काठमाडौं- सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप दिने तयारी गरेको छ । पहिलो चरणमा अग्रपंतिमा खटिने व्यक्तिहरूले बुस्टर डोज खोप लगाउन पाउनेछन् ।

अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूले बुस्टर डोज पाउनेछन् ।

यस्तै सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिइने छ । बुस्टर डोज पाउन पूर्णमात्राको खोप लगाएको ६ महिना पूरा भएको हुनुपर्ने छ । पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको छ, बुस्टर डोजमा पनि त्यही खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र लेखेर अग्रपंक्तिमा खटिनेहरूलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन आग्रह गरेको थियो । 

दोस्रो चरणमा माघ दोस्रो सातादेखि ६० वर्ष र त्यसभन्दा माथिका व्यक्तिहरूलाई बुस्टर मात्रा खोप लगाइनेछ । उनीहरूलाई माघ १४ देखि खोप लगाइने तयारी छ । सरकारले खाेप कार्ड लगेर नजिकैकाे खाेप केन्द्रमा गइ बुस्टर डाेज लगाउन आग्रह गरेकाे छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...