अनिल सुब्बा

लेखन तथा निर्देशनमा रूचिराख्ने इलामका अनिल पेसाले रंगकर्मी हुन् ।

विसं २०६०/६१ सम्म मेरो गाउँमा प्रायः हरेक घरमा न्यूनतम् एकथान टोपीको, सलको, सारीको तान हुन्थ्यो । मेरै घरमा पनि मेरो दिदीहरूले बुन्ने टोपीको तीनवटा तान थियो । जुन ढाका टोपी लिएर हप्तामा, पन्द्र दिनमा, महिनामा धेरै बजार पुगेको छु । 

आम चलनचल्तीमा आएको ढाका शब्द लिम्बूकाे “थाक”बाट आएको मानिन्छ । लिम्बू महिलाहरूले परम्परागत रूपमा अँगाल्दै आएको तान बुन्ने कला सिधा लिम्बूहरूको मुन्धुमी पक्ष, ऐतिहासिक पक्ष, सामाजिक, सांस्कृतिक र आर्थिक पक्षसँग सम्बन्ध राख्दछ । भाषा, धर्म, संस्कृति जस्तै वेशभुषा पनि हाम्रो पहिचानको एउटा मुख्य आधार हो ।वेशभुषाले खास कुनै पनि जातिको संस्कृति, सभ्यता र इतिहासलाई चिनाउँछ । अहिले गाउँघरमा तान भेटिँदैन ।पछिल्लो समय तान बुन्ने चलन हराउनुमा राज्य पक्षको गल्ती त छ नै हाम्रो पनि निक्कै कमीकमजोरीहरू देखिन्छन् ।तान बुन्ने कला हाम्रो रोजीरोटीको सवाल भन्दा पनि संस्कृति धरोहरको रुपमा लिन सकियो भने हामीले खोजिरहेको पहिचानको आन्दोलनमा निक्कै टेवा पुग्ने थियो ।



पहिलो कुरो पहिचान भन्ने बित्तिकै कुनै पनि जाति समुदायको विभिन्न पक्ष जोडिएर आउँछ । पछिल्लो समय विशेषतः सशस्त्र द्वन्द्वपछि पहिचानको नाममा विभिन्न तोडफोड र हिंसात्मक गतिविधि भएको पाइन्छ । त्यसको साक्षी धेरै त हामी स्वयम हौँ । त्यसो त लिम्बू वेशभुषा लाउन पाउँ भन्दै टाइसुट लाएर, लिम्बू संगीत बचाउ भन्दै पहिलो लिम्बू पपगीत भन्दै गीत गाएर, आफ्नाे पहिचान जोगाउने नाममा कुनै बाहुन गाउँमा गएर किराँत चोक नाम राखेर हाइहाइहुइहुइ गर्नेको जमात पनि राम्रै छ हाम्रो वारिपरि । यी सबै कुरा हेर्दा पहिचान भनेको पहिला त हाम्रै चेतनासँग सम्बन्धित हुन्छ जस्तो पंक्तिकारलाई लाग्छ । जोकोही मेरो बुझाईप्रति असहमत हुन् पाई । मलाई लाग्छ पहिचानको आन्दोलनको हिस्सेदारहरू मञ्चमा भाषण दिने, सडकमा आन्दोलन गर्ने मात्र नभई कुनै सुदुर गाउँमा बसेर पालम ख्याली गाउने । कुनै सुदूर गाउँमा बसेर ढाका तान बुन्ने सबै मान्छेहरू पनि हुन् । जो सडकमा जान सक्दैनन्, सदनमा जान सक्दैन तर जानीनजानी आफ्नो तर्फबाट आफ्नो जाति, वेशभुषा र पहिचानको लागि काम गरिरहेछन् । तीमध्येकी एक हुन् अनिता आङदेम्बे । 

करिब-करिब ६,७ वर्ष आघि पाँचथरको ओसागुमा बुवासँग खेतीपातीको काम गरेर आनन्दको जीवन चलिरहेको थियो । बिहान उठ्यो मेलापात गरेर चलिरहेको जीवनमा शहर बसेर फर्कने साथीहरूले ल्याइदिए सहर जाने सपना । पहाडबाट झापा, दमक झरेर टोपी, सारी, सल, बर्की बुन्नेहरूको संख्या ठूलो थियो त्यो बेला । जुन अझै पनि छ ।गाउँलाई धेरै सपना देखाउँछ सहरले । आफूसँगैको साथीहरूले गरेको प्रगतिले हुन सक्छ या सहर जाने सपनाले हुनसक्छ । अनिताले पहिलोपल्ट बुवालाई सहर झर्छु भनेर अनुमति मागिन् ।



 “के गर्छस् उता गएर ?” आफ्नो बुवाको यो प्रश्नमा अनिताले सजिलो उत्तर दिइन्, “सारी बुन्न सिक्छु र फर्किन्छु ।” बुवाले उनलाई जाने अनुमति दिए । बुवाको अनुमति पाएको केहीदिनपछि आफ्नो दौतरीहरूसँग अनिता झरिन् दमक झापा । झापा झरेको हप्ता दस दिनभित्र साथीहरूसँग रमाइलो गर्दागर्दै उनले ढाकाको कपडा, सारी, सल, बर्की बुन्न सिकिन् । उनलाई साथीहरूको माया, हौसला र सहयोगले गर्दा सिकेको दिनहरू त्यति कठिन लागेनन् । अनिता सुनाउछिन्, “मैले बुनेको पहिलो सुतीको सारी २९ सयमा बिक्री भएको थियो ।” पहिलो काम पहिलो दाम र नयाँ ठाउँले उनलाई गाउँ फर्कन मन लागेन । कामले काम सिकाउँछ भनेजस्तै पहिले अरूको तानमा सारी बुन्ने अनितालाई आफ्नै तान भए सजिलो हुन्थ्यो महसुस भयो । तसर्थ उनले अध्या बुनेको पेशा जोहो गरेर १३ हजारमा आफ्नै सारीको तान किनिन् । यही तान नै उनको सिपको पहिलो काम थियो ।

केही समयपछि आफूसँगै आएका साथीहरू कोही घरजम गरे, कोही पलायन भए, कोही गाउँ फर्किए । उनलाई भने आफ्नो तानको आफ्नो सिपको मायाले बाध्यो र गाउँ फर्कनको सट्टा आफ्नो कमाइको चिनो किनेर बुवालाई पठाइदिन्थिन् । आफ्नो झापा बस्ने निर्णयप्रति बुवाको केही असहमति नभएपछि उनलाई काम गर्न झन् सजिलो भयो ।उनी भन्छिन्, “निरन्तर काम गरेपछि राम्ररी हात बस्यो । एउटा सारी ५ मिटर २० इन्च बुन्ने पर्थ्यो, म ५ दिनमा सक्थें, जुन सारी ५, ६ हजारमा बिक्रि हुन्थ्यो ।”



“पछिल्लो समय ढाकाको माग कस्तो छ ?” मेरो प्रश्नमा उनि जवाफ दिन्छिन्, “बजारको मागअनुसार सामान पुर्याउन सकेको छैन । पहिलेभन्दा मान्छेले धेरै माग्छन् ढाकाको सामानहरू । तर, हामीले पनि सकेको जति मात्र काम गर्ने हो । फेरि धागोको दाम बढ्छ, सिपको दाम बढ्दैन । यो चैँ बडाे दुःखको कुरा हो हाम्रो लागि !” उनी एकछिन् बजारप्रति आफ्नो दुखेसाे पोख्छिन । सहर झर्ने सपना र अनि त्यही सपनाले दिएको सुखदुःख सबै स्वीकारेर होला अनिता थप्छिन्, “धेरैजसो आफूले बुनेको सल, सारी, बर्की र कपडाहरू ढाका उद्योगमा लान्छु । त्यसो गर्दा दाममा दलाली हुँदैन तर व्यक्तिगत किन्न आउनेहरूले धेरैलाई घाटामा दिनु पर्छ । नदिँदा पनि ठूलो भयो भन्छन् । आफन्तलाई पनि कति धेरै पैसा लिएको भन्छन् । अब सम्बन्ध पनि हेर्ने पर्यो भन्दै घाटामा पनि दिन्छु कुनै कुनै बेला ।” अनिता यो सबै कुरा सुनेर मलिन हाँसो हाँस्छिन् । 

अचानक मलाई उनको विवाहको प्रेम र विवाहको प्रसंग कोट्याउन मन लाग्यो । “कसरी भेट भयो दाजुसँग ?” मेरो प्रश्नमा उनी थोरै सर्मेको हो कि जसरी हाँस्छिन र शुरू गर्छिन्, “ऊ बमप्रसाद लिम्बू, फर्निचरमा काम गर्थ्यो । हामी तान लाउन जाँदा, तान बनाउन जाँदा भेट हुन्थ्यो । बिस्तारै मन परपर भयो अनि बिहे भयो । देखेकोले हुँदैन, लेखेको चाहिन्छ भनेको यही होला !” आफ्नो विवाह र प्रेमको कुरालाई उनी यही बिट मार्छिन् । 



अहिले अनितासँग सारीको, कपडाको, सालको, बर्किको एकएक थान तान छ । त्यसमध्ये जेको अर्डर आउँछ उनी त्यही बुन्छिन् । 

“विवाह अघि र पछि के फरक आयो व्यवसायमा ?”

“त्यस्तो फरक त केही छैन तर आफ्नै घर भएपछि अरूअरू काम पनि गर्नैपर्यो । बाख्रावस्तु भन्यो, घरधन्दा भन्यो, समय यतिकै जान्छ । ऊ (श्रीमान्) काठको काम गर्छ । उसलाई काम अह्राउनु भएन । पहिले पाँच दिनमा बुन्ने सारी अहिले एक हप्ता लाग्छ । त्यसो हुँदा एकजनाको कामैले घरखर्च चल्छ । अर्कोको कमाइ बचत हुन्छ ।” मन भयो भने जे पनि हुन्छ भन्ने प्रमाण हुन् हो यो । 

अहिले दिनमा उनी ढाकाको कपडा १२००, सल ५००, बर्की १०००-१२०० को दरले र सारी अर्डर अनुसार फरक फरक दाममा बुनेर बेच्छिन । त्यसो हुँदा उनको मासिक आम्दानी २५-३० हजारको हाराहारीमा हुन्छ । अब हामी गफगाफको अन्त्यमा आइपुग्छौँ । “तपाईंले आफूले बुनेको कपडा लाउनु भा'को छ कि छैन ?”



“मलाई मन पर्दैन ! धेरै चाेटि लाउने भनेर बुने तयार भएपछि मन पर्दैन, खै किन हो ! अहिलेसम्म मैले बुनेको बर्की मात्र ओडेको छु ।” यति भनेर उनी आफ्नो सानो चर्खामा एकाडोरे धागो दुईडोरे बनाउन थाल्छिन । चर्खा चल्न थाल्छ खर्रर्र...........। बाहिर उनको श्रीमान सारीको तान बनाउन मेसिन चलाउँदैछन् स्यर्रर्र....... । एकैछिनमा एक डोरे धागो दुई डोरे हुन्छन्, उनीहरू जस्तै.......।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

अनिल सुब्बा

लेखकबाट थप...