अनिल सुब्बा

लेखन तथा निर्देशनमा रूचिराख्ने इलामका अनिल पेसाले रंगकर्मी हुन् ।

बिहानैदेखि मेरो दौडधुप चल्दै थियो । कारण मेरो घरको तीनवटा सिसौको रूख हराएछ । बिहानै आमा गन्गनिँदै हुनुहुन्थ्यो । “पहिला काटेर घरमा ल्याइहाल भन्दा सुनेनौ, कुन्चैको आँखा बलेको थियो कोनी ? अब अघायो, टाढोको त छैन चोर्नेहरू !” सधैँ ढिलो उठ्ने मलाई आमाको आवाजले छिटो उठायो । गाउँमा भालेको आवाजले मात्र मान्छे उठाउदैन भन्ने प्रमाण हो यो । म निन्द्रामै भए पनि आमाको कुराले अलिकति सजक बनायो । “भर्खर लगेको होला जुत्ताको डोबहरू छ, खोज्न जा..... टाडोलागेको छैन होला खोज्न जा ।” एक मनमा कहाँ खोज्नु ? कता खोज्नु ? हराको भा पो भेटिन्छ चोरेको हो कहाँ भेटिन्छ ? आ.. रूख त हो लगोस् है, जस्तो प्रश्नहरू आए फेरि अर्को मनले रूख हुर्काउदा खेरि लागेको आमाको समय, रूखसँग जोडिएको आमाको आश, रूख ठूलो भएपछि यसो गरौँला भनेर आमाले देखेको सपना सम्झे र आमाको आदेश अनुरूप म निस्किए रूखको खोजीमा ।



गाउँ राम्ररी नडुलेको धेरै भएको थिएछ । जुन कुरा मलाई गाउँ डुल्दा भेटिएको देखिएको कुराहरूले महसुस गरायो । अब गाउँगाउँ भन्दा अलि बढी सहर भन्दा अलि कमको स्थितिमा पुगेको रहेछ । त्यसको प्रमाण बन्दै गरेको नयाँ बिल्डिङहरू, खेतको बीचमा पसेको बाटो, विभिन्न घरेलु उद्योग, फर्निचर, फार्महरू हुन् । म सबै भेटेको चिनेको जतिलाई जानकारी गराउँदै हिँड्दै थिए, “कृपया भेट्नु भयो, देख्नु भयो भने खबर गर्नुहोला । तपाईं पनि सजग हुनुहोला ।” केही घण्टाको हिँडाइपश्चात अलिकति घामले होला, अलिकति बानीले होला, अलिकति नभेटिने आसले पनि होला हिँड्न मन नलागेर घर फर्कदै थिएँ । छिमेकीको पुरानो  घर भत्काएर नयाँ बनाउने तरखर चल्दै रहेछ । त्यही नयाँ घरको नयाँ झ्यालढोका बनाउने काठ चिर्दै थिए आरावाल बाजबुर मुस्लिम र उनको आरा काट्ने समूह ।
घाम मेरो टाउको माथि थियो । मेरो छायाँ हेरेर म समयको अनुमान लागाउन सक्थे त्यो बेला । गाउँमा बिहानै मेलापात गरेर फर्केको मान्छेहरू आराम गर्ने बेलामा पनि उनीहरू काममा व्यस्त थिए । अलि परतिर पुरानो घरको केही अंश, वरिपरि छरिएको काठको खम्बा, टुक्राहरू, केहीथान साइकल र रूखको हाँगामा झुण्डिएर बजेको सानो फोनको जिता था जिसके लिए......! बोलको गीत कुनै नाटकको तयारी भन्दा  कम लाग्दैन थियो ।



गाउँमा जब सरकारी जंगलमा दाउरा काट्न, काठ काट्न नपाउने  नियम कडाईको साथ पालना गर्नुपर्ने भयो ।  सालको, सिमलको  ठूलोठूलो रूखलाई काटे वन मुद्दा लाग्ने सूचना आयो । गाउँमा जब चेनआरा भित्रिए तब देखि धेरै आरावालाको जागिर खोसिएको थियो । आरावालहरूले आफ्नो दैनिकी गुजार्नको लागि कोहि बिल्डिंग कन्ट्रक्सनमा , कोही विदेश, कोही पशु व्यापारमा लागेर गाउँमा आरावालहरू देख्न भेटन गाह्रो हुनथ्यो । धेरैपछि भेटेको आरावालाको जमातले मलाई नत्तान्ने कुरै भएन, म लागे आरावालहरू भएतिर ।

म पहिले सबै काम गर्दै गरेको बेला आफू गएर भुलाउने पो हो कि भन्ने पिरले उनीहरूले काम गरेको हेरेर नै बसे ।करिबकरिब २० मिनेटपछि वाजबुर मुस्लिम (त्यो समूहको पाको मान्छे)ले मलाई सोधे,“तपाईंकोमा पनि छ काठ काट्नु ?”, “छैन” । ऊ - “तपाईं यहाँको मिस्तिरी हो ?” म- “हैन” ऊ - “अनि यस्तो घाममा उभिएर के हेरिरहनु भएछ ? यता आउनु शितलमा बस्नु” उनको समूहको अरू मलाई हेर्दै मुस्कुराउँदै थिए ।



नचिनिन्जे को हो को हो चिनेपछि माया मोह भनेजस्तै वाजबूर र मेरो आँपको फेदीमा शितल ताप्दै कुराकानी शुरू भयो । 
म- कति वर्ष पुग्नु भयो ?
ऊ- ६५ पुगे ! 
म- यत्रो उमेर भएर पनि यस्तो बलकाम गर्नुहुन्छ ? गाह्रो हुँदैन ?
ऊ-  बाध्यताले सजिलाे गाह्राे भन्दैन दाजु । अब त बानी पनि त भयो शरीरलाई 
वाजबुरले यसो भनिरहँदा भर्खर थाके भनेर घर फर्केको आफ्नो हालत देखेर उसले आफैँलाई गिज्याएको जस्तो लागिरहेको थियो । म कुरालाई निरन्तरता दिँदै,
म- तपाईंको घर कता हो ?
ऊ- फुलबडीया, इन्डिया हामी सबैजना त्यतिबाट आ'को 
म – ए तपाईंहरू त विदेश पो आउनु भाको रहेछ त ?
उनीसँगै उनको समूहको  सबैजना हास्छन् ।



उनको समूहमा उनीसहित जम्मा छ जना छन । जो विगत २० वर्षदेखि नेपालमा आरावालको जीवन बिताइरहेको छन् । वाजबूर पहिले आफ्नो साथीहरूसँग पहिलोपल्ट नेपाल आउँदाको दिनलाई यसरी सम्झन्छन्, “त्यो बेला हामीलाई या हाम्रो जस्तो अनुहार देख्यो भने भुरा चोर भन्थ्यो । बिस्तारै काम गर्दै गएपछि मान्छेलाई विश्वास भयो । केही साथीहरू काम छोडेर इन्डिया फर्किए । म घर चैँ जान्छु, अहिले फेरि कामको लागि चैँ यतै आउँछु । मलाई उतै काम गर्न सजिलो लाग्छ ।”

उनीसँगै आएको समूहको साथीहरू कोही पहिले छोडी कोही पछि जोडिए । कामको हिसाबले उमेरको हिसाबले अरूभन्दा पाको भएपनि  खानाको कोठा भाडाको खर्च काटेर बचेको पैसा समूहमा भएको सबैलाई बराबर भाग लगाउछन् । यसो हुँदाखेरि कसैले पैसाको नाममा झगडा गर्ने कुरा नहुने उनी सुनाउँछन् । हाम्रो गफगाफ चलिरहेको बेला अरूको पनि केही सुस्त तरिकाले काम गरिरहेको देखेर उनको स्थानीय भाषामा के-के भन्दै थिए उनको साथीहरू हास्दै अलि फटाफट काम गरे जस्तै गर्दै थिए ।



म- अहिले कसरी फिटले काट्नुहुन्छ काठ ? 
ऊ- कोराबत्ती ३०, कडीफेन्टा २५ ले काट्छौँ ।
म- दैनिक ज्याला कति बस्छ ?
ऊ- त्यसको टुंगो हुँदैन कुनैबेला ५००, कुनै बेला १००-१२०० हुन्छ । काठ हेरेर हुन्छ कुनै रूख चिर्ने मान्दैन आराले ।त्यस्तो हुँदा चैँ अलि मेहेनत ज्यादा लाग्छ । 

हाम्रो गफको क्रमसँगै उनी कुनैकुनै बेला आफ्ना साथीहरूलाई काम गर भनेर सम्झाउन पुग्छन् । समूहमा सबैले केही गर्नु पर्यो भने उनीलाई सोध्छन् । समूहको मान्छेलाई घरजाने बिदा, यता नयाँ काम खोज्ने जिम्मेवारी सबै उनी आफैँले मिलाउछन् । कहिलेकाहीँ परिवारको न्यास्रो लाग्दा आफूले कमाएको पैसा बोकेर घर पुग्छन् । “अब उमेर बढ्यो, बल घट्यो । आफूले सकिन्जेल गर्छु काम”, उनी भन्छन् । 



वाजबुर र मेरो गफको सिलसिलाको क्रममा पुरानो साइन (बाइक) मा चढेर २ जना चेनआरा बोकेको करिब २०-२२ उमेरका केटाहरू ओरालो झरे । उनले अलि परसम्म हेरी पठाए तिनीहरूलाई । पल्लो घरमा रूख काट्न आएको रहेछन् उनीहरू ।

म – यसरी अहिले गाउँमा चेनआरा आएको छ । तपाईंहरूको जागिरमा कत्तिको असर पारेको छ दाजु ?
मेरो प्रश्न नसकिँदै स्यर्रर............. चेनआराको आवाज आयो, मैले उनको कुरा सुन्न सकिनँ ।

घर आएर आमालाई मैले भेटिन भने । २-३ दिनमा चोरको बाटो पत्ता लगाउँदै जाँदा आफ्नै घरतिर बाटो घुम्यो ।आमालाई मैले सुटुक्कै भने, आमाले भन्नु भयो - “ए त्यसले मेरो दुधको ऋण तिरेछ !”

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

अनिल सुब्बा

लेखकबाट थप...