काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका पाँचदेखि १२ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ ।

मन्त्रालयका अनुसार आजदेखि यही भदौ ११ गतेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा बालबालिकालाई दिइनेछ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ दिइन थालिएको जानकारी दिए ।

बालबालिकालाई विद्यालयमा नै केन्द्र स्थापना गरी खोप दिइन थालिएको छ । विद्यालयका साथै बालमन्दिर र कारागारमा समेत खोप लगाइने छ । आजदेखि ११ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म दिइनेछ ।

यसअघि २७ जिल्लाका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको थियो । पाँच वर्षदेखि १२ वर्षमुनिका उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा खोप लगाइनेछ ।

यस्तै विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजका अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ । प्रदेश नं १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचधर, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर, मधेस प्रदेशका बारा, रौतहट र सर्लाही, बागमती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाञ्चोकका बालबालिका रहेका छन् ।

यस्तै गण्डकी प्रदेशका बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ, लुम्बिनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठान, रोल्पा, रुकुमपूर्व, कर्णाली प्रदेशका रुकुमपश्चिम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोट रहेका छन् । सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिका रहेका छन् । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...