अनिल सुब्बा

लेखन तथा निर्देशनमा रूचिराख्ने इलामका अनिल पेसाले रंगकर्मी हुन् ।

बाटो छेउको घरमा रामकृष्ण ढकालको पुरानो गीत 'अचानोलाई थाहा होला, चोट के हो खुकुरी'को बजिरहेको थियो ।म लगायत केही साथीहरू बाटोमा हिँडिरहेको थियाैँ । दोबाटो आएपछि सबैसँग बिदा मागेर म आफ्नो बाटो लागेँ, गीत निरन्तर बजिरहेको थियो । मेरो पाइलासँगै मैले गीत छोड्दै गए । केही पाइला हिँडेपछि मलाई अचानो खुकुरीको गीतले छोड्यो अचानो र खुकुरीको ठ्वाक ठ्वाक..... आवाजले तान्यो र म पुगेँ टंक फ्रेस हाउस, जुन चुलाचुलीको-४, आइतबारे बजारमा अवस्थित छ ।

भित्रबाट अचानोमा खुकुरी बज्रेको अवाज आइरहेको थियो । बाहिर केही ग्राहकहरू आफ्नो पालो कुरिरहेका थिए, उनी कसैलाई मासु दिँदै थिए, मासु काटिरहेको थिए, कसैलाई एकछिन पर्खनु भन्दै थिए । मान्छे आउनेजाने क्रम जारी थियो । उनको व्यस्तताले गर्दा मैले भुलाउन चाहिन बरू उसको फुर्सद नमिलेसम्म कुरेर बसे । केहीबेरपछि जब अचानो र खुकुरीको आवाजले विश्राम पायो तब म उनलाई भेट्न उनले काम गरिरहेको नजिक गए । उनी मासु काट्दा लागेको रगत पखाल्दै थिए । उनको सिरमाथि घुमिरहेको पंखा निधारको पसिनाको थोपा सुकाउन सकेको थिएन ।चिनजान पुरानै भएर सन्चोबिसन्चो सोधे, सबै बेसै भन्ने जवाफपछि हाम्रो कुराकानी शुरू भयो ।
- व्यवसाय कस्तो चल्दै छ भाइ ?
- ठिकै छ अहिलेसम्म त । अब साउन लाग्यो मान्छेहरूले अलि माछामासु बार्छन् । अरू महिनाजस्तो व्यापार चल्दैन, यस्तै छ । 



उनी थोरै मुस्कुराउँछन् । पर्तिर केही बोइलर कुखुरा जिउँदै थिए, केही कराउँदै थिए, केही मारेर बेच्नलाई तयारी थियो । 'दानादानामा लेखेको हुन्छ, खाने मान्छेको नाम' भनेजस्तै थियो कुखुराको हालत । म कुरालाई निरन्तरता दिन्छु ।
- अहिले कसरी छ कुखुरा ?
- अस्ति घटेको थियो । लकडाउनले गर्दा फेरि कुखुरा सटेज छ अहिले । त्यही भएर भाउ पनि बढेको छ । कुखुराको ३८०, सुँगुरको ४०० हो । 
- कहाँबाट ल्याउँछौ कुखुरा ?
- अहिले त हामीले आफैँ कुखुरा उत्पादन थालेको छौँ । नभए पहिले दमक, बेलडाँगी, कहिलेकहिले गाउँतिरबाटै ल्याउथ्यौँ । 

गाउँकै बजार भएपनि मान्छेको आवतजावत धेरै हुन्छ आइतबारेमा । हाम्रै गफगाफको क्रममा उसको उमेको केही केटाहरू (सायद उनकै दौतारीहरू होलान्) के छ भन्दै हात उठाउँदै हाँस्दै हिँड्छन् । उनी जवाफमा थोरै मुस्कानसहित ठिकठाक रहेको जवाफ फर्काउँछन् । म प्रसंग मोडछु ।
- आफूसँगैको साथीहरू कोही पढिरहेको छन्, कोही विदेशमा छन् । तिमी चैँ किन यहाँ ?
- उनको मुस्कान कायमै छ, संगतले होला । जेको संगत गर्यो त्यही भइँदाे रैछ ।
- कति भयो मासु काट्न थालेको ? 
- ९ वर्ष भयो ।  



हाम्रो गफगाफकै क्रममा केही ग्राहकहरू थपिए । उनी आफ्नो कामलाई निरन्तरता दिन थाले । म उनको मासु काट्ने कला हेरिरहेको थिए, एउटा दर्शक भएर । उसले कामसँगै मसँग गफ गर्न पनि भ्याइरहेको थियो । म उनको शुरूवाती दिनहरू, सँगै यहाँसम्मको यात्राको बारेमा कुरा गर्दै थिए । उनी बिस्तारमा नभए पनि केही तल-माथि गर्दै आफ्नो कामको यात्राको बारेमा बताइरहेका थिए ।

उनको बुवा टंक गजमेर पहिले आरा काट्ने काम गर्थे । उनले ओरालो झर्दै गरेको उमेर, हुकर्दै गरेको सन्तानसँगै थपिँदै गरेको जिम्मेवारी, सरकारी तबरबाट पारित भएको वन मुद्दा सम्बन्धिको नयाँ नियम र गाउँ भित्रिँदै गरेको चेनआराले गर्दा । आफ्नो पहिलेदेखि गर्दै आएको आरावालाको काम छोडेर नयाँ व्यवसाय गर्ने निधो गरे । व्यवसाय शुरूवातसँगै व्यवसायले दिने घाटानाफा सम्हाल्दै निरन्तर लागिरहेको उनलाई परिवारले पनि सबैको तर्फबाट साथ सहयोग गदर्थे । समय सधैँ एकैनासको हुँदैन भनेजस्तै भयो उनको जीवनमा पनि । छोराछोरीको घरजमसँगै आफूमा परेको दुर्घटना । टंक लामो समय बिरामी परे । चलिरहेको व्यवसाय रोक्ने कि चलाउने अवस्था थियो । त्यो बेला उनी अर्थात् टंकको कान्छो छोरो प्रकाश गजमेर जम्मा १३ वर्षको थिए । दाजुहरूले आफ्नो घरबार सम्हाल्दा सम्हाल्दै ठिक थियो । बुवाको स्वास्थ्यअवस्था राम्रो थिएन । व्यवसाय निरन्तरता दिने कोही भएन । तसर्थ बुवाको विकल्पमा पसल पुगे प्रकाश । बिहानबेलुका पसल दिउँसो स्कूल । बिहानबेलुका पसल दिउँसो कलेज । यसरी नै उनको दैनिकी बित्थ्यो । बिस्तारै कलेज र पसलबाट बचेको समय आफ्नो दाजुहरूसँग सुनचाँदी पसलमा पनि पुग्थे उनी पछि बुवाको स्वास्थ्यअवस्थामा सुधार नआएपछि पढाइ र सुनचाँदी पसलको कामलाई छोडेर बुवाको व्यवसायलाई निरन्तरता दिए ।



उनी सँगको गफ निरन्तर थियो मेरो । उनी आफ्नो काममा निरन्तरता दिइरहेको थिए । उनको कुरा सुनेर भर्खर गाउँमा लागूऔषध कारोबारमा पक्राउ परेको २२ वर्षिय युवाहरूको सम्झना आयो मलाई । हुन त प्रकाश पनि अहिले २२ वर्षका भए । फरक यति थियो उनीहरू आफैँलाई सक्दै थिए । उनी आफूलाई सम्हाल्दै थिए । अहिले उनि आफैँ कुखुरा उत्पादन, कुखुरालाई चाहिने दाना वितरणको तयारी पनि गर्दै छन् । अहिले बुवाको स्वाथ्यमा सुधार आएको छ । बुवा र छोराको दैनिकी पसलमा बित्छ । 

हाम्रो गफगाफकै क्रममा हामी दुवैजना आफ्नो काममा व्यस्त थियौँ ।
- विदेश नजाने ?
- नजाने 
उनी छोटो उत्तर दिन्थे । यतिकैमा एकजना ग्राहक आए । जो हेर्दा सुकिलोमुकिलो देखिन्थे या भनौँ सहरिया पाराको ्र 
ग्राहक–कस्तो गनाको ? उफ्फ.......!
प्रकाश – हो नि है, तर मेरो त बानी भएर होला गनाउँदैन मलाई 
म – सुघेपछि जे पनि गनाउछ दाजु । फेरि मासु खानलाई बनेको सुघ्नलाई हैन । 
हामी तिनै जना हाँस्दै थियौँ । 



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

अनिल सुब्बा

लेखकबाट थप...