको जति पिस्नै पर्यो, पैसा भाको जति मात्र पिस्निदिन्छु भन्नु पनि भएन । खातामा लेखिदिनु भोलि ल्याइदिन्छु भन्छन्, हुन्छ भन्यो ।अनि बिस्तारै आफूले पनि बिर्सन्छु, उनीहरूले पनि बिर्संन्छन । सबै उस्तै हुँदैनन्, कसैले सम्झेर दियो भने  लिन्छु पनि नभए आफैँ माग्दिन ।' 



चुलाचुली अहिले गाउँपलिका भएको छ । गाउँ फेरिएको छ । उनीसँगैका धेरै मान्छेले जग्गा जोडे, पेसा फेरे, घर फेरे तिमी चैँ जिन्दगीभर मिल नै चलाउने ? यो प्रश्न उनलाई साथीभाई छरछिमेक र परिवारबाट नआएको होइन, उनीसँग यसको सरल उत्तर छ, मलाई अरू काम गर्न आउँदैन र चलाको हो ।  पहिले डिजेलले चल्ने मेसिन थन्क्याएर अहिले लाइनबाट  चल्ने मेशिन फेरेका छन् उनले । पहिले एक मनको ३० रुपैयाँले कुट्ने धान अहिले मनको ६० रुपैयाँ बनाएको  छन् । पहिलेको टाइलको छाना फेरिएर अहिले टिनको भएको छ । मिल शुरू गर्दाको २५ वर्षे लक्ष्मण अहिले ५२ वर्षका भएका छन् । आफ्नो जिन्दगीको लामो आयु मिलमा बिताएको उनको मिलसँगको सम्बन्धबारे यसरी व्याख्या गर्छन् उनी, 'सबैको आ-आफ्नो भाषा हुँदो रहेछ । अहिले म मैले चलाउने मेसिनको भाषा बुझछु । यसले मेरो दुःखको र सुखको दिन सबै देखेको छ । म कहिले पनि यसले कति आम्दानी गर्यो हिसाब गर्दिन । कुनै बेला यो नभैदिएको भए म बिग्रेर हिँड्थे होला । त्यो  बेला यसले मलाई सम्हाल्यो अब मेरो पालो । होला यो निर्जीव नै सही तर मेरो परिवारको एउटा सदस्य हो ।



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

अनिल सुब्बा

लेखकबाट थप...