भूपेन्द्र पाण्डे

भूपेन्द्र पाण्डे साहित्यका विभिन्न विधाका साथै स्वास्थ्य एवं समसामयिक विषयमा कलम चलाउँछन् ।

ऐया क्या साह्रो टाउको दुखेको हो, निम्स खानु पर्‍यो । ज्वरो आए जस्तो भयो के गर्ने होला? सिटामोल खाने नि । रुघाखोकी लाग्या जस्तो भइराछ साइनेक्स, डिकोल्ड खाइ दिऊ कि क्या हो ? असजिलो भइराछ, यान्टिबायोटिक खानु पर्‍यो । त्यस्तै आयुर्वेदसँग सम्बन्धी विभिन्न प्रकारका जडीबुटीको प्रयोग गर्ने जस्तै; शरीरमा घाउ चोट पटक लाग्यो तेल बेसार लगाउने, शरीरको बीस झार्न विभिन्न प्रकारका जरा तथा पातहरूको प्रयोग गर्ने आदि । यस्ता प्रकारका संवाद तथा सल्लाह सुझाव धेरै सुन्न पाइन्छ ।

अझ पछिल्लो समय कोरोनाको लहर बढेसँगै औषधि सिफारिस गर्ने मान्छेहरूको सूचि चुलिएको छ । नाम सुनेका भरमा, अरू व्यक्तिले औषधि प्रयोग गरेको अनुभवको आधारमा घरेलु रूपमा अथवा मेडिकल हलमा गएर औषधिको नाम तोकेर आफै डक्टर बनी औषधि माग्ने परम्परा फस्टाउँदो छ । औषधि मेडिकल हल तथा स्वास्थ्य संस्था सर्वसुलभ तथा नि:शुल्क रूपमा पाइने हुनाले पनि औषधिको प्रयोग बढ्दै गएको पाइन्छ । सामान्य स्वास्थ्य समस्या देखिएकै भरमा औषधि सेवन गर्ने प्रचलन बढ्नु खतरा युक्त छ । पछिल्लो समय नेपाली समाजमा औषधि सेवन  वा प्रयोग मकै खाए जस्तो हुँदै गएको छ । यस्तो हुनुको कारण औषधि बारे पर्याप्त ज्ञान नहुनुका  साथै आमा व्यक्तिमा भएको औषधि सम्बन्धी अल्पज्ञान पनि हो । 'अल्प ज्ञानी भयांकारी'  सिद्धान्त औषधि सेवनको बढ्दो ट्रेन्डसँग जोडिएको छ ।

औषधि सेवन बारे कुरा गर्नु पूर्व बुझौँ के हो ? औषधि ?

के हो त औषधि ?

औषधिबारे विभिन्न धारणा र सिद्धान्तहरू प्रतिपादन भएको भएता पनि सामान्य र सरल रूपमा भन्नू पर्दा कुनै पनि स्वास्थ्य समस्यालाई निर्मूल पार्नका लागि प्रयोग गरिने बाह्य शक्तिको स्रोत हो । वा शरीरको प्रतिरक्षा शक्तिलाई मजबुत बनाई शरीरमा हुने अप्रत्याशित आक्रमणलाई बचाई शरीर क्रिया प्रणालीलाई तन्दुरुस्त राख्न प्रयोग गरिने बाह्य शक्ति हो ।  गाउँ घरको सरल भाषामा भन्नू पर्दा रोग वा स्वास्थ्य समस्या बाट निको पार्नका लागि प्रयोग गरिने शक्तिको स्रोत हो । यस्ता औषधि रोगको प्रकृति, रोगको अवस्था, रोग लाग्ने प्रणाली, तथा औषधिको स्वरुप, कार्य प्रकृति जस्ता थुप्रै आधारमा विभाजन गर्ने  गर्ने गरेको पाइन्छ ।

औषधि प्रयोग बढ्नुको कारण 

औषधि स्वास्थ्य समस्याहरूलाई न्युनिकर गर्नुका साथै शरीरको प्रतिरक्षा शक्ति लाई मजबुत बनाइ स्वास्थ्य रहनका लागि प्रयोग गरिन्छ । मेडिकल हल सञ्चालकहरूका अनुसार व्यक्तिले सोझै माग्ने औषधिको सूचिमा पहिलो नम्बर पर्ने औषधिहरू हुन्, दुखाई कम गर्ने औषधि, दोस्रो नम्बरमा ज्वरो तथा मौसमी रुघाखोकी सम्बन्धी औषधि तेस्रो नम्बरमा आउँछन् । सामान्य खालका यान्टिबायोटिकहरू पर्दछन् भने युवा पुस्ताका केही व्यक्तिले खोकीको औषधि तथा ई कोनको माग बढी गर्दछन् । मेडिकल सञ्चालकहरूका अनुसार यसरी औषधि आफैँ माग गर्ने बिरामी वा ग्राहकहरू मध्ये ९५ प्रतिशत ग्राहकहरूले औषधिको ट्रेड नेम (बजारमा बेच्नको लागि कम्पनीले प्रयोग गरेको नाम)का आधारमा माग्दछन् । भने ५ प्रतिषतले जेनेरिक नेम (औषधिको रासायनिक नाम वा औषधिको विश्वव्यापी रूपमा प्रयोग गरिने मूल नाम)का आधारमा माग्दछन् । यसरी हेर्दा औषधिको अधिकतम प्रयोग ट्रेड नेमका आधारमा भएको पाइन्छ । यसरी औषधि प्रयोग ट्रेड नेमका आधारमा प्रयोग हुनुको कारण हो व्यक्तिले सो कम्पनीको औषधिको बारेमा जानेको, सुनेको वा प्रयोग गरेको हुनु ।

दुखाई कम गर्ने, ज्वरो तथा यान्टिबायोटिक औषधिको प्रयोग पछिको कारण व्यक्तिले परिवार वा समाजमा भएका अन्य व्यक्तिले उक्त प्रयोग गरेको र उक्त औषधिको बारेमा जानकारी दिएकाले हुन सक्छ । उदाहरणका लागी: टाउको दुख्दा निम्स खाने, ज्वरो आउँदा सिटामोल खाने कुराको जानकारी सो औषधि पूर्व प्रयोग गरेको अनुभवको आधारमा प्रयोग भएको देखिन्छ । भने स्वास्थ्यकर्मी तथा फार्मेसी पसलेहरूले ग्राहकलाई औषधि दिँदा पनि ट्रेड नेम नै भनेर दिने हुँदा ग्राहकलाई सो औषधिबारे जानकारी हुने र पुनः उस्तै र मिल्दोजुल्दो स्वास्थ्य समस्या देखिएको खण्डमा सोही औषधि प्रयोग गर्ने प्रचलन बढ्दो देखिन्छ । भने कतिपय औषधिहरू ग्राहकले भारतीय टेलिभिजनमा देखेको प्रचारको आधारमा मग गर्ने गरेका छन् जस्तै: फेल्क्सन, स्ट्रेपसिल, हनिटस, मुभ मल्हम,आइपिल, ओडोमस मल्हम । विज्ञापनमा हाडजोर्नी दुखेको निको गर्छ भन्ने सुनेको र देखेको आधारमा सोझै मुभ माग्ने प्रचलन बढेको देखिन्छ । 

यसरी औषधिको स्व: प्रयोग बढ्नुको अर्को कारण हो औषधिको असरबारे जानकारी नहुनु । औषधिको विज्ञापन तथा औषधि प्रयोग गरेको अनुभवको आधारमा यस्ता खालका समस्या देखियो यो औषधि खाने भन्ने ज्ञान हुन्छ, तर औषधिको असर के हो? यसले कस्तो असर गर्छ? कस्तो अवस्थामा प्रयोग गर्न हुन्छ हुँदैन भन्ने जानकारी भने हुँदैन । औषधिको प्रयोगबारे मात्र जानकारी भयो तर असरबारे जानकारी भएन भने व्यक्तिले औषधिको सकारात्मक पक्षमात्र बढी देख्ने हुँदा औषधी प्रयोग बढ्ने गरेको पाइन्छ ।

औषधि प्रयोग बढ्नुको अर्को कारण हो, व्यक्तिहरू स्वस्थ सम्बन्धित सतर्क हुन खोज्नु । ज्वरो आउनु, टाउको दुख्नु, घाउचोट पटक लाग्नु, जोर्नी दुख्नु स्वास्थ्य समस्या हो यस्लाई निको पार्नु पर्छ भन्ने ज्ञान हुनु तर उक्त समस्या के हो भन्ने कुरा बुझ्न नखोज्नु र उल्लेखित देखिएका समस्याहरू रोग नभै रोगका लक्षण हुन्न भन्ने कुराको जानकारी नहुनु र देखिएको समस्या मात्र न्यूनीकरण गर्नका लागि औषधि प्रयोग गर्ने प्रचलन बढ्दो छ । आइपर्ने स्वस्थ स्वास्थ्य समस्या रोकथाम गर्न पनि औषधि प्रयोग गर्ने गरेको देखिन्छ । जस्तै: लामखुट्टे को टोकाइबाट बच्न ओडोमस मल्हम प्रयोग गर्नु, गर्भ बस्नबाट रोक्न ई कोन आइपिल प्रयोग गर्नु । 

लागू औषधको रूपमा औषधिको प्रयोग

मेडिकल भाषा औषधिलाई ड्रग (Drug) पनि भनिन्छ । जहाँ  एउटा भनाइ छ, All medicine are drug but all drug are not medicine. अर्थात् सबै औषधि ड्रग हुन् तर सबै ड्रग औषधि होइनन् । अर्थात् औषधिको अनुचित प्रयोगले मान्छेमा लत बसाउने साथै लट्ठाउने काम गर्न सक्दछ । मेडिकल भाषामा नार्कोटिक ड्रग भनिन्छ । जुन औषधिको प्रयोग गर्न चिकित्सकको अनुमति चाहिन्छ । तर पछिल्लो समय नार्कोटिक औषधि नपाइने हुँदा यसको विकल्पको रूपमा मानिसहरूले अन्य सामान्य औषधि प्रयोग गर्ने गरेको पाइन्छ । मेडिकल हल सञ्चालकहरूका अनुसार यसरी प्रयोग गरिने औषधिको सूचिमा पहिलो नम्बरमा आउँछ खोकीको औषधि ।

खोकी लागेको छ वा आफन्तमा खोकीको समस्या छ भनी खोकीको औषधि माग्न आउने युवाहरू सङ्ख्या बढ्दै गएको मेडिकल सञ्चालकहरू बत्ताउँछन् । खोकीको औषधि सामान्य र आवश्यक औषधि भएकाले मागेको खण्डमा सजिलै पाइने र त्यसमा छेकबार पनि नहुने हुँदा यसको प्रयोग बढ्दै गएको देखिन्छ । खोकीको औषधिमा भएको रसायनको काम मध्य एक लट्ठाउने र झुम्म पार्ने पनि भएकाले युवाहरू आवश्यक मात्रा भन्दा बढी मात्रामा खोकीको औषधि प्रयोग गर्ने गरेको देखिन्छ । यसरी खोकीको औषधि किन्न आउनेहरूमा मजदुर र विद्यार्थीहरू बढी देखिन्छन् । भने १८-२९ वर्ष उमेर समूहका युवाहरू उल्लेखनीय रहेको पाइन्छ ।

एक मेडिकल सञ्चालकका अनुसार राम्रै पढे लेखे जस्ता देखिने युवाहरू औषधि माग्न आउँछन्, नदिऊ भने औषधि अति आवश्यक छ । के तपाईँलाई हामी गलत मान्छे जस्तो लाग्यो र भन्दै बाझ्ने झगडा गर्न खोज्ने भएकाले पनि औषधि दिनु पर्ने बाध्यता रहेको बत्ताउँछन् । साथै फार्मेसी तथा मेडिकल संचालहरूमा  सामान्य औषधि त हो दिँदा के हुन्छ र व्यापार भइहाल्छ भन्ने मानसिकता भएकाले पनि यस्तो औषधिको प्रयोग बढेको पाइन्छ । गल्ली, बसपार्क, भिडभाड युक्त क्षेत्रमा रहेका मेडिकल पसलहरूबाट यस्ता औषधि बढी बिक्री हुने तथ्य भेटिन्छ । यसरी युवाहरूले खोकीको औषधि बाहेक, दुखाइ कम गर्ने औषधिहरू पनि माग्ने गरेको पाइन्छ । यसरी मागिएका औषधिको अधिकतम प्रयोग औषधिको रूपमा भन्दा पनि ड्रगको रूपमा हुने अनुमान मेडिकल सञ्चालक हरूको रहेको पाइन्छ । फार्मेसी सञ्चालक तथा चिकित्सकहरूका अनुसार तोकिएको मात्र भन्दा बढी मात्रामा औषधि प्रयोग गर्ने गरियो भने सो औषधिले ड्रगको रूपमा काम गर्ने गर्दछ । जो मानव शरीर र स्वास्थ्यका लागि हानिकारक छ । 

औषधिको ड्रगको रूपमा प्रयोग गर्ने मध्यको एउटा समूह हो सडकमा माग्न बस्नेहरूको समूह । विशेष गरी सडक पेटीमा बच्चा सहित माग्न बस्नेहरूले बच्चा रात भरी रोइरहने,ननिदाउने, काम गर्न दिएन निद्रा लगाउने औषधि दिनुस् भन्दै आउने र उक्त दिएको औषधि बच्चालाई आवश्यक मात्रा भन्दा बढी सेवन गराइ सडकमा सुताई माग्ने गरेको पाइन्छ । 

आयुर्वेद औषधिको बढ्दो प्रयोग

 पछिल्लो समय आयुर्वेद औषधिको प्रयोग बढ्दो देखिन्छ । कोभिडको प्रभाव बढेसँगै आयुर्वेद झन्न बढी चर्चामा आएको छ । निर्माण गरिएका अधिकांश आयुर्वेद औषधिहरूको प्रयोगबारे जानकारी भए पनि यी औषधिहरूको नकारात्मक असर के छ भन्ने बारे यकिन अध्ययन भइसकेको छैन । उदाहरणका लागि सुगर, बल्ड प्रेसर भएका व्यक्तिहरूले घ्युकुमारीको जुस, निमको जुस, जमराको जुस खाने गरेको पाइन्छ । यसरी विभिन्न प्रकारका स्वास्थ्य समस्याहरूका विरुद्ध विभिन्न आयुर्वेद औषधिहरूको प्रयोग बढ्दो छ । यसरी प्रयोग बढ्नु पनि एक खतराको सङ्केतको रूपमा हेर्न सकिन्छ । प्रत्येक कुराको सकारात्मक र नकारात्मक असर हुन्छ । आयुर्वेद औषधिको नकारात्मक असरबारे विस्तृत खोज अनुसन्धान पूर्णरूपमा नभई सकेकाले आयुर्वेद औषधिको अधिकतम प्रयोग पनि स्वास्थ्यको लागि हानिकारक हुन सक्ने देखिन्छ । 

यसरी औषधिको स्व: प्रयोग गर्दा औषधिको शरीरमा नकारात्मक असर पर्न गई अरू स्वास्थ्य जोखिम निम्त्याउने अवस्था रहन पुग्दछ । औषधिको नाम सुनेको आधारमा औषधि बारे सुनेको आधारमा, अरूले प्रयोग गरेको आधारमा औषधि प्रयोग गर्दा औषधि रेसिस्टेन्स हुने । औषधिले काम नगर्ने, औषधिको लत बस्ने सम्भावना बढ्दछ । जो मानव स्वास्थ्यको लागि हानिकारक रहन्छ ।

औषधि रोग निको पार्न वा रोकथाम गर्न प्रदान गरिने तत्त्व भएकाले औषधि सेवन लाई प्राथमिकता दिनु भन्दा बढी शरीरको प्रतिरक्षा बढाउने कुरामा जोड दिनु पर्दछ । साथै सामान्य खालका स्वस्थ समस्याहरूमा तत्काल औषधि खाइहाल्ने बानिलाई घटाउनु पर्दछ । शारीरिक क्रियाकलाप, योग अभ्यास, खानपानमा स्वास्थ्य पूर्ण व्यवहार अपनाउनुका साथै मानसिक तनावबाट मुक्त हुने उपायहरू अपनाएको खण्डमा औषधि प्रयोग घटाउन सकिन्छ । यदि औषधि खानु नै पर्ने अवस्था आएको खण्डमा स्वास्थ्यकर्मी तथा चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नु उत्तम ठहरिन्छ ।  मेडिकल र फार्मेसी सञ्चालकले व्यापारका लागि औषधि नबेची आवश्यक अवस्थामा चेक जाँच गरी मात्र औषधि बेच्ने तथा बेचिएको औषधिको नाम, काम र प्रयोग विधि बारे सम्पूर्ण जानकारी दिने गर्न जरुरी छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

भूपेन्द्र पाण्डे

लेखकबाट थप...