अनिल सुब्बा

लेखन तथा निर्देशनमा रूचिराख्ने इलामका अनिल पेसाले रंगकर्मी हुन् ।

यो कर्म भूमिको आँगनमा, कर्मको उदाहरण, 
प्रस्तुत गरेर देखाऊ यहाँको धरती बाँझो हुँदैन 
विकासको फूल फुलाऊ” गीत ढोकाको छेउमा सानो मोबाइलमा कुनै एफएम स्टेसनबाट बज्दै थियो । बीचबीचमा मेसिनको स्यार्ररस्यार्रर.....आवाजले गीतमा एउटा बाजाको काम गर्दै थियो । बमप्रसाद आन्ग्थुपो (४५) उर्फ धने निधारको पसिना पुछ्न भ्याइनभ्याइ आफ्नो काममा व्यस्त देखिन्थे । गर्मीकै मौसम भएपनि आँगनमा सानो टिनको पातामुनि चुलामा एक कित्ली रातो चिया उम्लँदै थियो । केही थान ढाकाको सारीको तान तयारी थिए, केही बन्ने तयारीमा थिए । टिनको छाना भएकोले गर्दा होला फेनले फालेको हावा पनि तातो लाग्दै थियो । फेन जसोतसो घुम्दै हावा सबैतिर पुर्याउँदै थियो । यो सबै हेर्दा लाग्थ्यो, धने दाइको शरीरको पसिना र फेनको हावा बीच द्वन्द्व चल्दै छ । जे होस् काम निरन्तर चलिरहेकोले मैले उनलाई रोकिन । त्यसै पनि कामको समयमा कसैले बोलेको मलाई पनि मन पर्दैन । त्यसैले केही तस्वीर खिचेर खाली समयमा गफ गर्न आउँछु भनेर म घर फर्किए ।

साँझ खानपिन सकेर उनको र मेरो भेट भयो । “कहिलेबाट शुरू भयो तपाईंको फर्निचर यात्रा ?” उनलाई मेरो पहिलो प्रश्न थियो । उनी बिस्तारमा आफ्नो यात्रा बारे यसरी बताउँछन् । 



म घरको जेठा छोरा हो । म पछि ५ भाइबैनी छन् । स्वभावैले जेठा भएपछि बाउआमापछिको पहिलो जिम्मेवारी मलाई आइपर्यो । त्यो समय स्थानीय रूपमा रोजगारीको माध्यम केही पनि थिएन । आफ्नो आर्थिक स्थिति पनि त्यस्तै थियो ।विदेश पुग्नु भनेको निक्कै ठूलो कुरा थियो त्यो समय । विभिन्न कारणवश कक्षा ८ बाट पढाइ छोडे । आफूसँगैको साथीहरू कोही लाहुर गए, कोही बाहिर । लाहुरे हुनलाई आफ्नो हाइट नपुग्ने बाहिर जाने पैसा थिएन । गर खेतीपाती, नगर खेतीपातीको अवस्था थियो । २०५२ सालमा मेरो विवाह भयो । ठूलो परिवार भएकोले सबैसँगै बस्ने सम्भव भएन ।त्यसपछि म छुट्टिए । बाउआमको होटलमा बसुन्जेल आराम हुँदो रैछ । छुट्टिएको १-२ सालपछि घरमा नयाँ सदस्य थपिए । आफूमात्र हुँदा त केही थिए, एक शोक, एक भोक थियो । अब विकल्पमा आय आम्दानी हुने केही काम गर्नु पर्छ भन्ने लागेर २०५७ सालमा लिला फर्निचर दमक पुगे । त्यहाँ मैले हेल्परको काम गरेँ । पुटिग गर्ने, सामान बोक्ने, सामानहरू मिलाइदिने लगायतको काम गर्दा मलाई दैनिक ज्याला ४० रुपैयाँ दिन्थे । लिला फर्निचरमा १ वर्ष काम सिकेपछि म सुमन फर्निचर दमकमा पुगे । त्यहाँ मलाई दैनिक ८० रुपैयाँ दिन्थ्यो । मान्छेको स्वभाव न हो, जति धेरै आय हुन्छ उति धेरै आवश्यकता थपिन्छ । एक वर्षपछि मेरो पारिश्रमिक बढेर १२० रुपैयाँ पुग्यो । त्यो बेला त्यति पैसा पनि धेरै हुन्थ्यो है । त्यसपछि फर्निचरमा मसँगै काम गर्ने साथीहरूसँग मिलेर आफैँ ठेक्का लिँदै काम गर्न थाल्यौँ ।त्यसो गर्दा हामीले बनेको सामानको नाफा सिदा हामीसम्मै आइपुग्थ्यो ।  

म उनलाई केहीबेर रोक्छु । मानौँ यो हाम्री नन कमर्सियल ब्रेक हो । केही छिनपछि म आफैँ प्रसंग मोड्छु । “बाहिर पनि जानु भको थियो होइन ?”

मान्छेको जातलाई सम्पत्तिले कहिल्यै पुग्दैन । चल्दाचल्दैको काम छोडेर ६१/६२ सालतिर मलेसिया पुगेँ, त्यहाँ पनि फर्निचरकै काम थियो । कहिले कता, कहिले कता पुग्नु पर्थ्यो । सीधा भन्नु पर्दा म ठूलो भाग खोज्न गको, मलाई फापेन ।



र, खाली हात फर्के !उनले विदेश पलायनको कुरा लम्ब्याउन नचाहेको महसुस भयो मलाई । मैलेपनि अन्य प्रसंग थपिन । कारण आज मलाई प्रश्न कम अनुभव धेरै सुन्न मन लागिरहेको थियो । हामी एकछिन् चुप लागेर फेरि नयाँ प्रसंगतिर लाग्छौँ । “तपाईंको हातको औलाबारे भन्न मिल्छ भने भनिदिनुस् न मलाई ?”

यो प्रस्न सोध्न मलाई निकै भूमिका बन्नु पर्यो ।

उनी - “त्यतिबेला म रक्सी खान्थे । मेरो परिवारको स्थिति पनि त्यस्तै थियो । सायद आफू सँगैको साथीहरूको प्रगतिले पनि जले होला अलिकति म । वा यो पनि हुन सक्छ धर्मरीपछि मात्र सम्हालिन सिकिन्छ - मान्छेले यो पो सोचेर हो कि ? त्यो समय त्यस्तै भयो, त्यो दिन बिहानैदेखि केही हुन्छ कि भन्दै डरसरि काम गर्दै थिए । अचानक मेसिनले काठको टिकरासँगै मेरो हातको कान्छी औला छिनायो तर त्यो दिन मैले रक्सी खाएको थिइन । काटिनेबित्तिकै औला जोड्यो भने गाँसिन्छ भनेर म कसैलाई नभनी औला खोज्न थाले, भेटिन । एकछिनपछि मालिकलाई भने र उनले मलाई तुरुन्तै अस्पताल लगे । त्यसको करिबकरिब २२ दिनपछि म पुनः त्यही ठाउँमा काममा फर्के जहाँ काठको धुलोमा मेरो औला हरेको थियो, डर लाग्थ्यो । फेरि काम पनि गर्नु नै छ ! निक्कै समय लाग्यो सहज तरिकाले काम गर्न आफूलाई अप्ठ्यारो लाग्दा कसो र मेरो पुरै हात छिनेन सम्झिन्थे !

उनले आफ्नो औला काटिएको घटना विस्तृत रूपमा सुनीरहँदा म कल्पना गर्दै थिए । यो कसरी सम्भव छ होला । मेरो आङ सिरिङ्ग हुन्छ ! मसँग सोध्नलाई तत्काल त्यो बेला केही आएन सायद मलाई भन्नलाई उनलाई पनि केही आएन होला । उनी पनि चुपचाप देखिन्थे ।



“आजकाल कसरी चल्दै छ जिन्दगी ? व्यवसाय कतातिर जाँदै छ ?” म हाम्रो मौनता तोडन खोज्छु । उनी - “अनेकअनेक भयो जिन्दगीमा ! एकमनले भन्थ्यो, के हुँदै छ जिन्दगीमा ? फेरी अर्को मनले भन्थ्यो, ठिकै हुँदैछ, सबैको दिन आउँछ । आफैँभित्र बाझ्दाबाझ्दै हैरान । अरूलाई हेर्थे अनि आफूलाई हेर्थे, अरूको प्रगति मात्र प्रगति लाग्ने रैछ हामीलाई । अनि बिस्तारै आफैँलाई मनाउँदै जे छ मसँग पनि छ त भनेर निरन्तर आफ्नो काममा लागे । पहिले अरूकोमा काम गर्थे अहिले आफ्नै घरेलु फर्निचर शुरू गरेको छु । मेरोमा विशेष त ढाकाको सारीको तान, टोपीको तान, सलको तानको अर्डर आउँछ । २०७० सालदेखि यता अनुमानित मैले ५ हजार तान बनाए हुँला । ती सबै तानहरू व्यक्तिगत वा संस्थागत तरिकाले  सिक्किम, दार्जिलिङ, ताप्लेजुङ, पाँचथर हुँदै काठमाडाैँसम्म पुगेको छ । आफ्नै काठ प्रयोग गरेर सारीको एउटा तान १४ हजारसम्म पर्छ । सालको र टोपीको तान ७५००-८००० सम्म पर्छ ।कसैले आफ्नै काठ लिएर आउँदा दैनिक ज्याला लिएर काम गरिदिन्छु म । त्यसो हुँदा मासिक ५०/६० हजारसम्म आम्दानी हुन्छ । सायद म विदेश नगएको भए अझै धेरै गर्न सक्थे हुँला !

अब हामी गफगाफको अन्त्यमा आएको थियौँ । अन्तिम प्रश्नस्वरूप मैले “आफूले किनेको, आफूले प्रयोग गरेको सामानको कत्तिको माया लाग्छ दाइ ?” उनी- “लाग्छ नि, मैले सिक्दा ताका किनेको एउटा हम्बर र बसिला मसँग छ ।गाउँघरमा सबै कुरा अैचोपैँचो चलाउनु पर्छ । कोही सामान माग्न आयो भने अरू सामान दिन्छु त्यो दुईटा सामान दिन्न बरू चाहियो भने किनिदिन्छु भन्छु । म हेल्पर हुँदा र हेड मिस्त्री हुँदाको अन्तर मात्र ती सामानलाई थाहा छ ।”



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

अनिल सुब्बा

लेखकबाट थप...