अनिल सुब्बा

लेखन तथा निर्देशनमा रूचिराख्ने इलामका अनिल पेसाले रंगकर्मी हुन् ।

निषेधआज्ञाको असर सडकदेखि सदनसम्म परिरहेको छ । कोरोना महामारीको करिबकरिब एक, डेढ वर्षको अवधिमा धेरै मान्छेहरूको जीविकोपार्जनको सीले परिवर्तन भएको छ । यी सबै कुराहरू हामी हाम्रै अघि देख्न पाउछौँ, सुन्न पाउछौँ । धेरै त हाम्रै अनुभव पनि काफी छ हामीसँग । सधैँ जसरी मान्छेहरूले केही नयाँनयाँ सपनाहरू बुन्दै थिए । केही सपनाहरू भर्खर शुरू हुँदै थिए । केही पूरा हुने तरखरमा थिए । हुन त कोरोनाले केही नयाँ सपनाको जन्म नदिएको पनि होइन । तर, हामीले एकातिर रोगको डर एकातिर, भोकको डरको बीचमा च्यापिएर बाँच्नुको पीडा कसको सुन्ने कसलाई सुनाउने होला ?



२०६१ सालमा राजेन्द्र राई (३५) लाई मलेसियाको भिसा लाग्यो । त्यतिबेला उनी कक्षा १० मा पढ्दै थिए । बुबाआमाको ढल्किँदो उमेर, वर्षेनि घट्दै गएको उब्जनी, उमेरसँगै आफ्नो भागमा आइपर्ने परिवारप्रतिको जिम्मेवारीको बोझले पढाइको सर्टिफिकेटको बदलामा मलेसियाको पासपोर्ट हातलाग्यो उनलाई । नेपाल बसेर के हुन्छ ? भोलि आफ्नो भविष्य पनि हेर ! तेरो सबै साथीहरू गाडीमा, बाइकमा हिँड्दा त केही साइकलमा ? ओहो ! तँ सँगैको साथीहरूले जग्गा किनेर घर बनाइसके, तँ चैँ कहिले ? जस्ता धेरै प्रश्नले त्यो बेला उनको धेरै सपना मारे । नेपालमै काम गरेर बाँच्न सकिन्छ । आफ्नो भविष्य सुन्दर बनाउन सकिन्छ भन्ने कुरा सबैले असम्भव भनेपछि उनलाई पनि असम्भव नै लाग्यो । त्यो समय उनी त्यो समूहको अघि नमुना बनेर उभिन सकेनन । त्यसपछि झोला भिरेर राजेन्द्र हिँडेका थिए मलेसिया ।

मलेसियामा उनको काम सिसा काट्ने, फोटो फ्रेम बनाउने थियो । उनको काम सिक्दाताका सिसाले काटेको घाउको दाग हात खुट्टामा भन्दा धेरै मनमा छ । तसर्थ करिबकरिब १५ वर्षको मलेसियाको सिसा कटाइले मान्छे पर्नु र पढ्नुको अन्तर बुझे । यतिको दुःख आफ्नै देशमा गरे भने बाँच्न सक्छु होला भन्ने सोचेर लामो समयको विदेश बसाइँलाई विट मारेर राजेन्द्र नेपाल फर्किए । अनि शुरू भयो चुलाचुली ४ इलाममा  'राजेन्द्र फोटो हाउस एण्ड गुड्स फ्रेमिंग' ।



“सपना देख्न जति सजिलो हुँदैन रैछ त्यसलाई पूरा गर्नलाई”, उनी भन्छन्, “आफू जन्मे हुर्केको ठाउँ भए पनि फोटो फ्रेमिंग, फोटोकपी, ऐना, सिसा या भनौँ दैनिक जीवनमा चाहिने सम्पूर्ण कुराको लागि पनि गाउँका मान्छेहरू झापा दमकमा निर्भर थिए । गाउँको पुरानै मान्छे भएपनि कामको लागि नयाँ थिए म गाउँमा, त्यसैले धेरै समयत ग्राहकको विश्वास कमाउन नै खर्च गर्नु पर्यो ।” उनले आफ्नो व्यापारी यात्राको बारेमा सुनाइरहँदा उनको वरिपरि उनको शिपले बनेको फ्रेमभित्र मान्छेहरू हासिरहेको थिए ।

“धेरै पसलको अगाडि मैले 'बाँकी नगरौँ न ल' लेखेको देखेको छु, तपैकोमा छैन रहेछ । ग्राहकहरूले कतिको ढाँटेका छन् तपाई‌ंलाई ?” उनी मेरो प्रश्नपछि एकछिन मुस्कुराउँछन् र भन्छन्, “अहिले नै उठायो भनेपनि लगभग २० हजार जति उठाउनु छ । २००-३०० बाँकी हुन्छ १ जनाको, सबैको घरमा उठाउँदै हिँड्दा बाइकमा पेट्रोल, आफ्नो समय फेरि कस्तो १००-२०० लिन पनि घरघर आको होला भन्छन् । अनि झन् घाटा परिन्छ । सम्झेर दिनेले पछि पनि दिन्छन् ।” कुराकानीकै क्रममा उनको वरिपरि फ्रेमभित्र केहि मान्छेहरू मुस्कुराइ रहेको थिए । “दाइ बाँकी लगेर नतिर्ने, फोटो बनाउन दिएर नलानेहरू पनि हाँस्दा त राम्रै देखिँदो रैछ नि !” मेरो कुराको उत्तरमा उनी मात्र मुस्कुराए ।



जन्मदिनको फोटो, मृत्युको समवेदनाको फोटो उनले दुबैलाई सुन्दर बनाउनु पर्छ । भगवानको फोटो, मान्छेको फोटो, बच्चाको फोटो, बुडाबुडीको फोटो सबैलाई उनले सुन्दर देखिने बनाउनु पर्छ । उनले फ्रेमको साइज अनुसार मूल्य तोकेको छन । “गाउँमा व्यापार व्यवसाय गर्न कतिको सहज छ दाइ ?” उनी भन्छन्, “सहज त आफूले बनाउने हो । शुरूमा हेर्दा कुनै पनि बिरुवा फल्छ जस्तो लाग्दैन । त्यसले धेरै घाम, पानी, बिराम झेल्नु पर्छ, अनि हामीले राम्ररी स्याहार पुर्यायौ भने राम्ररी हुर्किन्छ, बढ्छ र समय आएपछि फल्छ, व्यवसाय पनि त्यहि हो । व्यवसायले दिएको नाफाघाटा दुबैलाई मिलाएर निरन्तरता दिन सक्यो भने असम्भव भन्ने कुरै हुँदैन ।”

मलेसियाको १५ वर्षे अनुभवलाई उनले नेपाल फर्केर प्रयोगमा ल्याएको ३ वर्ष पुग्न लाग्यो । यतिको वर्षको अवधिमा उनले सयौँ मान्छेको हजारौँ तस्वीर फ्रेम गरे । उनको सीपहरू कतिको पूजाकोठामा पुगेको छन् भगवानसँगै, कतिको घरको भित्तामा टाँगिएको छन्, तस्वीरसँगै । कति मान्छेले दैनिक हेर्छन् आफूलाई ऐनामा तर हामी मान्छे न हौँ ।  भक्त बनेर भगवान मात्र हेर्छाैं फ्रेममा सजिएको आफ्नो तस्वीर मात्र हेर्छौं । ऐनमा आफूलाई मात्र हेर्छु । तिनिहरू सबैलाई सुरक्षा दिने फ्रेम र फ्रेम बनाउने मान्छे सम्झिने फुर्सद कहाँ छ र हामीलाई ।



हुन त मैले यो नसोधे पनि हुने हो । दुःखमा परेको मान्छेलाई कस्तो महसुस भइरहेको छ भन्ने प्रश्न हो यो, तैपनि मलाई सोध्न मन लाग्यो । “अहिले निषेधाज्ञाले व्यवसायमा कतिको असर परेको छ दाइ ?” उनी भन्छन्, “भर्खर पसल शुरू गरेर एक खालको मार्केट बन्दै थियो, कोरोनाले डुबायो नि १ तैपनि बाँच्न त परिगो नि !” म - “ग्राहक कतिको आउछन् अहिले ?” उनी - “आउछन् दिनमा १५-२० जना जति । कोही फोटो बनाउन्, कोही फोटोकपी गर्न, कोही झ्यालको सिसा लगाइदिनु पर्यो भन्दै आउछन् । अहिलेको यस्तो बेलामा पनि कोठाभाडा तिर्न र दैनिक खर्च काटेर केही बचत हुन्छ । जेहोस् खाली बस्न परेको छैन ।”

उनले यसो भनिरहँदा मेरो ध्यान बाहिर चौतारामा बसेको मान्छेहरूमा गयो । केही गफ गरिरहेका थिए, केही फोनमा व्यस्त थिए, केही बाइकमा स्टन्ट देखाउँदै थिए केही कतै जान हतार गर्दै थिए बाटोमा, केही अरूलाई गाली गर्दै थिए । कोही पनि खानी थिएनन् ।

म - दाइ, बाहिर हेर्नुस् त खासमा मान्छे कहिले खाली हुँदैन रहेछ नि !
उनी - ओहो ! हो त रैछ...... । 




 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

अनिल सुब्बा

लेखकबाट थप...