अनिल सुब्बा

लेखन तथा निर्देशनमा रूचिराख्ने इलामका अनिल पेसाले रंगकर्मी हुन् ।

बिहानैदेखि घरमा सधैँको भन्दा चहलपहल थियो । म भर्खरै उठ्दै थिएँ । आज छिमेकीकोमा कल गाड्दै थिए । बाहिर छिमेकीहरू जोकोही ५० पार गरेको छन् । कोही २० देखि ३० हाराहारीमा छन् छलफल गर्दै थिए । प्रसंग पानीको चल्दै थियो । चियापानीसँगै सबैले आफ्नो अनुभव राख्दै थिए ।

छिमेकी - मान्छेलाई जति सुखले पनि पुग्दैन । पहिले दाउरा बोकेर यत्तियत्ति (हातले नाप्दै , हात कम्मर छेउमा छ) रतुवा खोला तरेर दाउरा बेचेर पनि खान पुग्थ्यो । अहिले खै जे गर्दा पनि पुग्दैन । यहाँको माइली, हाम्रो सुशिला यिनेरूले काठ बोकेको अहिले जस्तो लाग्छ नि ठुल्दिदी ।

आमा - अब त सबै कथा जस्तै हुन्छ नि जेठी, पहिले पानी लिन बिहान चार बजे आधिपुरे इनार माछावाल कुवा पुग्नु पर्थ्यो । जंगल त्यस्तै बाघभालुले खाला भन्ने डर, भूतप्रेत लाग्ला भन्ने डर, ढिलो भयो भने घरको काम नभ्याइएला भन्ने डर । त्यहाँबाट पानी लिएर भए पनि घरको गाग्रीहरू कहिले रित्तो हुँदैन थियो अहिले आँगनमै कल छ, तिर्खा लाग्दा गाग्री रित्तै हुन्छ । 
छिमेकी – पैला जस्तो समय छैन नि त, हाम्रो उमेरले भेटेको त हामीले भोग्नु पर्छ नि ! 
छिमेकी – खुत्यायौ तिमारुको उमेर (सबैजना हास्छन्)



गफगाफ राम्रै चलिरहेको थियो । सबैले आफ्नो अनुभव राख्दै थिए । त्यसमा कोही सही गलत थिएनन्/छैनन् । म सोच्दै थिएँ, बाटोमा केही थान पाइप बोकेर कल गाड्ने कामदारहरू ओरालो झर्दै थिए । यताको प्रसंग चल्दाचल्दै त्यो कुराले तान्यो मलाई उनीहरूलाई पछ्याउँदै ओरालो झरे म ।

म पुग्दा अलि ढिलो भैसकेको रहेछ । त्यो बेलासम्म जमिनमा डोब खन्नेदेखि लिएर करिब ६० फिटमा पानीको सतह पनि भेटिएको जानकारी पाए । मैले पुग्ने बित्तिकै घरधनीबाट उनी प्रसन्न देखिन्थे, अब आँगनमा पानी निस्कियो भनेर ।बिहानैदेखि शुरू भएको काम र चर्किएको घामले निकालेको पसिनाले शरीर भिजेपनि जमिनमुनि भेटिएको पानीको सतहले उनीहरूलाई खुसी बनाइरहेको थियो ।

कोही काम गरिरहेको थिए । कोही सघाइ रहेका थिए, कोही सिकाउँदै थिए । मेरो ध्यान सिकाउनेमा पर्यो, म उसको नजिक पुगे ।

म - तपाईं हो ठेकेदार ?
उ -हैन 
म - यहाँको हेड मिस्त्री तपाईं हो ?
उ - हैन, ऊ त्यहाँ छ हेड मिस्त्री ।

उसले औलाले देखाउँदै भन्यो । डाक्टर भन्दा बिरामी जान्ने भन्ने उखान याद आयो । जे होस्, अबको काम गर्ने पालो उनको थियो । उनी काममा लागे र हेड मिस्त्री आए शितलमा । म उनको नजिक पुगे । कसरी कुरा शुरू गर्ने भयो मलाई र नाम भन्दा पहिले कामको बारे कुरा सोधेर शुरू भयो हाम्रो कुराकानी ।
म - पानी भेटियो दाइ ?
उनी - भेटियो ६० फिटमा हामी पानीको सतहभन्दा अझै तल पाइप गाड्दै छौँ । त्यो भयो भने पछि पानी सुक्दैन ।



त्यसपछि मैले उनको सँगै सबैको नाम ठेगाना सोधे । उनी सँगै उनको समूहमा शिवजी महतो, प्रदीप महतो, राज कृष्णसाह, साने तामाङ र उनी अरूण महतो थिए । उनीहरू सुनसरी, विराटनगर, झापा र चुलाचुलीबाट रहेको उनले बताए । यो समूहको ठेकेदारको नाम दुखीलाल भएकोले यो समूहलाई गाउँमा दुखीलालको समूह भनेर पनि चिनिन्छ ।काम खोज्नेदेखि लिएर व्यवस्थापनकाे सबै पक्ष ठेकेदारले मिलाएपछि उनीहरूसम्म आइपुग्छ यो काम । शुरूवाती दिनहरूको बारे यसरी सुनाउँछन्, “हामीले चुलाचुलीमा कल गाड्न थालेको ८ वर्ष भयो । पहिले अर्कै खालको कल हुन्थ्यो, त्यो कल सुक्न थालेपछि ट्यांकी खनेर बनाउने कल आयो । त्यो कल अर्को भन्दा कच्चा हुन्थ्यो । त्यसमा इनार खनेर कलाको वासर पंखा जमिनको सतह भन्दा तल राख्नु पर्थ्यो । बिग्रदा पनि बनाउन धेरै मान्छे लाग्थ्यो । अहिले तीन वर्ष भयो समरसेवल कल गाडेको । यो अलि खर्चिलाे छ अरू कल भन्दा ।”

“वर्षेनी बढी रहेको जनसंख्या, वायु प्रदुषण, वनजंगल फडानीले गर्दा  दिनप्रतिदिन सुकिरहेको पानीको मुहानको कारणले गर्दा पुराना धारामा पानी आउन छोड्यो । पानीको सतह पनि पहिलेको भन्दा तल छ । पानी त खानुपर्यो नि ।फेरि सुविधा सबैलाई चाहिन्छ । त्यही भएर ऋणपान गरेर भए पनि मान्छेहरू कल गाड्छन् अहिले ।” उनीले यसो भनिरहँदा बिहानै आमाहरूले २-३ गाउँको पानी खाने लुगा धुने ठाउँ यौटै कुवा हुन्थ्यो भन्ने कुरा र अस्तिको दिन एउटा कलमा पानी भर्ने पालोको निहुँमा भएको झगडा सम्झाई रहेको थियो । हामीलाई विकासले सुविधाले अझै अमानवीय पो बनाउँदै छ कि ?



हाम्रो गफगाफसँगै उनीहरूको काम चलिरहेको थियो । कामसँगै आउने उनीहरूको ठट्टा (बहसको कारणले धेरै त म बुझ्दिन थिए) चलिरहेको थियो । उनीहरूको हास्दा हाँस्न पनि सगाउँदै थिए । समूहमा उमेरको हिसाबले अरूभन्दा थोरै तल माथि भए पनि अनुभवको हिसाबले अरूभन्दा जेठा थिए अरुण ।

म - गाउँमा कसरी शुरूवात भयो त दाजु समरसेबलको ?
अरूण - यता काम सकेर हामी सबैजना घर गएको थियौँ । साहुले फोन गरेर आऊ युट्युबमा नयाँ पानी तान्ने मेसिनको बारे देखेको थिए । हामी पनि त्यसको प्रयोग गरी हेराैँ, भयो भने भैहाल्यो भएन भने सामान सबै फिर्ता गरौँला भनेर भन्नु भयो र हामीले सबै सामान लिएर काम शुरू गर्यौं पहिले त हामीलाई नयाँ कुरा बुझाउन गाह्राे भयो, आफ्नै रिक्समा काम गर्थ्यौं । पानी निकालेपछि मात्रै मान्छेले धन्यवाद भन्थे । ३ वर्ष भयो करिब ५०० कल गाडी सक्यौँ हामीले ।

अरूणको समूहको मासिक तलब १८ हजार प्रतिव्यक्ति छ । अरूण आफ्नो आम्दानीबाट आफ्नो परिवार राम्ररी चलेको बताउँछन् । समरसेबलमा लाग्ने पाइप, मोटर लगायतको सामानहरू उनीहरू इन्डियाबाट ल्याउँछन् ।कहिलेकाहीँ पानीको मुहान नभेट्दा एक हप्तासम्म लाग्छ । एउटा समरसेबल कल तयार हुनको लागि ७० हजार लाग्ने उनी बताउँछन् । 



गफकै क्रममा उनलाई खाना खाने निम्तो आउँछ । भरे काम नसकिने पिरले साथीहरू हतारिन्छन् । मलाई पनि उनलाई रोक्न मन लाग्दैन । उनी हिँड्छन् । म पनि आफ्नो बाटो लाग्छु । बाटोमा आफ्नै उमेरको केही साथीहरू भेटिए । उनीहरूसँग दुःखसुखको कुरा हुन थाल्यो । करिब आधा घण्टापछि फेरि अरूणको समूह काममा फर्किए, काम गर्न थाले । म र मेरो साथी गाउँमा बेरोजगार भइयो, के गर्ने भन्ने कुरा गर्दै थियौँ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

अनिल सुब्बा

लेखकबाट थप...