केआर पाण्डुलिपि

सुर्खेतका केआर पाण्डुलिपि साहित्यका विभिन्न विधाका साथै स्वास्थ्य एवं समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

|

नेपालीहरूका चाड दसैँ, तिहार र छठ पर्व आँगनमै आइसकेका छन् । अझ भनाैँ दसैँ त सुरु नै भै सक्यो । परिवार जमघट, खानपिन, रमाइलो बिदाको पूर्ण सदुपयोग गर्ने समयका रूपमा दसैँलाई लिइएको छ । दसैँ तिहार छठको आफ्नै सांस्कृतिक महत्व छ । यी चाडपर्व मनाउने आफ्नै विधिविधान छ । यहाँ भने हामी चाडपर्व र स्वास्थ्यकाे सम्बन्धलाई हेर्ने छाैँ । नेपालको  सामाजिक मनोविज्ञानिकलाई हेर्दा चाडपर्वमा खाना, भेटघाट र रमाइलोलाई विशेष जोड दिइन्छ । उदाहरणका लागि यदि कुनै व्यक्ति वा परिवारले चाडपर्व बाहेक अन्य समयमा विशेष रमाइलो गर्छ, खानपिन गर्छ भने यसकाेमा त दसैँ आएको छ भन्ने गरिन्छ । यहाँ दसैँ सम्पन्नता, खुसी, खानपिन हो भन्ने विशेष प्रथामिता दिइन्छ । वर्षभरि काम गर्ने मान्छेहरू दसैँ तिहारमा काम नगरी बस्न खोज्छन् । उनीहरू खानपिन मै मस्त हुन खोज्छन् । जसका कारण स्वास्थ्यमा समस्याहरू आउन पुग्दछन् । दसैँ तिहार जस्ता चाडपर्वलाई रमाइलो खुसी र सुखी बनाउनका लागि व्यक्ति परिवारिक शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक रूपमा स्वस्थ हुन जरुरी छ । चाडपर्वमा स्वस्थ रहन के गर्न सकिन्छ त ? यसलाई यसरी हेर्न सकिन्छ ।

१. खानपिनमा ध्यान दिनेः

चाडपर्व भनेको मीठो खाना खाने समय हो । यो समयमा गुलियो र मासु त पर्यायवाची नै बनिदिन्छन् । नेपाली समाजमा मासु र दसैँ त एक अर्काको परिपुरक नै हो । घरमै खसी, राँगा कुखुराहरू काटिने तथा बलि समेत दिइने हुँदा मासु सेवन अत्यधिक बढ्न जान्छ । मासु प्रोटिनको उच्छ स्रोत हो । प्रोटिन शरीरले सञ्चय गर्न सक्दैन । शरीरलाई आवश्यक पर्ने मात्र खानु पर्छ । तर दसैँ तिहारको समयमा धेरै मासु खाइने हुँदा पाचन प्राणालीमा समस्या आउँछ । पखला लाग्ने, पेट फुलिने, खाना नपच्ने समस्याहरू हुन सक्दछन् । साथै माछा मासुको हड्डीकाडा चोक्टाहरू घाँटीमा अड्किएर ठूलो समस्या पनि निम्तिन सक्दछ भने चाडपर्वको नाम हुने अत्यधिक मदिरा सेवन, गुलियो कुराको सेवनले पनि शरीरमा विभिन्न प्रकारका स्वास्थ समस्याहरू जन्माउँछ भने पछिल्लो समय खाना र खाजाको रूपमा प्रयोग गरिने खानामा मिसावट बढी भएको पाइन्छ । खानालाई बचाइ राख्न, आकर्षक देखाउन वा मीठो बनाउनका लागि विभिन्न प्रकारका मिसावट गरिएको हुन्छ । जुन स्वास्थको लागि हानिकारक हुन्छन् । त्यसैले मिसावटयुक्त खाना सेवनबाट बच्नु पर्दछ भने चाडपर्वको नाममा अत्यधिक खानपिनलाई निस्तेज गर्नु पर्दछ ।

२. दुर्घटनाः 

चाडपर्वमा रमाइलो गर्नका लागि विभिन्न क्रियाकलापहरू गरिन्छ । जस्तैः चङ्गा उडाउने, पिङ खेल्ने, पटका पड्काउने, घुम्न जाने थुप्रै । यसरी यस्ता क्रियाकलापमा सरिक भैरहँदा  दुर्घटना हुन सक्छ । घरको छतमा बसेर चङ्गा उडाउँदा लडिने, पिङ खेल्दा लड्ने र चोटपटक लाग्ने हुन सक्दछ भने दसैँ तिहारको समय सडक एक प्रकारले खाली हुन्छ त्यो सममयमा अत्यधिक गतिमा वा मदिरा सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना हुनसक्ने, पटकहरू पड्काउँदा वातावरण प्रदुषण हुनुको साथै चोटपटक लाग्न सक्ने हुन्छ । जसबाट बच्नका लागि परिवारका सदस्यहरूले आफ्नो रेखदेखमा मात्र बालबालिकालाई पटका पडकाउन, पिङ खेल्न, चङ्गा उडाउन दिने गर्नु पर्छ । यसो गरिएको खण्डमा परिवारले आफूप्रति ध्यान दिएको छ भनेर बालबालिका खुसी हुन्छन् भने उनीहरूमा दुर्घटनाको कारण आउने स्वास्थ्य समस्या पनि रहँदैन ।

३. रमाइलोको प्रभाव

दसैँ तिहारमा रमाइलो गर्नका लागि जुवातास, कौडा लङ्गुर गुर्जा खेल्ने गरेको पाइन्छ । यसरी जुवा तास खेल्नु गैरकानुनी हो भने, आर्थिक दोहन पनि हुन जान्छ । जुवातास खेल्दा हारिएको खण्डमा मानसिक तनाव हुने, जुवामै व्यस्त भइने हुँदा परिवारलाई समय दिइन नपाइने । साथै जुवा खेल्दै गरेको खण्डमा प्रहरीले भेट्यो भने थुनामा बस्नु पर्ने हुन सक्छ । पैसा हार्नु, परिवारसँग समय व्यतीत गर्न नपाउनु, थुनामा पर्नु जस्ता कारणले व्यक्ति र परिवारको मानसिक स्वास्थमा समस्या आउँछ । चिन्ता डर र इज्जत जस्ता कुराको प्रभावले व्यक्ति र परिवारको मानसिक स्वास्थ्यमा ह्रास आउँछ । त्यसैले रमाइलोको नाममा जुवातास खेल्नुको साटो परिवारसँग रमाइलो समय व्यतीत गरियो भने सबैजना खुसी हुन्छन् ।

४. अनियमित उपवास र व्रतः

व्रत र उपवास के हो ? कसरी बस्ने भन्ने बारे द मार्जिनमै एउटा लेख प्रकाशित भएकाे छ । तपाईं या लेख पछाडि पढ्न सक्नु हुन्छ । दसैँ तिहार र छठमा विशेष गरी महिलाहरू टीका लगाउने वा पुजा गर्ने समयसम्म पानी पनि नखाइ उपवास बस्ने गर्छन् । जसले जो अनियमित उपवास हो, जसले स्वास्थ्यमा समस्या निम्त्याउछ । त्यसैले आफ्नो  फलफूल वा पानीको सेवन गरी उपवास गरी स्वास्थ्यको ख्याल गर्नुपर्छ । 

५. घरायसी कामकाजः

नेपाल पुरुषप्रधान समाज हो । जति आदर्शका कुरा गरेता पनि अपवाद बाहेका पुरुषहरू घरायसी काममा सरिक हुँदैनन् । खाना पकाउने, भाडा धुने, घर सफा गर्ने, पाहुनाकाे स्वागत सत्कार गर्ने जस्ता सम्पूर्ण काम महिलाले गर्नु पर्छ । अझ भनौँ घरमा भएका आमा र बुहारी सबैभन्दा बढी पेलिइनु पर्छ । मानौँ उनीहरू मेसिन हुन् । उनीहरूमा भोक प्यास हुँदैन, उनीहरूमा रमाइलो गर्ने मन हुँदैन, उनीहरूको खुसी हुँदैन । सबैलाई खुवाउँदा उनीहरू भोकै बस्नु पर्ने हुन सक्छ तर बाहिर बस्नेहरू सजिलै भनिदिन्छन् चुलोमा बसेकी छे, पकाउने उही त हो खाइ होली । आफ्नो लागि राखी होली । तर उसले के गर्यो बुझ्न भने जाँदैनन् । अपवाद बाहेका, सहरमा पढ्ने र सामाजिक सञ्जालमा मेरी आमा संसारकै प्यारी लेख्ने छोरो पनि आफूले खाएको थाल समेत नधोइ गाउँ डुल्न, गफ चुट्न हिँड्छ । जसकाे कारण महिलाको मानसिक रूपमा विचलन आउँछ । मानसिक र शारीरिक रूपमा थकित हुने हुँदा उनीहरूलाई दसैँ दसैं नभए दशा बनिदिन्छ । भान्सामा बस्दाको धुँवा तथा भान्साको गर्मीले टाउको दुख्ने, रिङ्गटा चल्ने, बढी काममा दलिरहँदा थकान भै शारीरिक रूपमा कमजोर हुने र ढल्ने जस्ता समस्या आउँछन् भने परिवारसँग रमाइलो गर्न नपाउँदा मानसिक उदासिनता पैदा हुन्छ । त्यसैले उनीहरू भावनात्मक रूपमा कमजोर भैदिन्छन् । जसकाे प्रभाव उनीहरूको स्वास्थ्यमा पर्दछ । आउनुस् एक प्रण गरौँ यो दसैँ भरी, आमा भाउजू दिदीबहिनीको स्वास्थ्यलाई ख्याल गरी उनीहरूसँग भान्साको काम गरिदिनु, भाडा धुन, घर सफा गरिदिउँ, उनीहररूसँग बसेर खाइदिउँ रमाइलो गरिदिउँ । र, उनीहरूकाे खुसीमा रमाई दिउँ । वर्षौंदेखि माइत नगएकी आमा भाउजूलाई माइत जान दिउँ । अनावश्यक रूपमा लखरलखर नडुली उनीहरूलाई फुर्सद दिएर केही काम हामी गरिदिउँ र हेरौँ उनीहरूको ओठको मुस्कान र उनीहरूलाई पनि शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक रूपमा स्वस्थ राखौँ र चाडपर्वको रमाइलो भरपुर गरौँ ।

चाडपर्व खुसीको लहर बनुन दुःखको कारक नबनून् । परिवारको खुसी बढाउन सबै जना सरिक बनौँ र आफ्नो र परिवारको स्वास्थको ख्याल गरौँ । सम्पूर्णमा महान चाड दसैँ तिहार तथा छठको हार्दिक मंगलमय शुभकामना ।

याे पनिः अनियमित उपवास बस्ने कि नियमित भोको बस्ने ?

केआर पाण्डुलिपि

लेखकबाट थप...